देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले मन्त्रीहरूलाई सोधे-‘राष्ट्रपति र मेराविरुद्ध षड्यन्त्र भयो, तपाई‌ंहरूको साइड कता ?’

देशान्तर

काठमाडौं । राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर उनले आफु र राष्ट्रपति विरुद्ध सड्यन्त्र भइरहेको बताएका हुन् ।

यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाई‌ंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने समेत प्रधानमन्त्रीले बताएका छन् । ‘मेरा विरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ यस्तोबेलामा तपाई‍ंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री ओली राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको हल्लाबाट प्रभावित भएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, प्रधानमन्त्रीको आशंकामा कुनै सत्यता भने नभएको बैठकमा सहभागी एक मन्त्रीले भने । यता प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँग छलफल गर्नुपूर्व राष्ट्रपतिलाई भेट गरेका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्रहरु भइरहेको भन्दै मन्त्रीहरुलाई आ-आफ्नो कित्ता स्पष्ट पार्ने अवस्था आउन सक्ने बताएपछि ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्रीलाई यदि त्यस्तो हो भने तर्कपूर्ण छलफलबाट समाधान निकाल्न सक्ने बताए ।

‘हामीसँग सिंगो पार्टी छ, संसदीय दल छ, यस्ता संस्थाहरुमा यसबारे छलफल गर्दाखेरि तर्कपूर्ण कुराहरु आउन सक्छन् र आशंका एवं समस्याहरुको समाधान हुन सक्छ ।’ बैठकमा सहभागी एक मन्त्रीले भने ।

बैठकमा कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई दोस्रो विश्वयुद्धकालमा बेचिएका पोष्टरहरुको स्मरण गराउँदै गलत सूचनामा नबग्न अनुरोध गरेका थिए । पहिलो विश्वयुद्धताका युरोपमा ‘हत्यारा हुन्, तिनका विरुद्ध लडौं, तिनलाई काटौं’ लेखिएका पोष्टरहरु विक्री हुने गरेको बताउँदै मन्त्री भुसालले प्रधानमन्त्रीलाई भने-‘ती पोष्टरहरुमा ‘‘हत्यारा’ भन्दा अगाडि ‘फ्रेञ्चहरु’ ‘जर्मनहरु’ इत्यादि लेख्न सकिने गरी खाली राखिएको हुन्थ्यो । तपाईहरुका वीचमा यस्तै पोष्टर बेच्नेहरुले भयंकर सूचनाको दुरुपयोग गरेर हामीलाई बगाएका छन् र हामी बगेका छौं, प्रधानमन्त्रीज्यूले यसबारेमा सोच्नुहोला ।’

पुन र भुसाल लगायत केही मन्त्रीहरुका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले ल अब आजको छलफल यति नै, भन्दै छलफल सकिएको जानकारी दिएका थिए ।