देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट हालसम्म कर्णाली सुरक्षित, कुन प्रदेशमा कति संक्रमित ?

देशान्तर

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीब्र नभए पनि संक्रमितको संख्या सुस्त रुपमा बढ्दै गएको छ । आज विहान नेपालगञ्जमा थपिएका सातसहित नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगिसकेको छ ।

नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा मात्र हालसम्म कोरोना संक्रमित देखिएका छैनन् । तर सीमा जोडिएको बाँके जिल्लामा धमाधम संक्रमित बढिरहेका कारण पनि कर्णाली प्रदेश पनि कोरोनाको उच्च जोखिममा रहेको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमण भित्रिन नदिन त्यहाँको सरकारले सात दिनका लागि सीमा नाका बन्द गरेको छ ।

तर कोरोना परीक्षणका लागि आवश्यक किट अभाव हुँदा समस्या भइरहेको कर्णाली प्रदेश सरकारले बताइरहेको छ । हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट १४ हजारको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजसम्म कोरोना भाइरसको आशंकामा पीसीआरबाट परीक्षण १३ हजार ८५० जनाको गरिएको जानकारी दिएका छन् । उनले कोरोना भाइरसको आशंकामा पछिल्लो २४ घण्टामा एक हजार ५८२ जना नमुना परीक्षण गरिएको जानकारी दिएका छन् ।

हालसम्म आरडीटी परीक्षण ५२ हजार २२७ जनाको गरिएको उनले बताए । कर्णाली विज्ञान प्रतिष्ठानमा थप पीसीआर परीक्षण गरेसँगै नेपालमा कोरोना भाइरसको पीसीआर विधिबाट १८ स्थानबाट शुरु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज सातै प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा १२० जना उपचाररत छन् जसमा काठमाडौ उपत्यकामा दुई जना र उपत्यका बाहिर ११८ जना रहेका छन् । आज देशैभरका क्वारेन्टाइनमा २१ हजार ९९ जना रहेका छन् ।

कुन प्रदेशमा कति कोरोना संक्रमित ?
हालसम्म कोरोना संक्रमितको संख्या ८२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमण देखिएका ६६ जना अस्पतालमा उपचाररत छन् भने १६ जना निको भएका जानकारी दिए ।

उनले भने, ‘कोरोना संक्रमण देखिनेमा ६१ जना पुरुष रहेका छन् भने २१ जना महिला रहेका छन् ।’ त्यसैगरी मन्त्रालयका अनुसार प्रदेश-१ मा कोरोना संक्रमितको संख्या ३१ जना, प्रदेश-२ मा १३ जना, बागमति प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा दुई जना, प्रदेश-५ मा २४ जना, सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना संक्रमण देखिएको छ ।