देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर २७ हजार बढीको काेभिड-१९ परीक्षण

देशान्तर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २७ हजार बढीकाे काेभिड-१९ परीक्षण भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४५४ नमूनाको परीक्षण गरिएको जानकारी दिएका हुन्।

उनले देशका ७७ वटै जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण शुरू भएको जानकारी दिए।मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा चारहजार ५३६ व्यक्ति छन् भने आइसोलेसनमा ११७ जना छन्।

मोबाइल एप्लिकेसन र वेबसाइटमा गरेर हालसम्म २० हजार १३० जनाले आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनेमध्येका २५४ जनालाई ‘रेड जोन’मा राखेको छ। “ती भनेका सम्भावित संक्रमित हुन सक्ने भन्ने हो”, प्रवक्ता देवकोटाले भने, “हामीले उनीहरूलाई निगरानीमा राखिरहेका छौं।”

मन्त्रालयले हिजो, ५ वैशाख उदयपुरमा भेटिएका १२, चितवनमा भेटिएका दुईजनासमेत गरेर काेभिड-१९ संक्रमितको संख्या ३० पुगेको जनाएको छ। तीमध्ये पहिलो संक्रमित यसअघि नै निको भएर घर फर्किसकेका छन् भने दोस्रो संक्रमित आज निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभर आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएका नमूनाको पीसीआर परीक्षण भइरहेको जनाएको छ। मन्त्रालयले आरडीटी वा पीसीआर परीक्षणमा पोजिटिभ देखिएका कोभिड-१९ का संक्रमितहरूको नामसहितको विस्तृत विवरण सार्वजनिक नगरिदिन सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ।