देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेरो स्मृतिमा गिरिजाबाबु

देशान्तर

०३९ सालमा म कक्षा आठमा पढ्थेँ । राजनीतिप्रति अलि अलि रुचि राख्थेँ । असार, साउनको महिना जस्तो लाग्छ, पानी परिरहेकोे थियो । गिरिजाप्रसाद कोइराला पार्टीको संगठन विस्तार गर्ने क्रममा नेपाल भ्रमणमा निस्कनुभएको थियो । त्यसक्रममा उहाँ पाल्पा हुँदै गुल्मी आइपुग्नुभएको रहेछ । मलाई त राति अबेरमात्र थाहा भयो । गुल्मीमा सीमित कांग्रेसका नेतालाई राखेर मिटिङ गर्ने कार्यक्रम रहेछ । हिरामणि सापकोटाको शाकाहारी भोजनालयमा ‘मिटिङ’ भयो । होटल त अहिले पनि छ ।

गिरिजाबाबु बेलुका अबेर आइपुग्ने र त्यहीँ बस्ने कार्यक्रम रहेछ । जुन कुरा कांग्रेसका केही नेता (चन्द्र भण्डारी, भागवत् ज्ञवाली, फणिन्द्र भण्डारी, चन्द्र केसी, मोहन सिंह थापालगायत) लाई मात्र थाहा रहेछ ।

पञ्चायती शासन भएकाले होला, त्यसको जानकारी धेरैलाई रहेनछ । चन्द्र (भण्डारी) दाइले मलाई दिउँसो नै राति तिमी कतै जानुपर्दछ भन्नुभएको थियो । मैले हुन्छ त भनेको थिएँ, तर किन भनेर सोधिनँ । उहाँले पनि भन्नुभएन ।

हाम्रो घरमा गाई पालिएको थियो । चन्द्रदाइले बुबालाई पनि भन्नुभएको रहेछ, त्यसैले साँझ होटलतिर जाँदा बुबाले नै दूध लिएर जा भन्नुभयो । दूधको किल्टी बोकेर म साढे आठ बजे घरबाट निस्किएँ, साथमा थिए गोपाल पन्थी र रेमलाल मरासिनी । मलाई कहाँ जाने भन्ने जानकारी थिएन । रेमलाल र गोपाल त गुल्मीमा कालो कांग्रेस मानिन्थे ।

हामी शाकाहारी भोजनालय पुग्यौँ । माथिल्लो तल्लामा उक्लँदा पातला ३/४ जना मान्छे र भागवत् ज्ञवालीहरू बसेका रहेछन् । मलाई लाग्यो, यो के मिटिङ रहेछ ? म राजनीतिमा थिइनँ, तर चार कक्षा पढ्दादेखि नै रेडक्रसमा भने लागेको थिएँ ।

केही छिन्मा मिटिङ सुरु भयो । माइन्युट गर्न रजिष्ट्रर पनि झिकाइएको थियो । कसरी संगठन गर्ने ? आन्दोलनलाई कसरी अघि बढाउने ? आदि कुरा भए ।

होटलका मालिकसमेत रहेका हिरामणिले बीचबीचमा गिरिजाबाबु, गिरिजाबाबु भनेर बोलाउँथे । चन्द्रदाइले मरासिनीले पनि ‘त्यो बीचमा बसेकोचाहिँ नेता’ भनेर खुसुक्क चिनाइदिए । तर, मलाई खासै चासो नभएकाले बैठकको एउटा कुनामा बसेर सुनिरहेँ ।

मिटिङ सक्दा त्यस्तै साढे बाह्रजस्तो भएको थियो । त्यसपछि नेताहरूले खाना खानुभयोे । मनहरि बराल, बसन्त गौचन, ध्रुव वाग्लेसहितका नेता र केही युवा थिए टोलीमा ।

बाहिरबाट गएका सबैलाई एउटै हलमा सुत्ने व्यवस्था गरिएको थियो । साढे बाह्र बजेपछि गिरिजाबाबुलगायतका नेता सुत्नुभयो । तर राति उहाँलाई ज्वरो आएछ । । सबैले हल्लीखल्ली गरे, ‘गिरिजाबाबुलाई ज्वरो आयो ।’

हामी पनि होटलमै थियौँ । ३ बजे बिहान गुल्मीबाट नहिँडे पक्राउ पर्ने सम्भावना रहेछ । राममणि ज्ञवाली, रेवती भुसाललगायतका नेताले अर्घाखाँचीको अर्घातोससम्म लिन आउने कार्यक्रम रहेछ । यताबाट छाड्न त्यहाँसम्म जानुपर्ने भयो । भागवत् लिनसमेत गएकाले हिँड्न नसक्ने भएका थिए । चन्द्र भण्डारी, फणिन्द्र दाइ, राजन पन्त र म पु¥याउन गयौँ । यो टाठो छ, झोलासोला बोक्छ भनेर लगे होलान् मलाई । तर, खास कुरा थाहा छैन ।

त्यस दिनको कुरा सकियो । पछि म क्याम्पस पढ्न थालेपछि मात्र गिरिजाबाबु त कांग्रेसका नेता रहेछन् भन्ने थाहा भयो । मैले आई ए पास गरेँ । बिए पढ्न बुटवल बहुमुखी क्याम्पसमा आएँ । त्यहाँ तेजप्रसाद कँडेल, रवि मल्ललगायतका कम्युनिस्ट सर हुनुहुन्थ्यो । मलाई पनि राजनीतिमा चासो हुन थाल्यो ।

