देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंकिङ प्रणालीबाट सामाजिक सञ्जालमा विज्ञापन गर्न पाइने

देशान्तर

सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तान गरे विदेशी मुद्रा अपचलन अन्तर्गत रहेर कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दएको छ ।राष्ट्र बैंकले बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्ता भुक्तानी रोक्न सार्वजनिक सूचना जारी गरेको कारबाही गर्ने जनाएको हो ।

सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तानी गरे विदेशी मुद्रा अपचलन अन्तर्गत रहेर कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्ता भुक्तानी रोक्न सार्वजनिक सूचना जारी गरेर कारबाही गर्ने जनाएको हो।
‘फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो,’ राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ।

‘यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइए विदेशी विनिमय ऐन र प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा जानकारीका लागि,’ सूचनामा उल्लेख छ। विदेशी विनिमय ऐनमा सरकारी निकायको अनुमति नलिई गरेको विदेशी विनिमयको कारोबार जफत गर्न सक्ने र बिगोको तीन गुणासम्म जरिवाना गर्न सक्ने प्रावधान छ। यस्तै बिगो नखुल्ने कारोबार भए कसुरको मात्रा हेरी २ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ।

सामाजिक सञ्जालमा रकम भुक्तानी गर्न व्यवस्थित पेमेन्ट गेटवे नभएकाले अधिकांश विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गर्दै आएका छन्। उनीहरूले विदेशमा बस्ने आफन्त वा विदेशी कम्पनीका तर्फबाट सामाजिक सञ्जालमा हुने विज्ञापनको रकम भुक्तानी गर्न लगाई त्यस्ता व्यक्तिलाई नेपालबाट अनौपचारिक माध्यमबाट पैसा पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ। राष्ट्र बैंकको सूचनासँगै युट्युबजस्ता सामाजिक सञ्जालमा भिडियो निर्माण गरी आम्दानी गर्दै आएका नेपालीले पनि बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्नेछ।

युट्युबका लागि भिडियो उत्पादन गरी उक्त भिडियोमा युट्युबले विज्ञापन राखे त्यसबापत निश्चित प्रतिशत युट्युबले भिडियो निर्मातालाई उपलब्ध गराउँदै आएको छ। उक्त रकम प्रायःले विदेशमा रहेका आफन्त तथा साथीभाइको खातामा जम्मा गर्ने र अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने गरेको गुनासोपछि राष्ट्र बैंकले औपचारिक माध्यमबाट भित्र्याउन सूचना जारी गरेको हो।

अनौपचारिक माध्यमबाट सामाजिक सञ्जालमा हुने भुक्तानीबाट ठूलो रकम बाहिरिने गरेको गुनासोपछि राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए। ‘कति रकम बाहिरिन्छ भन्ने यकिन तथ्यांक नभए पनि ठूलो रकम बाहिरिएको गुनासो छ,’ उनले भने, ‘सामाजिक सञ्जालको विज्ञापनका लागि हुने अनौपचारिक भुक्तानी डिजिटल हुन्डी जस्तो भएको रहेछ।’

सामाजिक सञ्जालमा विज्ञापन गर्न चाहनेलाई औपचारिक माध्यमबाट भुक्तानी गर्ने प्रणाली पनि भएको उनले बताए। ‘तीन हजारसम्मको भुक्तानीका लागि बैंकबाटै तिर्न सकिन्छ,’ उनले भने, ‘तीन हजारदेखि १० हजार रुपैयाँसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा बैंकबाट भुक्तानी गर्न सकिन्छ।’ उनका अनुसार १० हजारभन्दा माथिको भुक्तानीका लागि राष्ट्र बैंकको सिफारिस आवश्यक पर्छ। यो प्रक्रिया पुरा नगरे कारबाही गर्ने राष्ट बैंकको चेतावनी हो।

औपचारिक माध्यमबाट यसरी सिफारिस लिएर सामाजिक सञ्जालमा विज्ञापनबापतको रकम भुक्तानी गर्नेको संख्या निकै कम भएको उनले बताए। राष्ट्र बैंकले सार्वजनिक गरेको यो वर्षको मौद्रिक नीतिमा पनि सामाजिक सञ्जालमा हुने भुक्तानीलाई व्यवस्थित गर्ने बुँदा उल्लेख छ।

नेपाल विज्ञापन संघले पनि सामाजिक सञ्जालमा विज्ञापन नियमन गर्नुपर्ने माग गरिरहेको अध्यक्ष शशि रिजालको भनाइ छ। ‘नयाँ सरकार आएदेखि नै हामीले पटकपटक सामाजिक सञ्जालमा हुने विज्ञापन नियमन गर्नुपर्ने माग गर्दै आएका थियौं,’ उनले भने, ‘राष्ट्र बैंकले गरेको निर्णय कसरी कार्यान्वयन कसरी हुन्छ, हेर्न बाँकी छ।’

संघले सामाजिक सञ्जालमा हुने विज्ञापनबाट सरकारलाई पनि राजस्व आओस् भन्न ती सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्छ भन्ने माग गर्दै आएको उनले बताए। ‘तर राष्ट्र बैंकले अनौपचारिक माध्यमबाट विज्ञापनका लागि भुक्तानी गर्ने प्रक्रिया बन्द गर्नुअघि विज्ञसँग छलफल गरेको भए राम्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘सूचना जारी भएकै दिनदेखि बन्द गर्ने भन्दा पनि केही समय दिएर नियमन गरेको भए हुन्थ्यो।’ सामाजिक सञ्जालमा विज्ञापनबापत अनौपचारिक माध्यमबाट कति रकम बाहिरिन्छ भन्ने तथ्यांक कुनै पनि सरकारी निकायसँग छैन।

विज्ञापन संघका अध्यक्ष रिजाल भने वार्षिक करिब ५ अर्ब रुपैयाँ सामाजिक सञ्जालमा विज्ञापनबापत बाहिरिने अनुमान गर्छन्। ‘नेपालमा उत्पादन बिक्री गर्ने बहुराष्ट्रिय कम्पनी र ब्रान्डले पनि सामाजिक सञ्जालमा विज्ञापन गरेको हेर्दा यस्तो अनुमान गरिएको हो,’ उनी भन्छन्, ‘तर आधिकारिक तथ्यांक हामीसँग पनि छैन।’ नेपालको कुल विज्ञापन बजार करिब १२ अर्ब रुपैयाँ हाराहारीमा भए पनि गत वर्ष बजार खुम्चिएर १० अर्बमा झरेको उनले बताए। कान्तिपुरमा खबर छ।