देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिद्धान्तविहीन शक्तिसंघर्ष र राष्ट्रपतिको भूमिका

देशान्तर

नेपालको राजनीतिमा देखिएको परिदृश्य अनौठो र लोकतान्त्रिक मूल्य मान्यताको प्रतिकूल देखिएको छ । गत निर्वाचनमा गठबन्धन गरेर सत्तासीन भएका तत्कालीन एमाले र माओवादी केन्द्र अन्ततः एकीकृत भएर नेकपा बन्न पुगेको छ । र नेपालको इतिहासमा पहिलो पटक कम्युनिस्ट पार्टीले बहुमतको सरकार बनाएको हो ।

नेपालमा सम्पन्न ऐतिहासिक राजनीतिक परिवर्तनपछि भएका दुइवटा संविधानसभापश्चात् निर्माण भएको नेपालको संविधानले निर्दिष्ट गरेबमोजिम भएको आमचुनावबाट सत्तारूढ भएको वर्तमान कम्युनिस्ट पार्टीको सरकार बनेपछि सचेत समुदायमा एउटा बहस प्रारम्भ भयो । अब के होला ? नेपालमा प्रजातन्त्रको भविष्य के होला ? नयाँ कम्युनिस्ट सरकारले कसरी देश चलाउँला ? झन्डैझन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले राजनीतिक स्थिरता देला ? यस्ता बहस र चिन्ताका माझ सरकार अघि बढ्दै गयो । बहस जेसुकै बिषयमा भए पनि देशमा नयाँ सरकारले राजनीतिक स्थिरता प्रदान गरी जनताको जीवनलाई सहज बनाउने र देशको विकासलाई अगाडि बढाउला कि भन्ने थोरै भए पनि जनअपेक्षा थियो । र फराकिलो बहुमत भएको सरकारसँग यस्तो अपेक्षा राख्नु स्वाभाविक पनि थियो । के सरकारले जनअपेक्षाअनुसार थोरै भए पनि काम गर्‍यो त ?

सुविधा सम्पन्न सहरमा बस्ने संभ्रान्त नागरिकदेखि सिमान्तमा रहेको निरीह नागरिकसम्मले यसबीचमा गरेको अनुभूति एकदमै नकारात्मक छ । सरकार देश र जनताप्रति पूरै उदासीन देखिन्छ । देशमा अमनचयन, शान्ति, सुरक्षालगायतका बन्दोबस्त दिनानुदिन भत्कँदै गएका छन् । समाजमा बेथिति बढेको छ । भ्रष्टाचार अकल्पनीय रूपमा बढेको छ । महँगी बढेर जनताको ढाड भाँचिएको छ । बलत्कार, हत्याजस्ता विषय सामान्य हुँदै गएका छन् । सरकारी कार्यालयहरू सत्तारूढ पार्टीका शाखा कार्यालयमा परिणत भएका छन् । प्रधानमन्त्री, मन्त्री, मेयरलगायतका पदहरू दाइजोमा प्राप्त निजी सम्पत्तिजस्तो गरी दुरुपयोग भइरहेका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको घनघोर प्रकोपबाट जनताको सुरक्षा गर्ने काममा सरकार पूर्णरूपमा चुकेको छ । यसैको नाममा अर्बाैं घोटाला भएको छ । सरकारका मन्त्रीहरू राज्यको ढुकुटी दोहनमा लागेका छन् । केन्द्रदेखि स्थानीय तहसम्मको जालो फैलिएको छ । राज्यका संवैधानिक अंगहरू निरीह छन्, एक प्रकारले सरकारको छायाँमा परेका छन् । उनीहरूले आफूलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न नसक्ने अवस्थामा छन् । सुरक्षा निकायका अधिकारीहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको छैन । व्यापार व्यवसायको अवस्था नाजुक हुँदै गएको छ । यसबाट पुँजी पलायनको अवस्था बढ्दै गएको छ । कोरोनाको विश्वव्यापी प्रभावले बिदेसिएका नेपालीहरूले पठाउने विप्रेषण स्वात्तै घटेको छ । स–साना व्यवसायीहरूको दैनिकी संकटमा परेको छ । मजदुरहरूको चुल्हो निभेको छ ।

