देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै चितवन प्रशासन

देशान्तर

चितवन । गएको चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान सुरु गरेको छ ।

नेपाल आएर दुई दिन काठमाण्डौको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए । राप्ती नगरपालिका–८ का ती सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम (ट्रेसिङ) शुरु गरिएको उनले जानकारी दिए । उनले सङ्क्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको बताए । जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको भट्टराईले जानकारी दिए । उनीहरुको परिवार ठूलो भएकाले सबैको सङ्ख्या यकिन गर्न र सम्पर्कमा रहेकाको खोजी गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिए ।

उनले परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिने जानकारी दिए । उनीहरुको बुधबार द्रूत परीक्षण (आरडीटी) गर्दा शङ्कास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो ।

बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राति शङ्कास्पद नतिजा आएसँगै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो ।

पुनःपरीक्षणका क्रममा दुवै जनामा नै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याबिन कक्षमा राखिएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमित दुबै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताए ।

यसैबीच जिल्लामा हालसम्म ४०५ जनाको द्रूत परीक्षण (आरडीटी) गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । होम र सार्वजनिक क्वरेण्टीनमा रहेकाको परीक्षण गर्ने कामलाई तीव्रता दिइएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए । जिल्लामा आरडीटीलाई तीव्रता दिनका लागि थप किट मगाइएको उनले जानकारी दिए ।