देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनोहरा तरकारी बजारको एउटै कम्पाउण्डमा प्याजको भाउ प्रति किलो ६० रुपैयाँ फरक

देशान्तर

काठमाडौं । मनोहरा तरकारी बजारभित्र एउटै कम्पाउण्डमा प्याज प्रतिकिलोमा ६० रुपैयाँ मूल्य फरक भेटिएको छ ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले आज गरेको अनुगमनका क्रममा सुनापति आलु प्याज सप्लायर्सले प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ बताए । त्यही कम्पाउण्डमा रहेको सलेज आलु प्याज भण्डारले प्रतिकिलो ६० रुपैयाँ दाम बताए । यो दाम सुन्नेबित्तिकै उपभोक्ताको भीड लाग्यो । एकैछिनमा भएभरको सबै प्याज सकियो ।

यो प्याज उनले ४५ रुपैयाँ प्रतिकिलोमा खरिद गरेका थिए तर बेचेका थिएनन् । अरु पसलमा अनुगमन समितिले खरिद बिल मागेको देखेपछि उनले भाउ घटाएर ६० बनाए । यो रमिता हेरिरहका उपभोक्ता भन्दै थिए — हिजो बेलुका प्याज किन्न आएको, १४० रुपैयाँ प्रतिकिलो भनेकाले फर्केको थिएँ । आज त्यही प्याज ६० मा बेचेको हेर्न पाइयो ।

त्यसकै सामुन्ने रहेको पनौती सैजु आलु प्याज भण्डारमा व्यापार गर्ने महिलाले भनिन् — म रुँग्न मात्र बसेकी दाम थाहा छैन । उनले दाम थाहा पाउने बोलाउनु भनिन् तर बोलाइनन् । अर्को जेनिसा आलु प्याज भण्डार होलसेल मूल्य १०५ रुपैयाँमा बताए । युपि आलु प्याज भण्डारका सञ्चालकले खुद्रा मूल्य ११५ रुपैयाँ र बोरा किन्दा १०५ रुपैयाँ प्रतिकिलो दाम सुनाए ।


अनुगमन समितिले त्यहाँ भएका होलसेल प्याज व्यापारीलाई कागजात लिएर कृषि बिभागमा सम्पर्क गर्न निर्देशन दिएको छ । बजारमा प्रतिकिलोका दरले कागती बेच्ने व्यापारीले मनोहरा नदीतर्फको एउटा सटर लिएर होलसेल चलाएका छन् । बजारभरि उनकै कागती बिक्री हुन्छ । तर उनले कसैलाई पनि बिल दिएका छैनन् । उनको सटरमा २ जना महिला कुहिएका र सद्दे कागती छुट््याउँदै थिए । उनीहरुले व्यापारीको नाम बताएनन् । फोन गर्दा व्यापारीले फोन उठाएनन् ।
छेवैमा भएका लसुन व्यापारीले आफूहरुलाई होलसेलबाट बिल प्राप्त नहुने बताए । यतिञ्जेलमा एकापट्टिका व्यापारी पसले छोपेर भागि सकेका थिए ।

अनुगमन टोलीले बजार क्षेत्रमा पानी वितरण गर्न आएको आक्वा व्रदर ब्राण्डका कुच्चिएका जार नष्ट गरेको छ । जारमा पानी भरिएको मिति उल्लेख थिएन । कतिपय जारबाट पानी चुहिएको थियो ।
अनुगमन टोलीले के. एल. दुगड ग्रुपको गोदामको निरीक्षण गरेको थियो ।

महानगरको वडा ३२ मा दुगडको करीब ३ हजार १ सय मेट्रिक टन भण्डारण क्षमताको गोदाम छ । यस गोदाममा चामल, दाल, तेल भण्डारण तथा वितरण हुने गरेको छ । अनुगमन समितिले वडामा दर्ता गर्न, बिक्री वितरणा नहुने सामाग्री राख्न छुट्टै कक्षको स्थापना गर्न, खाद्यान्न भण्डारणलाई कीराबाट बचाउन गरिएको फुमिगेसन रेकर्ड अद्यावधिक गर्न निर्देशन दिएको छ ।