देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बर्दियाका माछा किसान मर्कामा

देशान्तर

बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् ।  किसानले लकडाउनका कारण उत्पादन भएका माछा बिक्री पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् ।
चैत र वैशाख पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्ने समय हो । सरकारले कोभिड– १९ संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् ।

करीब एक हजार क्विन्टल माछा नै बिक्री गर्न नभएर पोखरीमै छन् । लकडाउनका कारण माछा बिक्री हुने होटेल र रेष्टुरेन्ट बन्द रहेको र हाटबजारसमेत नचलेपछि माछा पोखरीमै छन् । बिक्री गरिसक्नुपर्ने माछालाई दाना खुवाइरहनुपर्दा खर्च बढेको र गोदाममा भएको दाना सकिन थालेको बढैयाताल गाउँपालका–५ का माछापालक किसान तथा माछा ब्लक समितिका अध्यक्ष भक्तराम थारुले बताउनुभयो ।

अध्यक्ष थारुका अनुसार पोखरीमा राख्न पहुँचवालाले गाडी पास बनाएर भुरा ल्याए पनि साना किसानले पाउन सकेका छैनन् । तिनले माछाको दाना पनि ल्याउन पाएका छैनन् । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा पालन पकेट क्षेत्रका रुपमा विकास गरिएको छ ।
सो क्षेत्रमा सात सय हेक्टर पोखरीमा ७० किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । ठाकुरबाबा नगरपालिकामा करीब एक हेक्टर र बारबर्दिया नगरपालिकामा करीब २० बिघा पोखरीमा माछापालन भइरहेको छ ।

बढैयाताल ५ जगपुर माछापालक किसान चन्दप्रकाश लम्सालले नौ बिघा पोखरीमा व्यावसायिक रुपमा माछापालन गर्दै आउनुभएको छ । उहाँले पनि लकडाउनका कारण माछा बिक्री गर्न पाउनुभएको छैन । बर्दियाका किसानलाई माछाको भुरा र दानाका लागि रुपन्देही, कैलाली र बाँके जिल्लामा भर पर्नुपर्ने बाध्यता छ । तयार भएका माछा बिक्रीका लागि कैलाली, बाँके र सुर्खेत जिल्ला नै मुख्य बजार हुन् । बाह्य र आन्तरिक दुवै बजार लकडाउनले बन्द हुँदा किसान मर्कामा परेका हुन् ।