देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मानवीय संवेदना बुझेका निर्देशक

देशान्तर

काठमाडौं । टेलिचलचित्रका पारखीहरूको गुनासो थियो– नेपाली टेलिभिजन च्यानलमा गतिलो नेपाली सिरियल हेर्नै पाइन्न । प्रायः घर गृहस्थीमा रमाउने गृहिणीहरू टेलिसिरियलका असली पारखी हुन्छन् । ती महिलाहरू प्रायः हिन्दी सिरियल हेरेर मनोरञ्जन लिन्थे । हिन्दी सिरियलवाटै आफ्नो घरको कथा हेरेको अनुभूति गर्थे ।

विसं २०६१ सालमा नेपाली सिरियल हेर्न पाइएन भनेर गुनासो गर्नेहरूका लागि गतिलो खुराक लिएर आए निर्देशक ऋषि लामिछाने । सेल्युलोइड फिल्म निर्देशनमा रमाइरहेका लामिछानेको निर्देशनमा निर्माण भएको टेलिशृंखला ‘परिचय’ नेपाल टेलिभिजनबाट प्रसारण सुरु भएपछि तिनै महिलाहरू भन्न थाले ‘परिचय’ हेर्न थालेपछि हिन्दी सिरियल हेर्न मन लाग्नै छाड्यो । उक्त सिरियलमा मुख्य भूमिका निर्वाह गरेकी थिइन् सरिता लामिछानेले । ‘परिचय’ नेपाली टेलिशृंखला इतिहासमा सबैभन्दा लामो समय प्रसारण हुने मेघा सिरियलको रूपमा चिनिन्छ । दर्शकले अत्यधिक मन पराएको सिरियल पनि हो ।

‘परिचय’ १७१ भागसम्म प्रसारण हुनुको कारण उक्त सिरियलमा समावेश कथ्य संरचना नै हो । नारी संवेदनाको गहिराइ नाप्न सक्ने विशेष क्षमता भएका निर्देशकका रूपमा चिनिएका लामिछानेले परिचयमार्फत पूर्वदेखि पश्चिम नेपालसम्मका नागरिकलाई सन्तुष्ट बनाए । हरेकले परिचयमा समावेश कथालाई आफ्नै घरमा घटेको घटनाको रूपमा अनुभूत गरे । ‘सिरियल हेर्नेहरूमध्ये कतिपयले मलाई भन्नु पनि भयो । मेरै घरको कथा प्रस्तुत गर्नु भएछ ।’ दर्शकका त्यस्ता टिप्पणी सुन्दा मक्ख पर्थे निर्देशक लामिछाने । साथै गम्भीर पनि ।

किनकि उनी सचेत थिए ‘आफूले बनाएको सिरियलको प्रसंगले कसैको मान मर्दन नगरोस् ।’ बरु कतिपय सन्दर्भमा घरभित्र उब्जिएका समस्या समाधानको उपाय सुल्झाए सिरियल मार्फत । उनकै निर्देशन रहेको अर्को टेलिशृंखला ‘दृष्टि’ अहिले रमाइलो टीभीबाट प्रसारण भइरहेको छ । जुन सिरियलप्रति दर्शकको आकर्षण बढ्दो छ दिन प्रतिदिन ।

सिरियल निर्देशनमा मौलिक पहिचान कायम गरेका निर्देशक लामिछानेको कला यात्रा अभिनयवाट सुरु भएको थियो । २०४७ सालमा नाटकबाट अभिनय यात्रा सुरु गरेका लामिछाने दर्जनौ नाटकमा अभिनय गरेका छन् । ‘हिरो’ बन्ने सोचले कला क्षेत्रमा प्रवेश गरेका लामिछाने रंगमञ्चमा अभिनय गर्दागर्दै निर्देशनप्रति सम्मोहित भएका थिए । उनले केही समय सहायक निर्देशक भएर काम गरे । तुलसी घिमिरे, लक्ष्मीनाथ शर्मालगायतका दिग्गज निर्देशकसँग काम गरेका लामिछानेको पहिलो चलचित्र ‘कही मिलन कहीँ बिछोड’ २०६० सालमा प्रदर्शन भएको थियो । तत्कालीन समयका चर्चित कलाकार विपना थापा, जल शाह र सुशील क्षेत्रीको मुख्य भूमिका रहेको उक्त चलचित्रको संगीत र कोरियोग्राफीको अहिले पनि चर्चा हुन्छ ।

नेपाली सिनेमाको परम्परागत कथावाचन शैलीप्रति असन्तुष्टि जनाउने लामिछाने मौलिक कथामा फिल्म बन्नुपर्ने मान्यता राख्छन् । उनी भन्छन् ‘फिल्म मौलिक र मनोरञ्जक हुनुपर्छ ।’ उनलाई यो पनि थाहा छ । नेपालमा निर्देशकले भन्दैमा सबथोक हुन्न । निर्माताको कुरा सुन्दै उनीहरूको भावनाको पनि कदर गर्नुपर्छ ।

हाम्रो माया जुनीभरिलाई, श्रीमान् श्रीमती, हबलदार सुन्तलीलगायत दर्जनभन्दा बढी चलचित्र निर्देशन गरेका लामिछानेका प्रायः चलचित्र सफल छन् । सात फिल्मले त बक्स अफिसमा हिटको उपाधि पाए । अहिले उनी नेपालका महँगा निर्देशकको सूचीमा पर्छन् । ‘निर्देशक मात्रै हैन राम्रो फिल्म बनाउने हो भने कलाकारलाई पनि राम्रो पारिश्रमिक दिनुपर्ने उनको मान्यता छ ।

उनका प्रायः चलचित्रमा मानवीय संवेदनाले विशेष महत्व पाएको हुन्छ । जीवन जिउने क्रममा आइपर्ने हरकिसिमका आरोह अवरोहलाई उनी आफ्नै शैलीमा चलचित्रमा प्रस्तुत गर्न खप्पिस छन् । उनको मान्यता छ ‘मानवीय जीवनका भोगाइलाई सरल र सहज तरिकाले चलचित्रमा प्रस्तुत गर्नुपर्छ, जुन प्रसंग हेरेर दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुपर्छ ।’

निर्देशकका सूचीमा यी कति अग्ला मान्छे हुन् भन्नका लागि उनकै गतिशील कर्मलाई हेर्दा बुझ्न सकिन्छ । सेल्युल्वाइड फिल्मको अतिरिक्त विभिन्न सिरियल र विज्ञान गरेर पाँच सय भागभन्दा धेरै बनाएका छन् । लोकप्रिय निर्देशकको ट्रफी पटकपटक उचालेका लामिछानेले पछिल्लो समय विभिन्न अवार्डहरूमा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

चलचित्र विकास बोेर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र अवार्डमा जुरी बसेका लामिछाने राष्ट्रपति, प्रधानमन्त्रीवाट सम्मान पाउने भाग्यमानी निर्देशकको रूपमा चिनिन्छन् । ‘सम्मान मेरो भाग्यले हैन कर्मले दिएको हो’, उनले भने ।