यी सबै अवस्थाहरूसँग सरकार बेखबर छ । प्रधानमन्त्री बालुवाटारमा सुतेर गुड्डी हाँकिरहेका छन् किनभने उनी उठेर राम्ररी बस्ने अवस्थामा छैनन् । नेकपा पार्टीका सबैजसो नेताहरूलाई राष्ट्र र जनताको अवस्थाप्रति कुनै चिन्ता छैन । त्यसैले आजभोलि नेकपाभित्रको झगडा छताछुल्ल छ, लाग्छ कि यसैका लागि गत निर्वाचनमा जनताले बहुमत दिएको हो । सम्पूर्ण लोकलाज गुमाएर जनताप्रतिको दायित्वलाई बिर्सिएर नेताहरूको वैयक्तिक स्वार्थमा केन्द्रित भएरै लगभग सरकार बनेकै दिनदेखि, सुरुमा धिमा गतिमा र अहिले छरपष्ट हुने गरी कलहमा रुमल्लिएको छ । यस कलहको कुनै सैद्धान्तिक र तार्किक आधार देखिँदैन । पार्टीले प्राप्त गरेको राज्यको सुविधा कसले दोहन गर्ने, आफ्नो गुटलाई कसरी बलियो बनाउने र आगामी महाधिवेशनमा पार्टी नेतृत्व कसले हत्याउने भन्ने बाहेक अरू कुनै कारण देखिँदैन ।

अझ डरलाग्दो कुरा त के देखिन्छ भने पार्टीको यस कलहमा राष्ट्रपतिको प्रत्यक्ष संलग्नता देखिन्छ । राष्ट्रप्रमुखको रूपमा रहेको सम्मानित व्यक्ति यसरी पार्टीको झगडामा एउटा गुटको संरक्षक हुनु साँच्चै दुःखदायी घटना हो । नेपाली जनताको वर्षौंको ठूलो बलिदान र संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको स्थापना भएको हो । राजाले संवैधानिक भएर बस्न नमानेपछि यत्रो ठूलो परिवर्तन गरिएको थियो । र राष्ट्र प्रमुखको रूपमा राष्ट्रपतिको व्यवस्था भएको हो । राष्ट्रपतिले आफ्नो पदको गरिमालाई सदैव ख्याल गर्नु पर्दछ । दलसँग आफ्नो पुरानो सम्बद्धता भए पनि राष्ट्र प्रमुखको ओहोदामा रहँदासम्म पदीय गरिमाको पूर्ण हेक्का राख्नु पर्दछ । तर दुःखको कुरा वर्तमान प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयलाई पूर्ण दुरुपयोग गरिरहेका छन् ।

जनताको हित र राष्ट्रको कल्याणलाई ध्यान दिन नसक्ने सरकार न लोकतान्त्रिक हुन सक्छ न त जनपक्षीय । हामी नेपालीहरू यतिबेला यही नियति झेलिरहेका छौं । त्यसमाथि नेकपाको विवाद र झगडा त्यस्तो गाईजात्राको रूपमा छ, जसले सस्तो मनोरञ्जन होइन कि जनतालाई अकल्पनीय पीडा दिएको छ । साँच्चै भन्ने हो भने जनता यति बेला ठूलो पछुतो मानिरहेका छन् । हिजो निर्वाचनका दौरानमा कम्युनिस्ट गठबन्धनको गुलियो नारा र आश्वासनमा परेर दिएको मत खेर गएको ठानिरहेका छन् । नेपालको इतिहासमा आजसम्म यस्तो घडी आएको थिएन । र बहुमतको सरकारले मुलुकलाई यस्तो दुरावस्थामा पु¥याउँला भन्ने कसैलाई कल्पनासम्म थिएन ।