देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घुम्नका लागि नेपालमा सुरक्षित वातावरण छ : सुरज वैद्य

देशान्तर

नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले भ्रमणका लागि नेपालमा सुरक्षित वातावरण रहेकाले उक्त सन्देश विश्वमाझ पुर्‍याउनुपर्नेमा जोड दिनुभएको छ ।

रेबान काठमाडौँको आयोजना र बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ बन्दीपुरको सहकार्यमा आजदेखि बन्दीपुरमा शुरु बन्दीपुर फेस्टको उद्घाटन गर्दै वैद्यले ढुक्क भएर नेपाल भ्रमण गर्न विदेशी पर्यटकलाई आग्रह गर्नुभयो ।

“विदेशी नेपाल सुरक्षित छैन भन्ने ठान्छन् तर नेपाल सुरक्षित छ भन्ने सन्देश दिन भ्रमण वर्ष सफल हुनेछ”, वैद्यले भन्नुभयो ।

वैद्यले पर्यटन आर्थिक विकासको आधार रहेकाले पर्यटनबाटै मुलुकको समृद्धि सम्भव रहेको चर्चा गर्नुभयो ।

नेपालमा सम्भावनाको खानी देश भएको चर्चा गर्दै वैद्यले भन्नुभयो, “नेपाल सानो देश भए पनि गरिब देश होइन, नेपाल प्राकृतिक हिसाबले निकै धनी देश हो, प्राकृतिक सम्पदाको सदुपयोग गर्दै समृद्ध मुलुक निर्माणमा लाग्नुपर्छ ।”

पर्यटन विकासका लागि बन्दीपुरबाट अरूले सिक्नुपर्नेमा जोड दिँदै वैद्यले पर्यटन विकासका लागि बन्दीपुरले थालेको प्रयास सराहनीय रहेको बताउनुभयो ।

भ्रमण वर्ष २०२० का अवसरमा बन्दीपुरमा तीनवटा ठूला कार्यक्रम गरिने सो अवसरमा वैद्यले प्रतिबद्धता जनाउनुभयो ।

चीनमा देखिएको कोरोनो भाइरसको समस्याले नेपालको पर्यटन क्षेत्रमा केही समय समस्या देखिए पनि उक्त समस्या सधैं नरहने भएकाले निराश हुनुपर्ने अवस्था नरहेको वैद्यले बताउनुभयो ।

संयोजक वैद्यले अहिलेको समय गुनासो गर्ने नभई भ्रमण वर्ष २०२० सफल बनाउने रहेको चर्चा गर्दै भ्रमण वर्ष २०२० लाई सफल पार्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले स्थानीयवासीको अथक प्रयासबाट बन्दीपुरले अन्तर्राष्ट्रिय प्रसिद्धि कमाएको बताउनुभयो । उहाँले गण्डकी प्रदेश पर्यटनमा धनी रहेको र त्यसको केही हिस्सा बन्दीपुरको पनि रहेको चर्चा गर्नुभयो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको विकासका लागि २० वर्षे गुरुयोजना बनाएर अगाडि बढेको बताउनुभयो । बन्दीपुरको पर्यटन विकासका लागि मिनी ग्रेटवाल निर्माणलाई तीव्रता दिइएको र सिसाको दृश्यावलोकन स्तम्भ निर्माणको प्रक्रिया अगाडि बढाइएको थापाले बताउनुभयो । कार्यक्रममा बन्दीपुर सामाजिक विकास समितिका अध्यक्ष डा मदन पियाले बन्दीपुरको विकासका लागि समिति विगतदेखि नै क्रियाशील रहँदै आएको बताउनुभयो ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले पुरानो शहरका रुपमा परिचित बन्दीपुरलाई सम्पदा बस्तीका रुपमा घोषणा गर्नुपर्ने बताउनुभयो । रेबानका अध्यक्ष अरनिको राजभण्डारीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उद्देश्यसहित बन्दीपुरमा महोत्सवको आयोजना गरिएको बताउनुभयो । महोत्सव शनिबारसम्म चल्नेछ ।