देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल इन्भेष्टमेन्ट जित्यो २ अर्ब चार करोडको मुद्दा

देशान्तर

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ। इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकको पक्षमा फैसला भएको छ । यो फैसलासँगै देशको २ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता हुने भएको छ । यसबाट बैंकको वासलात समेत बलियो बन्ने निश्चित छ ।

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो। तर कम्पनीले भने अनुसार काम गरिरहेको थिएन। कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी गरेको थियो। उत्तिनै बेला इन्भेष्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो।

सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराइदिएको थियो। बैंकको तर्क नसुनी एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो। सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो। मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन।

बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो। बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १९ करोड रुपैयाँ हाराहारी) ग्यारेन्टी दिएको थियो।

लामो अदालती मुद्दापछि ट्रिबुनाले बोलांगाको पूर्णइजालसले ९ जुन २०२० (२७ जेठ २०७७)मा यसअघिको इन्टेन्सा सन्पाओला एसपीएले एनआईबीएललाई बैंक ग्यारेन्टी रकम तिर्नबाट रोक्ने आदेशलाई खारेज गरेको हो । यो आदेशले अघिल्लो अदालतको आदेशलाई अमान्य घोषित गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकलाई इटालियन बैंकबाट प्रभावकारीरूपमा बैंक ग्यारेन्टीको रकम प्राप्त गर्न आधार प्राप्त भएको छ । अबको केही दिनभित्र इटालीको बैंकबाट २ अर्ब रुपैयाँ आउने नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योती पाण्डेले सुनाए । मुद्दा लड्नका लागि बैंकको ५ करोड रुपैयाँ खर्च भएको स्रोतले बतायो ।