देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सौराहामा घटे पर्यटक

देशान्तर

चितवन, १८ माघ । छिमेकी मुलुक चीनमा देखिएको कोरोना भाइरसको प्रभाव चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष परेको छ ।
भाइरसको प्रभावले गर्दा चितवनमा चिनियाँ पर्यटक आउन बन्द भएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । जनवरीदेखि अप्रिलसम्म धेरै चिनियाँ पर्यटक चितवन घुम्न आउने गरेका थिए, भाइरसले गर्दा अहिले बन्द भएको छ, उहाँले भन्नुभयो, यसको प्रभावले चीनको मात्र होइन अन्य देशका नागरिक पनि आउन पातलो भएको छ ।

भन्नलाई गाह्रो भए पनि नयाँ वर्षदेखि नै सौराहा क्षेत्र सुनसान भएको पर्यटन व्यवसायीको भनाइ छ । चीनमा भाइरस देखिनु, अन्य देशका नागरिक पनि सुरक्षाको कारण घुम्न आउन छाड्नु, भएका बुकिङ रद्द गर्नुले गर्दा अहिले सौराहामा आन्तरिक पर्यटकबाहेक अरू देख्न पाइँदैन, भट्टराईले भन्नुभयो ।

दैनिक पाँच सयदेखि सात सयको हाराहारीमा चिनियाँ पर्यटक आउने गरेका थिए, अध्यक्ष भट्टराईले भन्नुभयो अहिले एक जना पनि आएका छैनन् । उहाँहरू मात्र होइन भारतीय, अन्य मुलुकका पर्यटक सङ्ख्या पनि निकै कम भएको छ । यस्तो अवस्थामा पर्यटन व्यवसाय कसरी चलाउने भन्ने चिन्ता लागेको छ ।

सौराहाका पर्यटन व्यवसायी माधव दुवाडीले भन्नुभयो, कोरोना भाइरसको प्रभाव चितवनमा पनि देखियो । चीनका मात्र होइन अरू मुलुकबाट आउने पर्यटक पनि घट्दै गए ।

क्षेत्रीय होटल सङ्घ पश्चिम चितवनका अध्यक्ष गणेश पौडेलले भन्नुभयो, यो समय चिनियाँका लागि नेपाल घुम्न आउन उपयुक्त छ । चिनियाँका कारणले यो समय होटल भरिभराउ हुन्थे तर यसपटक होटल सुनसान छन् ।

अन्य मुलुकका पर्यटकले पनि अहिले बुक रद्द गरेका छन्, रोगको महामारी रोकथाम नभए पर्यटन क्षेत्र नै धराशयी हुन्छ, पौडेलले भन्नुभयो ।

पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीका अनुसार सन् २०१७ मा चितवन आउने कुल पर्यटकमध्ये चिनियाँ ३० प्रतिशत रहेको थियो । सन् २०१८ मा चिनियाँ २३ प्रतिशतमा झरेको थियो ।

सन् २०१९ मा ३० प्रतिशतभन्दा धेरै आएको हामीले पाएका छाँै । भ्रमण वर्ष सुरु भएपछि चिनियाँ पर्यटक वृद्धि हुने अनुमान लगाएका थियो तर कोरोना भाइरसले गर्दा बन्द भएपछि यहाँको पर्यटन क्षेत्रमा नराम्रो प्रभाव पारेको छ, उहाँले भन्नुभयो । गोरखापत्रमा खबर छ।