देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोकुलजी सम्झनुस् त ती दिनहरु…

देशान्तर

कबिर राणा । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले २०४६ सालको जनआन्दोलनको सबैभन्दा ठूलो उपलब्धि लोकतान्त्रिक संविधानको बाधा अड्चन फुकाउ प्रावधानलाई आफू अनुकूल प्रयोग गरी आफैंलाई राष्ट्राध्यक्ष घोषित गरी सम्पूर्ण शासनको बागडोर आफैंले लिएर शासन सञ्चालन गरेपछि सबैभन्दा पहिले स्वतन्त्र प्रेसमाथि नै प्रहार गरे । संसद् विघटित अवस्थामा भएकाले पनि महत्वांकाक्षी राजालाई त्यो अवसर मिलेको थियो ।

प्रजातान्त्रिक व्यवस्थामा ग्रहण लागेको त्यो कालो दिनपछि झन्डै एक साता पत्रिकाका सम्पादन कक्षमा बर्दीधारी सेनाका अधिकृतहरूले नै सेन्सर गर्न थाले । १४ वर्ष अगाडिका ती दिनहरू अहिले पनि प्रेस स्वतन्त्रता र लोकतन्त्र पक्षधर पत्रकारहरूको सम्झानामा नै होला । एक सातापछि गाउँका कुना कन्दराका जनताका घरआँगनमा गुञ्जिएर सुसूचित गराउने रेडियोहरूको समाचार प्रसारणलाई रोक लगाइयो ।

‘बिग हाउस’द्वारा संचालित ब्रोडसिट दैनिकहरू आईएनजीओ र विदेशी समाचारमा सीमित भए । रेडियोमा समाचार प्रतिबन्धित भएपछि राजाको कदमको विपक्षमा प्रकाशित इतिहास बोकेका साप्ताहिक पत्रिकामा राजाको आँखा पर्ने महसुस गरी एक साँझ मैले छलफल साप्ताहिकका प्रधानसम्पादक गोपाल थपलियालाई फोन गरें । फोनमा मैले गोपाल दाइलाई अब राजाको आँखा साप्ताहिक पत्रिकामा पर्न सक्छ, त्यसैले साथीभाई जम्मा गरी केही उपाय निकालौं भनें । उनी त्यतिबेला साफ्मा (सार्क पत्रकारहरूको संस्था) का नेपाल अध्यक्ष थिए, अनामनगरमा उनको राम्रो अफिस थियो । वामपत्रकारलाई उनले खबर गर्ने, प्रजातन्त्रवादीलाई मैले खबर गर्ने सल्लाह गरेर भोलि भेट्ने निक्र्योल गर्दै हामीले फोन संवाद टुंग्यायौं । भोलिपल्ट साफमाको कार्यालयमा गोपाल दाइ, म, बुधबारका तत्कालीन सम्पादक, एमालेका प्रचार सचिव सूर्य थापा, दृष्टिका शम्भु श्रेष्ठ, साँघुका गोपाल बुढाथोकी, युगवाणीका तेजप्रकाश पण्डित, तरुणका परशु घिमिरे, घटना र विचारका जयप्रकाश त्रिपाठी, सम्बोधनका गोकुल बाँस्कोटा, नयाँ विकल्पका दामोदर दवाडीलगायत झन्डै डेढ दर्जन साप्ताहिक सम्पादकहरू जम्मा भयौं । छलफलबाट शाही सरकारले आइतबार देशान्तर साप्ताहिकमा प्रकाशित समाचारका कारण मलाई थुन्यो भने अर्को अंकमा नथुनिएका सम्पादकको सहयोगमा पत्रिका प्रकाशित गर्नेलगायतका निर्णय भए । उपस्थित सम्पादकमध्ये पार्टीका सक्रिय पदमा समेत रहेकामा म, सूर्य थापा र गोकुल बाँस्कोटा मात्र थियौं । भेलाले मेरो संयोजकत्वमा सूर्य थापा सचिव रहने गरी साप्ताहिक सञ्जाल गठन गर्यो । म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्य एवं भक्तपुर कांग्रेसको जिल्ला समिति सदस्यसमेत थिएँ भने सूर्य थापा नेकपा एमालेको प्रचार विभाग सदस्य र गोकुल बाँस्कोटा नेकपा काभ्रे जिल्ला समितिका सदस्य थिए ।

