देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना प्रकाेप : धमाधम होटल बुकिङ रद्द

देशान्तर

भैरहवा – चीनसहित एसियाली देशहरुको अर्थतन्त्रमा असर पारेको नोवेल कोरोना भाइरसले नेपालमा पनि असर गरेको छ। कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यसको असर पर्यटकीय गनतव्य लुम्बिनी र नेपालको पर्यटन क्षेत्रमा देखिएको हो।

नेपाल सरकारले भिजिट नेपाल २०२० सुरु गरेसँगै जनवरीमा केही असर पारेको कोरोनाले फेब्रुअरीको सुरुदेखि नै पर्यटन व्यवसायमा प्रभाव पारेको छ। भाइरसकै कारण काठमाडौं सहित पोखरा, चितवन, भैरहवा,लुम्बिनी लगायत क्षेत्रका होटलमा अग्रिम बुकिङ भएको प्याकेज र होटल रद्द भइरहेका छन्। भैरहवास्थित द पिकबोधी रेडसन होटलका निर्देशक यादवप्रसाद पाण्डेका अनुसार फेबु्रअरी पर्यटनका लागि सिजन भएपनि पर्यटक आगमन अत्यधिक कम रहेको बताए। बढी आउने पर्यटक चिनियाँँ गु्रपहरुले अग्रिम बुक गरेको धमाधम बुकिङ रद्द गरिरहेका छन्। फेब्रुअरीमा १२ वटा बुकिङ अग्रिम थियो अहिले रद्द भइसकेको छ, द पिकका उपाध्यक्षसमेत रहेका पाण्डेले भने, ‘भाइरसकै असरले अन्य देशका पर्यटकले पनि भ्रमण रद्द गरिरहेका छन् अहिले पर्यटकको सिजनको सुरुमै यो नराम्रो संकेत आएको छ।

यस्तै,लक्जरी इन्टरनेसनल निर्भाना होटलले पनि फेब्रुअरीका लागि बुकिङ गरेका आठ चिनियाँँ गु्रपले भ्रमण रद्द गरेको जनाए। चिनियाँँ मात्र नभई दक्षिण कोरियाको एक गु्रपले पनि कोरोना भाइरसका कारण देखाउँदै भ्रमण रद्द गरेको बताए। पछिल्लो समय विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय रुपमा स्वास्थ्य संकट घोषणा गरेपछि अझ बढी यो क्षेत्र प्रभावित हुँदै गएको उनको भनाइ छ। पर्यटन व्यवसायीका अनुसार फेब्रुअरीको रद्द हुनथालेपनि मार्च,अप्रिलका लागि बुकिङ पनि खासै नरहेको बताए। रोगको प्रभावले लुम्बिनीको पर्यटक आगमन पनि घटेको छ, चिनियाँ पर्यटक देखिन छाडेका छन्। स्थलमार्गको बेलहिया हुँदै आउने पर्यटकको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी भएपनि आउने दर स्वाट्टै घटेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए।

लुम्बिनी सहित काठमाडौं,चितवन, पोखरा लगायतका स्थानमा पनि यसको असर देखिएको छ। अहिले नेपालमा रहेका पर्यटकहरु कोरोना रोगको प्रभाव बढ्नुअघि नै भारतबाट आइसकेका पर्यटक हुन्। यो रोग नियन्त्रणमा आउन नसके अबको दुई हप्तामा होटल तथा पर्यटन व्यवसाय सुनसान जस्तै हुने र यसको असर नेपालमा मात्र नभई विश्व पर्यटन र अर्थतन्त्रमा पर्ने होटल संघ नेपाल(हान)का केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल संघ नेपाल (सान)का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सिपी) ले बताए। भैरहवा क्षेत्रको पाँचतारे टाइगर प्यालेस रिसोर्टमा प्रायःभारतीय पर्यटक आउने गरेको रिसोर्टका नायब महाप्रबन्धक लक्ष्मण थापाले बताए। ‘हामीकहाँ चाइनिज पर्यटकको बुकिङ छैन, अहिले भारतीय पर्यटक भरिभराउ छन्,’थापाले भने। भारतीय पर्यटकलाई हामीले क्याच गर्नुपर्छ, उनीहरुको सहज भ्रमणको वातावरण बनाउनुपर्छ।

लुम्बिनीमा पहिलो महिनै ४८ हजार पर्यटक घटे
बेलहिया नाका हुँदै आउने विदेशी पर्यटक र लुम्बिनी भ्रमण गर्ने पर्यटक पहिलो महिनामै घटेका छन्। स्थलमार्गको भैरहवाका (बेलहिया)बाट यो वर्षको जनवरीमा ११ हजार सात सय ५९ विदेशी पर्यटक आएका छन। जुन गतवर्ष भन्दा ६ सय ९३ ले कम हो। विदेशी पर्यटक मात्र होइन भारतीय र नेपाली पर्यटक पनि लुम्बिनीमा गतवर्षको तुलनामा घटेका छन्। लुम्बिनी विकास कोषको अनुसार यो वर्षको जनवरीमा १३ हजार एक सय सात विदेशीले, १३ हजार नौ सय ७८ भारतीयले र ६७ हजार नौ सय ४२ जना नेपालीले लुम्बिनी भ्रमण गरे। जुन गतवर्ष भन्दा ४८ हजार ६० ले कम हो। नागरिक दैनिकमा खबर छ।