देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल कोरोनाको अतिउच्च जोखिमबाट उच्च जोखिममा

देशान्तर

काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान सहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा‍. समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लूएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए ।

उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । ‘नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन,’ उनले भने, ‘त्यसैले नेपाल कोभिड-१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड-१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ। नेपालमा कोभिड- १९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड-१९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड-१९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ ।

दुवैले आ-आफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड-१९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ ।

कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड-१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पीसीआर र ७५ जिल्लामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) दुवै विधिबाट परीक्षण गरिएको छ । अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ ।

अहिलेसम्म नेपालमा पीसीआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् ।

यसैगरी कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ। त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेशनमा छन् । नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ। अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन् ।

विश्वमा अहिले करिब २८ लाख व्‍यक्ति संक्रमित भइसकेका छन् भने एक लाख ९७ हजारभन्दा बढीको मृत्‍यु भइसकेको छ । त्‍यस्तै करिब ८ लाख निको भइसकेका छन् ।