उपस्थितमध्ये सबैभन्दा पाका र वरिष्ठ सम्पादक गोपाल दाइले मैले समस्या आउन सक्ने र समाधानको लागि संयुक्त हुनुपर्ने विचार ल्याएकोले मेरो नै संयोजकत्वमा समिति बनाउने प्रस्ताव गर्नुभयो र सबैले त्यसलाई समर्थन गरी मेरो नै प्रस्तावमा सूर्य थापा सचिव बस्न राजी भए । उपस्थित अरू सबै सदस्य बस्ने सहमति बन्यो । त्यसपछि पाक्षिक पत्रिकाहरूलाई पनि समेटेर ‘साप्ताहिक-पाक्षिक सञ्जाल’ बन्यो । हिमाल खबर पत्रिकाका राजेन्द्र दाहाल, निमकान्त पाण्डे, नेपालीपत्रका कमल जोशीहरू पनि सञ्जालमा समेटिए । तत्कालीन समयमा आइतबार पत्रिका निस्किनेबित्तिकै काठमाडौं जिल्ला प्रशासनमा सोमबार उपस्थित हुनुपर्ने अवस्था थियो । बैठकहरू प्रत्येक साता आवश्यकताअनुसार दुई पटक/एक पटक बस्ने गथ्र्यौ । बैठकमा प्रेस स्वतन्त्रता र राजाको शासनको विपक्षमा कडा रूपमा प्रस्तुत हुनेमा म, सूर्य थापा र गोकुल बाँस्कोटा नै थियौं । सेनाबाट छलिएर अलिक पछि जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पनि बैठकहरूमा आउन थाले ।

देशान्तर, दृष्टि, छलफल, तरुण, घटना र विचार, जनआस्था, बुधबारलगायतका पत्रिका पहिले पनि नियमित नै थिए, राजाका शासन र अहिले पनि छन् । गोकुलजीको ‘सम्बोधन’ त्यति नियमित थिएन तर पनि उनी जोशिला र क्रान्तिकारी रूपमा बैठकहरूमा प्रस्तुत हुन्थे । प्रेस स्वतन्त्रता र प्रजातन्त्रका पक्षमा सबैभन्दा जबर्जस्त प्रस्तुत हुन्थे । म र सूर्यजी त पार्टी पत्रकार नै थियौं । स्वाभाविक नै भयो किनभने त्यतिबेला दलहरू प्रतिबन्धित जस्तै थिए । त्यो जनआन्दोलनका कमान्डर नेपाली कांग्रेसका सभापति गृहबन्दी (होमएरेस्ट) हुनुहुन्थ्यो । कैयौंपटक बैठक साँझमा सकेर मेरो बाहनमा गोकुलजीलाई उहाँको डेरा लोकन्थली छाडेको पनि थिएँ । यसरी हाम्रो संघर्ष र पछि सात दल हुँदै माओवादीसमेतको संयुक्त जनआन्दोलनको पक्षमा मुलुकमा उर्लिएको जनसागर र विदेशी मित्रहरूको समेत समर्थनमा दोस्रो जनआन्दोलन पनि सफल भयो । विघटित संसद् पुनस्र्थापित भयो । पुनस्र्थापित संसद्मा माओवादीलाई समाहित गरियो ।  घटनाक्रमहरू अघि बढ्दै गए ।

प्रजातन्त्र पुनस्र्थापित भएपछि म र सूर्य थापा लक्ष्य पूरा भएकोले साप्ताहिक पाक्षिक सञ्जालको आवश्यकता नभएको निष्कर्षमा पुग्यौं र त्यही कुरा राख्यौं पनि । हाम्रो भनाइ थियो पत्रकारको छाता संगठनको रूपमा नेपाल पत्रकार महासंघ रहेकाले अब अरू संगठन आवश्यक छैन । सूर्य त्यतिबेला महासंघका केन्द्रीय सदस्य पनि थिए । तर पछि सदस्यमा आएका किशोर श्रेष्ठ, देवप्रकाश त्रिपाठी, शम्भु श्रेष्ठ, गोकुल बाँस्कोटाहरूले साप्ताहिकहरूको हितको लागि यो संस्था आवश्यक छ भनेर लागेपछि हामी पनि आजित भएर मेरै अध्यक्षमा उपसभापति शम्भु श्रेष्ठ, महासचिव किशोर श्रेष्ठ, सचिव सूर्य थापा, कोषाध्यक्ष कमल जोशीलगायत सदस्यहरूसहित जिल्ला प्रशासन कार्यालयमा संस्थालाई औपचारिक रूपमा दर्ता गरियो र हालसम्म पनि देवप्रकाश त्रिपाठीको अध्यक्षतामा साप्ताहिक–पाक्षिक सञ्जाल क्रियाशिल नै छ ।

