देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शर्मा दाजुभाई नै लागे एनआरएनएको मानमर्दनमा

देशान्तर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) सूचना तथा संचार समूहमा अनधिकृत व्यक्तिहरुको प्रवेशपछि समूहकै सदस्यहरुबीच भाडभैलो भएको छ ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसी) अन्तर्गत प्रवक्ता डिवी क्षेत्रीको संयोजकत्वमा रहेको उक्त समूहमा मानार्थ परिषद् सदस्य चिरन शर्माको अनधिकृत प्रवेशसगै उपसंयोजकको जिम्मेवारी सम्हालेका कृष्ण केसीले समूह छाडेर हिँडेका छन् ।

संघको सूचना तथा संचार समूहमा उपसंयोजकको जिम्मेवारी लिएर समाचार सम्प्रेषण गरिरहेका अमेरिकास्थित पत्रकार कृष्ण केसी शनिवारबाट सो समूह छाडेर बाहिरिएका हुन् । ‘जिम्मेवारी लिएपछि काम गर्नु पर्छ भन्ने मान्यता छ,’ सूचना तथा संचार समूहका तत्कालिन उपसंयोजक केसीले भने, ‘विना कुनै निर्णय केही साथीहरुको प्रवेशले काम गर्ने वातावरण नरहेपछि म बाहिरिएँ । म अब आफ्नै प्लेटफर्ममा बसेर काम गर्छु । काम गर्ने वातावरण नभएसम्म त्यो जिम्मेवारीमा म फर्कने छैन ।’

अघिल्लो कार्यकालमा मिडिया समितिका उपसंयोजक रहेका चिरन शर्माको अनाधिकृत प्रवेशका बारेमा प्रतिक्रिया लेख्दै ‘मेरो केही भन्ने छैन, जे मनलाग्दो गर्नुहोस्’ भनेर उपसंयोजक केसी समूहबाट निस्किएका थिए ।

सूचना तथा संचार समूहका सदस्य रहेका हेमन्त काफ्लेले मिडिया ग्रुपमा चिरन शर्मालाई प्रवेश गराएका थिए ।

गत अक्टोबरदेखि नै मिडियाको जिम्मेवारीमा बस्न सबै प्रयास गर्दा पनि असफल भएका शर्मा करीब ८ महिनाको प्रयासपछि ग्रुपमा प्रवेश गर्न सफल भएका हुन् । सूचना तथा संचार समूहको ग्रुपमा प्रवेश पाउने बित्तिकै उनले आफ्नो सहोदर दाजु तथा संघका महासचिव हेमराज शर्मालाई ग्रुपमा जोडेका थिए । त्यसपछि उनीहरुले आफ्ना निकटलाई जोडनेक्रम जारी छ । हाल सूचना तथा संचार समूहमा ३३ जना सदस्य छन् ।

विश्वविद्यालयमा अध्यापन गराउने सरल र शालिन सामाजिक छवि बनाएका डाक्टर हेमराज शर्मा महासचिवमा आएपछि चौतर्फी हस्तक्षेप बढिरहेको आरोप एनआरएनएमा लागिरहेको छ । महासचिव शर्माको हस्तक्षेपका पछिल्ला उदाहरण संघका पूर्वअध्यक्ष भट्टले भिजिट नेपाल २०२० को अध्यक्षबाट राजीनामा दिनु र मुख्य कार्यकारी अधिकृत हेमन्त दवाडीले राजिनामा दिनपूर्व आइइएसमा लेखेको लामो इमेल हुन् ।