देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाद्वारा चीनसँग स्वास्थ्य सामग्री खरिद सम्झौता, सोमबार पैसा पठाउने तयारी

देशान्तर

काठमाडौं । लामो खिचातानी, विवाद र विरोधका बीच अन्ततः नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि चीनसँग सम्झौता गरेको छ। नेपालका तर्फबाट आइतबार सम्झौतामा हस्ताक्षर गरिएको जंगी अड्डाले जानकारी दिएको छ । उक्त सम्झौतामा अब चीनले पनि हस्ताक्षर गरेर नेपाललाई पठाउने बताइएको छ। जंगीअड्डाले आइतबार दिउँसो नेपालस्थित चिनियाँ दूतावासमार्फत सम्झौतापत्र हस्ताक्षर गरेर चीनलाई पठाएको हो ।

नेपालले जीटूजी प्रक्रियाबाट चीनको सरकारी कम्पनीसँग स्वास्थ्य सामग्री खरिदको सम्झौता गरेको हो । सम्झौता अनुसार सेनाले सोमबार नै चीनलाई रकम पठाउने तयारी गरेको छ। सरकारले गत चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

नेपालले चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागेको हो। चीनले सबै सामग्री गोन्जाओमा उपलब्ध गराउने जनाएको छ। यसअघि दुुई देशबीच सम्झौताको खाका आदान प्रदान भएको थियो। खाकामा सहमति जुटेपछि सम्झौतामा हस्ताक्षर भएको हो।

यस्तै भारतबाट पनि ५३ प्रकारका औषधि ल्याउन सम्झौता प्रक्रिया अगाडि बढेको छ। सेनाले चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री ल्याउने भएको छ ।
पत्रमा चीनको तर्फबाट हस्ताक्षर हुन बाँकी छ । चीनसँग दुईपक्षीय सम्झौता र भुक्तानीपछि चीनको गोन्जाओबाट सेनाले पीपीई, मास्क, ग्लोब्ससहित अन्य आवश्यक स्वास्थ्य सामग्री ल्याउनेछ ।

ओम्नी विजनेस कर्पोरेसन इन्टरनेसनलसँग भएको सम्झौता विवादमा आएपछि १६ चैतमा नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको थियो । मन्त्रिपरिषद् बैठकले सेनालाई जीटूजी (सरकार–सरकार) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्न भनेको थियो ।

त्यसलगत्तै जंगीअड्डाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि बिक्री गर्न प्रस्ताव राखेको थियो । तीमध्ये चीन र भारतले मात्र स्वीकृति जनाएका थिए । इजरायल र सिंगापुरबाट कुनै जवाफ आएको थिएन । नेपाली सेनाले खरिदको जिम्मा पाएको सात दिनपछि पत्रकारहरुसँग भिडियो कन्फ्रेन्स गर्दै यथाशीघ्र विवादरहित रुपमा स्वास्थ्य सामग्री ल्याउने घोषणा गरेको थियो ।

यसैबीच भारतबाट ५३ प्रकारका औषधि ल्याउने तयारी पनि सेनाले गरेको छ । जंगीअड्डाको खरिद ईकाईले भारतबाट औषधि ल्याउने गरी प्रक्रिया अघि बढाइसकेको जनाइएको थियो । भारतले दिल्लीस्थित नेपाली दूतावासमा ती औषधि जम्मा गरिदिने र त्यसपछि नेपाल ल्याइने जंगी अड्डा स्रोतले जानकारी दियो ।