देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउन दिनचर्या : सामाजिक सञ्जालमै बित्छ अधिकांशको समय

देशान्तर

काठमाडौं । कोरोना भाइरस, (कोभिड —१९०) को जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् ।

घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयाल बताउँछन् । “सरकारले गरेको निर्णयप्रति मेरो पूर्ण रुपमा समर्थन छ, तसर्थ मैले घरभित्रै बसेर नियमको पालना गरिरहेको छु”, उनले भने । कतिपय मानिस घरबाहिर निस्कने गरेकोमा भने उनको आक्रोस छ । उनी भन्छन्, “सरकारले हाम्रै स्वास्थ्यको सुरक्षाको लागि नियम लागू गरेको छ, आखिर के का लागि नियमको उल्लङ्घन गरेको ?” नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको बुझाइ छ ।

त्यस्तै प्रह्लाद चापागाईंको दैनिकी पनि सामाजिक सञ्जाल फेसबुक र युट्युव चलाएरै बित्ने गर्छ । उनले दिनहुँ युट्युवमा मनोरञ्जनात्मक सामग्री हेरेर समय बिताइरहेका छन् । मजदुरी गरेर जिविका चलाउने उनको जीवन भने केही कष्टकर नभएको होइन । “सरकारले राहत सामग्री समयमै उपलब्ध गराइदिए खासै समस्या हुने थिएन्”, उनले भने ।

अधिकांश समय घरबाहिरै बिताउनेहरु लकडाउन आज तेह्र दिन भए पनि अझै थप्नुपर्ने माग राख्छन् । कोरना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले केही साता लकडाउन थप्नुपर्ने भूगर्भविद अमृत ढकाल बताउँछन् । भन्छन्, “अहिले सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नु अहिलेको बुद्धिमानी हो ।” सामाजिक सञ्जालमै समय बिताइरहनुभएका उनी पहिले अधिकांश समय बाहिरै बिताउथे । आजकल परिवारसँगै समय बिताउन पाउँदा उनी निकै हर्षित छन् ।