देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेल्जियममा कांग्रेसको भाँडभैलो

देशान्तर

ब्रसेल । बेल्जियमस्थित नेपाली कांग्रेसको भ्रातृ संगठन– नेपाली जनसम्पर्क समितिको विवाद समाधान गर्न आएका केन्द्रीय प्रतिनिधि किरणराज पौडेलले संगठनका बहुसंख्यक सदस्यहरूको सल्लाह र सुझावविपरीत केही व्यक्तिका कोठामा बसेर उनीहरूकै पक्षमा निर्णय गरेको सूचना टाँस गरी स्वदेश फर्केको घटनाले कांग्रेसभित्र आदर्श, सिद्धान्त र चरित्रको पतन कुन हदसम्म हुन पुगिसकेको छ, त्यो तथ्य फेरि एक पटक पुष्टि भएको छ ।

बेल्जियमका विभिन्न सहरमा नेपालीहरूको ठूलो संख्यामा बसोवास रहेको छ । उनीहरू अधिकांश उदार प्रजातन्त्रमा आदर्श अपनाएको कांग्रेस समर्थक रहेका छन् । त्यस्तो सुदृढ संगठन भएको देशबाट पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्ने केही प्रतिनिधि आफ्नो पक्षमा पार्ने लोभले संगठन नै ध्वस्त पार्ने केन्द्रीय प्रतिनिधिको काम कारवाहीको निन्दा र भत्र्सना गर्दै विना अधिवेशन टीका लगाइदिएको घटनाप्रति खेद व्यक्त गरेका छन् ।

त्यसरी खेद प्रकट गरेर आफ्नो नाम समितिबाट फिर्ता लिनेहरूमा निवर्तमान सभापति सुभाष जोशी, वरिष्ठ उपसभापति देव पौडेल ‘देवु’, उपसभापति नरहरि सापकोटा, महामन्त्री दिनेश भण्डारी, सहमहामन्त्री धर्म पाठक, सदस्यहरू– पूर्ण तिमिल्सेना, रविन पण्डित, दामन तामाङका अतिरिक्त सल्लाहकारहरू– केदार जोशी र राकेश कर्माचार्य रहेका छन् ।

उनीहरूले त्यस्तो कोठे तथा टीके षड्यन्त्रकारी क्रियाकलापले संगठन ध्वस्त हुने भएकाले त्यसलाई अविलम्ब खारेज गरेर खुला तथा पारदर्शी ढंगले अधिवेशन गर्न केन्द्रसँग माग पनि गरेका छन् ।