देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विमानस्थल निर्माणमा तीव्रता

देशान्तर

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । विमानस्थल तोकिएको समयभन्दा छ महिनाअगावै सम्पन्न गर्ने गरी दु्रत गतिमा काम भइरहेको छ ।

हालसम्म उक्त विमानस्थलको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन–वे निर्माण सम्पन्न भइसकेको, विमानस्थलसम्म पुग्ने सडक निर्माण र अन्य टर्मिनल भवनलगायत ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको प्रमुख विनेश मुनकर्मीले बताउनुभयो । विमानस्थलमा चिनियाँ तथा नेपाली कामदारले काम गरिरहेका छन् ।

विमानस्थलमा रन–वे निर्माणको काम सकिएपछि अहिले टर्मिनल भवन, यात्रुका लागि जहाज चढ्ने र ओर्लेन स्थान, ट्याक्सी पार्किङ, वरिपरि नाला निर्माण, ह्याङ्गर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।

विमानस्थल निर्माण छिटो सक्ने नाममा त्यसको गुणस्तरमा कुनै कम्प्रमाइज नहुने निर्माण कम्पनीले जनाएको छ । मासिक चार लाख ६८ हजार यात्रु क्षमताको टर्मिनल भवन निर्माण हुने उक्त विमानस्थलको कुल १४ हजार स्क्वायर मिटरको टर्मिनल भवनमध्ये आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि छुट्याइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण हुन लागेको विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० वा सो सरहका विमानले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुटको समस्या भएकाले विमानस्थल निर्माणपछि कुन रुटबाट विमान आउजाउ गर्ने भन्ने अन्योल भए पनि त्यसबारे निर्णय हुने प्राधिकरणले जनाएको छ ।
केही समयअगाडि निरीक्षणका लागि आउनुभएका पर्यटनमन्त्री योगेश भट्टराईले हवाई रुटका बारेमा भारतसँग भइरहेको कुरा सकारात्मक रहेकाले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर रुटका बारेमा सम्झौता गरिने बताउनुभयो ।
झन्डै २२ अर्ब रुपियाँ चिनियाँ ऋण सहयोगमा निर्माण हुन लागेको यो विमानस्थल अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने १६० सिट क्षमताका ‘फोरडी’ विमान अवतरण गर्न सक्ने गरी काम भइरहेको बताइएको छ । सन् २०२१ जुलाइ १० भित्र सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सीएमसीसँग सम्झौता गरिएकोमा सन् २०२० डिसेम्बरमै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको पोखरा विमानस्थल आयोजनाका प्रमुख मुनकर्मीले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको विमानस्थल समयभन्दा अगावै सकिँदा नेपालमा विकासको काम ढिलो हुन्छ भन्ने सोचाइमा परिवर्तन हुने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभयो । सन् २०१७ नोभेम्बरदेखि निर्माण सुरु भएदेखि निरन्तर सरकारका प्रतिनिधि, उच्च पदस्थ व्यक्तिहरूबाट नियमित अवलोकन तथा निरीक्षण भइरहेकाले काममा सहज भएको निर्माणमा आबद्ध कर्मचारी बताउँछन् । गाेरखापत्र दैनिकमा खबर छ।