समयले कोल्टे फेर्यो । गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्रार्दुभाव भयो । राजा ज्ञानेन्द्रले रक्तपातविहीन सम्झौताबाट गद्दी त्याग गरे । कोइरालाले प्रधानमन्त्री र राष्ट्राध्यक्षको रूपमा संविधानसभाको चुनाव गराए । त्यो सभाले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माण गर्न सकेन । दुई तिहाइभन्दा बढी वामपन्थी रहेको सभामा पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई वामपन्थी प्रधानमन्त्री भए तर संविधान जारी भएन । संविधानसभाको म्याद सकिएपछि सर्वोच्चका प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । त्यसले गराएको चुनावबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्यो । दोस्रो ठूलो पार्टी एमालेको समर्थनमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो र दोस्रो संविधानसभाले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गर्यो । झन्डै सात दशकदेखि थाती रहेको जनताको चाहना पूरा भयो । त्यसपछि विभिन्न मिलिजुली सरकारहरू बने । प्रदेश र संघको चुनाव अगाडि रहस्यमय र चामत्कारिक रूपमा कुन शक्तिको निर्देशनमा राजनीतिक रूपमै शत्रुवत् व्यवहार गरिरहेका केपी ओलीको नेतृत्वको एमाले र पुष्पकमल दाहाल नेतृत्वको माओवादीबीच एकता भयो र संघको चुनावमा उनीहरूलाई झन्डै दुई तिहाइ बहुमत प्राप्त भयो ।

त्यही सरकारमा सुरुमा सञ्चार राज्यमन्त्री पछि सञ्चारमन्त्रीका रूपमा मित्र गोकुल बाँस्कोटा कार्यरत छन् । नियमित पत्रिका निकाल्न नसक्ने, राजाको शासनमा उग्ररूपमा प्रेस स्वतन्त्रता र लोकतन्त्र पक्षमा बोल्ने, पार्टी पत्रकार बाँस्कोटा अहिले सत्ताको उन्मादमा अल्पज्ञानी कुरा गर्ने, प्रेसविरुद्ध अमर्यादित शब्दहरू ओकल्दै (जस्तैः जय नेपाल महेन्द्रले सुरु गरेका हुन्, कांग्रेसलाई बोल्न प्रतिबन्ध लगाउनुपर्छ, अमेरिकामा पत्रकारलाई मृत्युदण्ड दिइन्छ) वकवक गर्न थालेका छन् । अझै उनको मन्त्रालयले मस्यौदा गरी संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकमा त पत्रकारलाई १० लाखसम्म तिराउने, एक वर्षसम्म थुन्ने प्रावधान राख्नुले उनले आफ्नो विगत बिर्सेकै हुन् जस्तो प्रतीत हुन्छ । सम्बोधन साप्ताहिक निकाल्न विजनेस हाउसहरूमा विज्ञापन र सहयोग माग्दै भड्किएर हिँडेको सम्झन म उनलाई आग्रह गर्छु । सत्ता, जवानी र धन सधैं रहँदैन । पत्रकारितालाई भर्याङ बनाएर सत्तामा पुगेपछि पत्रकारलाई नै दबाएर कम्युनिस्ट अधिनायकवाद लाद्ने सपना नदेखौ मित्र । दुनियाँका ठूल्ठूला तानाशाहको शासन त तासको महल झैं ढलेको छ भने नेपालको कम्युनिस्ट शासन पनि यही रवैयामा अगाडि बढ्ने हो भने गर्लामगुर्लुम ढल्छ । ज्ञानेन्द्रको हविगत त देखेकै हो । बेलैमा चेतना पलाओस् !