देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना प्रकोप : स्पेनमा एकैदिन ९१३ को मृत्यु, विश्वभर मृतकको संख्या ३७ हजार नाघ्यो

देशान्तर

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ३८ हजार नजिक पुगेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म ३७ हजार ७ सय ८० को मृत्यु भइसकेको छ भने ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै निको हुनेको संख्या करिब एक लाख ६५ हजार रहेको छ ।

इटालीपछि कोरोनाका कारण स्पेनको स्थिति झन् भयावह बनेको छ । स्पेनमा सोमबार मात्रै ९ सय १३ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार १ सय सय १६ पुगेको छ । त्यहाँ अहिलेसम्म ८७ हजार ९ सय ५६ जनामा संक्रमण देखिएको छ भने करिब १४ हजार संक्रमित निको भएका छन् ।

इटलीमा मंगलबार ८ सय १२ जनाको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा बढी हो । सोमबार त्यहाँ ७ सय ५६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा इटालीमा थप ४ हजार ५० जनामा संक्रमण देखिएको छ । बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ भने संक्रमितको संख्या एक लाख एक हजार ७ सय ३९ पुगेको छ ।

२४ घण्टामा अमेरिकामा ५ सय ७३ जनाको मृत्यु भएको छ भने थप १९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार एक सय ५६ पुगेको भने एक लाख ६३ हजार संक्रमित छन् ।

त्यस्तै सोमबार फ्रान्समा पनि गत जनवरी २३ मा पहिलो संक्रमण देखिएयताकै सबैभन्दा बढी ४१८ जनाको मृत्यु भएको छ । इरानमा ११७, जर्मनीमा १०४, बेलायतमा १८०, बेल्जियममा ८२ र स्विजरल्यान्डमा ५९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।