देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिनियाँ ‘पब्जी’लाई टक्कर दिन भारतीय ‘फौजी’ आउँदै, के छन् विशेषता

देशान्तर

काठमाडौं । नेपालमा पनि लोकप्रिय रहेको भिडिओ गेम- प्लेयरअन्नोन्स ब्याटलग्राउण्ड्स ‘पब्जी’ जस्तै गेम ल्याउने घोषणा एउटा भारतीय कम्पनीले गरेपछि त्यसबारे व्यापक चासो देखिएको छ ।

चिनियाँ कम्पनीले निर्माण गरेको ‘पब्जी’ एपमा भारतले प्रतिबन्ध लगाएपछि भारतीय कम्पनी एन-कोर गेम्सले अभिनेता अक्षय कुमारसँग मिलेर नयाँ गेम ल्याउन लागेको जनाएको हो । ‘फौजी’ (एफएयू: जी) नाम दिइएको उक्त गेम अक्टुबर महिनाको अन्त्यसम्ममा बजारमा ल्याउने कम्पनीले उद्देश्य छ ।

कम्पनीका सह-संस्थापक विशाल गोन्डलले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै भने, “फियरलेस एन्ड युनाइटेड गार्ड्स (एफएयू: जी) उक्त गेमको पूरा नाम हो । उक्त गेमबारे केही महिनादेखि काम भइरहेको थियो । हामीले गेमको पहिलो लेवललाई गलवान घाटीमा आधारित बनाएका छौँ ।”

चीनसँगको भिडन्तस्थल फौजीमा
गलवान घाटीमा चीन र भारतका सेनाबीच गत जुन महिनामा पहिलो पटक झडप भएको थियो । जहाँ २० जना भारतीय सैनिक मारिएका थिए । त्यसयता नियन्त्रण रेखालाई लिएर दुई देशबीच तनाव चर्किएको हो ।

सम्बन्धमा आएको तिक्तताबीच भारतीय सरकारले पब्जी सहित चिनियाँ कम्पनीले बनाएका ११८ वटा एपमा बुधवार प्रतिबन्ध लगाएको छ । भारतमा पछिल्ला केही वर्षमा उक्त गेम निकै लोकप्रिय थियो । जापानी फिल्म ब्याटल रोयलबाट प्रभावित भएर उक्त गेम बनाएको बताइन्छ । विश्वभर पब्जी खेल्नेहरूमध्ये २५ प्रतिशत भारतमा छन् । चीनमा १७ र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ताले पब्जी खेल्ने गरेको बताइन्छ ।

‘चीनभन्दा भारतमा धेरै खेलिन्छ’
भारतको भिडिओ गेम स्ट्रीमिङ साइट रूटर्सका प्रमुख कार्यकारी पीयूष कुमारले भने, ‘भारतमा पब्जी मात्र १७ करोड ५० लाख डाउनलोड भएका छन् । जसमा ७ करोड ५० लाख जति सक्रिय प्रयोगकर्ता छन् । अर्थात् चीनमा भन्दा भारतमा धेरैले पब्जी खेल्छन् ।’

युवाहरूले उक्त गेम मन पराउने ठानिन्छ र भारतमा त्यसमाथि प्रतिबन्ध लगाइएपछि सामाजिक सञ्जालमा तीखो प्रतिक्रिया देखिएको छ । विश्वभरी सन् २०१९ मा गेमको बजार १६.९ अर्ब डलरको छ । जसमध्ये ४.२ प्रतिशत सहित चीन सबैभन्दा अगाडि छ । दोस्रोमा अमेरिका, तेस्रोमा जापान अनि त्यसपछि ब्रिटेन र दक्षिण कोरिया छन् ।

भारतमा भिडिओ गेमको उद्योगको बिस्तार निकै तीब्र रूपमा भइरहेको छ तर अझैँ पनि त्यहाँ एक अर्व डलरभन्दा कमको बजार छ । लकडाउनका बेला भारतमा मोबाइल गेम खेल्नेहरूको सङ्ख्या निकै बढेको तथ्याङ्कले देखाएका छन् । भारतमा अझैँ पनि अनलाइन गेम निर्माता निकै पछि रहेको बताइन्छ। तर फौजी नामको गेमका कारण त्यसका निर्माता चर्चामा छन् ।

अक्षय कुमारले के भने ?
त्यस गेममार्फत् कम्पनीले मानिसहरूमा रहेको देशभक्तिको लाभ लिन खोजेको आलोचकहरूको टिप्पणी पाइन्छ । कम्पनीका सह-संस्थापक गोन्डल भन्छन्, “यसबाट हुने हुने आम्दानीको २० प्रतिशत रकम भारतको निम्ति शहीद भएका सैनिकका परिवारलाई दिइने छ ।”

अभिनेता अक्षय कुमारले त्यस अभियानलाई साथ दिइरहेको बताइएको छ । कम्पनीका अनुसार गेमको नाम फौजी उनैले सुझाएका हुन् । अक्षय कुमारले शुक्रवार ट्वीट गर्दै त्यसबारे जानकारी पनि दिएका छन् ।

उनले लेखेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीको ‘आत्‍मनिर्भर भारत अभियान’ मा समर्थन गर्दै यो गेम प्रस्तुत गर्दा मलाई गर्व लागेको छ । मनोरञ्जनका अतिरिक्त खेलाडीले हाम्रा सैनिकको बलिदानबारे पनि थाहा पाउने छन् ।” कम्पनीले उक्त गेम सार्वजनिक भएको केही दिनमै करिब २० करोड मोबाइल प्रयोगकर्ताले गेम डाउनलोड गर्ने विश्वास लिएको छ । –बीबीसी