देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना प्रकोप : इटाली र स्पेनमा संक्रमित घट्दै, अमेरिकामा एकैदिन १२ सयको मृत्यु

देशान्तर

काठमाडौं । दुई युरोपेली देश इटाली र स्पेनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या घट्न थालेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश इटाली र स्पेनमा संक्रमितको संख्या क्रमशः घट्न थालेको हो ।

स्पेनमा लगातार चौथो दिन मृतकको संख्यामा कमी आएको भने इटालीमा पनि पछिल्ला केही दिनयता मृतक तथा संक्रमितको संख्यामा कमी आएको हो । कोभिड-१९ का कारण स्पेनमा सोमबार ६३७ जनाले ज्यान गुमाए । योसँगै मृतकहरूको संख्या १३ हजार नाघिसकेको छ । गत बिहीबार ९ सय ५० जनाको मृत्यु भएको थियो ।

स्पनेकी स्वास्थ्य आपत्कालीन समितिकी उपप्रमुख मारिया जोसे सियराले सोमबारको मृत्यु र संक्रमणको संख्याले महामारी केही सुस्त भएको देखिएको जनाइन् ।

शनिबार इटालीमा ६ सय ८१ जनाले ज्यान गुमाएका थिए । जुन मार्च २३ यताकै सबैभन्दा कम हो । आइतबार ५ सय २५ जनाको ज्यान गएको जनाइएको छ । यो दुई सातायताकै सबैभन्दा कम हो । इटालीमा कोभिड–१९ का कारण हालसम्म १५ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या १ लाख २५ हजार नाघिसकेको छ ।

पछिल्ला दिन अमेरिकामा कोरोना संक्रमणबाट दैनिक एक हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका छन् । सोमबार मात्रै त्यहाँ कोरोना संक्रमणबाट १ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या करिब ११ हजार पुगेको छ ।

यसैगरी कोभिड-१९ को संक्रमण विश्वका २ सय ९ देश तथा क्षेत्रमा पुगेको छ । ती देश तथा क्षेत्रमा रहेका १३ लाख ४५ हजार ७ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ भने ७४ हजार ६ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कूल संक्रमितमध्ये २ लाख ७८ हजार ४ सय २८ जना उपचारपछि निको भइ घर फर्केका छन् । अहिले विश्वका विभिन्न अस्पताल र घरमै बसी ९ लाख ९२ हजार ६ सय ७६ जना कोरोना संक्रमित उपचारत छन् । यीमध्ये ४७ हजार ५ सय १८ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ भने ९ लाख ४५ हजार १ सय ५८ जनाको अवस्था सामान्य छ ।