देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पिपिई सेट लगाएको वेला फोन उठाउन नसक्दा डा. शेरबहादुर पुन कारबाहीमा!

देशान्तर

डा. शेरबहादुर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन्, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन् । हो, उनी १८ वर्षदेखि करारमा छन् । योबीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रामक रोगको बहादुरीपूर्वक सामना गरे, पुरस्कारमा सरकारले उनलाई अस्पताल छाडेर मन्त्रालयमा हाजिर हुन भनेको छ । त्यो पनि देश र दुनियाँ कोभिडजस्तो महामारीविरुद्ध संघर्ष गरिरहेको वेला ।

गत बुधबार र बिहीबार टेकु अस्पतालका अधिकांश मेडिकल अफिसर आइसियूबारे तालिम लिन ह्याम्स अस्पताल गएका थिए । लगातार दुई दिन अस्पतालको ओपिडी डा. पुनले धानेको टेकु अस्पतालले जनाएको छ । अहिले सो अस्पतालमा कोभिड आशंका गरिएका बिरामी मात्रै आउने भएकाले पुन फुल पिपिई लगाएर बिरामी हेर्न बसेका थिए ।

त्यही वेला उता मन्त्रालयमा उनलाई बोलाएर जानकारी लिने तयारी भइरहेको थियो । कोभिड उपचार गर्ने देशको मुख्य अस्पताल टेकुका सरुवारोग विशेषज्ञ तथा क्लिनिकल रिसर्च युनिट संयोजक पुनले सञ्चारमाध्यममा कोभिडबारे लेखेको र बोलेको विषयमा मन्त्रालयले सोधपुछ गर्ने तयारी गरेको थियो । त्यसका लागि उनलाई फोन गरिएको थियो । ‘पिपिई लगाएर उपचारमा जुटेको स्वास्थ्यकर्मीले फोन उठाउन मिल्दैन, त्यो प्राविधिक रूपमा सम्भव छैन र अझ स्वास्थ्य प्रोटोकलले पनि त्यसो गर्न दिँदैन,’ डा. पुनले नयाँ पत्रिकासँग भने, ‘बिहीबार दिउँसो फोन आएको रहेछ, बेलुका मात्र थाहा पाएँ । मास मिडियामा किन बोलेको, किन लेखेको भनेर मन्त्रालयको चासो रहेछ ।’

आमसञ्चारका माध्यमबाट कोभिडविरुद्ध जनचेना फैलाएको विषयमा सोधपुछ गर्न मन्त्रालयले बोलाएको थियो । त्यसैले दिनभर बिरामीको सेवामा जुटेका डा. पुन साँझ घर गए । ‘मैले बोलेको विषयले देशमा केही भवितव्य परेको थिएन । फेरि रातिराति मन्त्रालय जाने कुरा भएन, शुक्रबार केही बिरामी हेरेर मन्त्रालय जाने सोच बनाएको थिएँ,’ उनले भने । तर, भन्नासाथ नआएको भनेर उनलाई पत्र नै लेखेर मन्त्रालयमा हाजिर हुन भनिएको छ ।

यसरी बिरामीको उपचारमा संलग्न चिकित्सकलाई २४ घन्टासमेत समय नदिई अहंकारपूर्वक कारबाही गरिएको छ । ‘२४ घन्टा पनि नबित्दै मलाई लिखित नै स्पष्टीकरण सोध्ने भनेर पत्र तयार पार्नुभएछ । मलाई त्यसरी हतोत्साही गराउन उहाँहरूले किन आवश्यक ठान्नुभयो, मैले बुझेको छैन । अन्योलमा छु,’ उनले भने । कोभिडबारे जनचेतना फैलाएको विषयमा चिकित्सकलाई कारबाही भएको विषयले सबैलाई आश्चर्यमा पारेको छ, डा. पुन आफैँ पनि चकित परेका छन् । भन्छन्, ‘यो वेला मानिसहरू विभिन्न भ्रम–त्रासमा बसिरहेका छन् । त्यसलाई चिर्ने विशेषज्ञ स्वास्थ्यकर्मीले नै हो । त्यसैले कोभिडबारे मैले लेख्ने र बोल्ने काम गर्दै आएको छु । यो हाम्रा पेसागत दायित्व मात्र होइन, मानवीय धर्म पनि हो । तर, त्यसैलाई पाप र गैरकानुनी भनिन्छ भने मेरो भन्नु केही छैन ।’

डा. पुनको योग्यता र विज्ञतालाई अन्तर्राष्ट्रिय जगत्ले पनि पहिचान दिएको छ । संक्रामक रोगसम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा शेरबहादुरका ‘पेपर’हरू प्रकाशित भइरहन्छन् । उनी संक्रामक रोगबारे नेपाली मिडियामा पनि खुलेर बोल्छन् । ‘डाक्टरको काम औषधिको प्रेस्क्रिप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस् भनेर जनतालाई सचेत गराउनु हाम्रो दायित्व हो,’ उनी भन्छन्, ‘कोभिडजस्तो महामारीबारे चेतना एक–एकजनालाई भेटेर दिन सम्भव हुँदैन, मास मिडियाबाट जानुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ।