देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बझाङमा पहिरोः ६ जनाको शव भेटियो, एक अझै बेपत्ता

देशान्तर

बझाङ । बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा ६ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । शनिबार बिहान स्थानीयवासी र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका ६ जनाको शव निकालेको छ ।

आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया रामती जेठारा र उहाँकी १५ वर्षीया छोरी शान्ति जेठारा, ११ वर्षीय छोरा प्रयागराज जेठारा र सात वर्षीेया छोरी अस्मिता जेठाराको शव निकालेको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक रायभानसिंह ऐरीले बताए । उनका अनुसार ८० वर्षीय दले जेठारा, १२ वर्षीय सन्तु जेठाराको शव पनि लिकालेको छ भने पहिरोमा पुरिएका २० वर्षीया गिरिजा जेठाराको खोजी भइरहेको छ ।

‘राति अविरल वर्षासहित गाउँ माथिबाट अलिअलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राति सबै घरबाट बाहिर निस्कियौँ’, घटनाका स्थानीयवासी सुरेश जेठाराले भने, ‘उहाँहरु भाग्न नसकेर पहिरोमा पुरिएका हुन् । गाउँको माथिपट्टि रहेको रातोपड सामुदायिक वनबाट पहिरो आएपछि १८ घर पूर्णरुपमा क्षति भएका छन् । उनका अनुसार पहिरोमा परी २२ भैँसी, ६५ बाख्रा र २४ गाई–गोरुसमेत बगाएको छ ।

पहिरोले गाउँको बीच भाग हुँदै १८ घर बगाएपछि मल्लेसी गाउँ शोकमा डुबेको छ । यसरी एक्कासि पहिरोले गाउँ बगाएपछि मल्लेस गाउँका १८ परिवारको उठिबास भएको छ । इली गाड र सुङरी गाडको बीचमा रहेको उक्त गाउँ जानलाई आवतजावत गर्नसमेत समस्या छ । दुवै गाडमा अत्यधिक मात्रामा पानी भएपछि अरू गाउँसमेत जान समस्या छ । यो गाउँमा ९० परिवारको बसोबास छ ।

यस घटनामा क्षति भएका पीडित परिवारहरुलाई राहत दिनका लागी गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले बताए । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री लिने कुरा भएको छ । अहिले शवमात्र निकाल्ने काम भइरहेकाले क्षतिको विवरण लिन बाँकी रहेको छ भने ।