देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रातो मछिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने

देशान्तर

 रातो मछिन्द्रनाथको रथलाई आज पुल्चोकवाट सोह्रखुट्टे पाटीसम्म तानिदैछ । जात्रा छोटो बनाउने सहमति अनुसार दिउसो तीन बजे स्वास्थ्य मापदण्ड पूरा गरेर सीमित ब्यक्तिको सहभागितामा रथ तान्न लागिएको हो ।

गाःबहालमा राखिएको मीननाथको रथ पनि आजै सोह्रखुट्टे पाटीसम्म पुर्‍याइनेछ । यससँगै रथलाई सांकेतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज छ्वयलाभू र भोलि सोमबार भुज्या मनाउनेछन् ।

यसअघि जुन ठाँउमा रथ राखिएको सोही ठाँउका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा थियो । यसपालि सांकेतिक रूपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेको छ ।

जात्राका अवसरमा पाटनबासीहरुलाई घरमा कसैलाई पनि नखःत्या अर्थात भोज नबोलाउन र नजान आग्रह गरिएको छ । सोमबार मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ । साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती लगेसँगै जात्रा सम्पन्न हुनेछ ।

विगतमा चार दिनमा पुल्चोकबाट तानेर गाः बहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्‍याएर भोटो जात्रा गरिन्थ्यो । जावलाखेलमा भोटो देखाएपछि मूर्तिलाई बुङ्गमती लगिएसँगै जात्रा सम्पन्न हुन्थ्यो । यस वर्ष भोटोजात्रा नगरिने भएको छ ।

रथ तान्ने विषयमा बिहीबार झडप भएपछि ललितपुर जिल्ला प्रशासनले रातो मछिन्द्रनाथ र मीननाथ रहेको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । रथयात्रामा समेत धेरैलाई भेला नहुन आग्रह गरिएको छ ।