देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुर महानगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ

देशान्तर

काठमाडौँ । ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीमाथि यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको र सोही क्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएको आरोप छ ।

उक्त घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकामा लुकिछिपी बसेको अवस्थामा आज साँझ नक्खुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उनीसँगै उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको थापाले जानकारी दिए । अझै दुई जना फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ ।

निषेधाज्ञाको उल्लङ्घन गरी रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा त्यहाँ झडप भएको थियो । सोही क्रममा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए । उनीहरुलाई अभद्र व्यवहार र सङ्क्रामक रोग ऐन २०२० अन्तरगतको मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।