बुटवलमा पढ्दापढ्दै म त्रिचन्द्र क्याम्पस आएँ, बिए काठमाडौंमा नै पढ्नुपर्दछ भनेर । त्रिचन्द्रमा म नेविसंघको इकाईको सदस्य थिएँ । शंकर भण्डारी, किशोरसिंह राठौर, हरि आचार्य मभन्दा एक ब्याज सिनियर हुन् ।

बिए पास गरिसकेको थिएँ । म भलिबलको राम्रो खेलाडी थिएँ । साथीहरूले हल्ला गरे, तिमीले त पुलिसको इन्स्पेक्टरमा फाइट गरे हुन्छ । २०५० सालमा इन्सपेक्टरको भर्ना खुलेको थियो, मैले पनि आवेदन दिएँ । तर, मेरो नाम निस्किएन ।
फेरि असइमा आवेदन दिएँ, नाम निस्कियो । धेरै साथीहरूले इन्स्पेक्टरमै नाम निकाले, तर मेरो भने असइमा मात्र नाम निस्कियो ।

२०५१ सालमा फेरि मैले इन्स्पेक्टरको जाँच दिएँ । यसपालि लिखितमा त नाम निस्कियो, तर फाइनलमा निस्किएन ।
तर अइसमा त मेरो नाम निस्किएको थियो । मेरा मान्छे कोही थिएनन्, एक्लै नाम निकाल्न सकिनँ । २०५२ सालसम्म मैले तालिम सकेँ ।

पहिलो पोस्टिङ जिल्ला प्रहरी कार्यालय डँडेलधुरामा भयो । त्यहाँ २० दिनमात्र बसेको थिएँ, सरुवा भयो प्रहरी प्रधान कार्यालयमा ।

प्रधान कार्यालयबाट मलाई बालुवाटार खटाइयो, जुन बेला लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए । त्यहाँ पनि एक साता बस्न पाएको थिइनँ, पूर्वप्रधानमन्त्री गिरिजाबाबुका लागि पिएसओ (व्यक्तिगत सुरक्षा अधिकारी) चाहियो ।

१४ असार २०५३ देखि म गिरिजाबाबुसँग बस्न थालेँ । त्यहीदिनदेखि मेरो सरुवा कहीँकतै भएन, राजाको शासनकालमा गिरिजाबाबु नजरबन्दमा परेको बेला दुई महिना प्रधान कार्यालयमा तानिएँ, त्यो भन्दा अरू समय गिरिजाबाबुको सेवा र सुरक्षामा खटिएँ । निरन्तर १४ वर्ष ।

गाडीमा म र रेशम थक्सु भन्ने एकजना सहयोगी हुन्थे । गाडीमा हिँड्दा उहाँ सोध्नुहुन्थ्यो,‘तिमीहरूले कति पढेका छौ ?’ केही साथीले त पुलिसले पनि पढेको हुन्छ र ? भनेर गिरिजाबाबुसँग उल्टै सोध्थे । तर मैले बिए पास गरेको छु भन्दा उहाँ खुसी हुनुहुन्थ्यो ।

मलाई तिम्रो ‘फेबरेट सब्जेक्ट’ के हो ? भनेर पनि सोध्नुभएको थियो । मैले अर्थशास्त्र भनेर जवाफ दिएको थिएँ । उहा“ले मलाई एमए गर्नुपर्छ भन्नुभयो । मैले पढाइलाई निरन्तरता दिएँ र एमए पनि गरेँ ।

उहाँ सुरक्षामा असाध्यै संवेदनशील हुनुहुन्थ्यो । उहाले सुरक्षासम्बन्धी कुरामा हामीलाई सिकाउनु पनि हुन्थ्यो । मान्छेलाई राम्रोसँग ‘डिल’ गर, नराम्रो व्यवहार नगर भनिरहनुहुन्थ्यो ।

२०५५ सालमा जस्तो लाग्छ गिरिजाबाबुको चाइना भ्रमण तय भयो । मलाई महाराजगञ्जको घरको माथिल्लो तलामा बोलाएर सोध्नुभयो, ‘तिमी विदेश भ्रमण कहाँकहाँ गएका छौ ?’ मैले कहीँ पनि गएको छैन हजुर भनेँ । तिमी मसँग चाइना जान्छौ ? भन्नुभयो । ‘मिले त जान्छु नि हजुर’ मैले भनेँ । म गिरिजाबाबुसँगै चाइना भ्रमणमा गए ।

चाइना पुगेपछि उहाँले मलाई बेलुका बोलाएर सोध्नुभयो, ‘मैले तिमीलाई चाइना किन ल्याएको थाहा छ ?’ मैले थाहा छैन भनेँ । उहाँले भन्नुभयो, ‘एक त तिमी यहाँ घुम्छौ, देख्छौ, अर्को यहाँको सेक्युरिटीसँग अन्तरक्रिया ग¥यौ भने क्षमता विकास हुन्छ भनेर ल्याएको हुँ ।’ चाइनाकोे सुरक्षाबारे जानकारी हुन्छ र नेपालमा लागू गर्न सक्छौ भन्ने उहाँको भनाइले मलाई निक्कै प्रभाव पार्यो ।

गाडीमा चढेपछि उहाँले आज कति गते, कुन बार र कति तारिख हो भन्ने कुुरा पटकपटक सोध्नुहुन्थ्यो । गाडीमा प्रहरी छ कि छैन भन्ने निकै ख्याल गर्नुहुन्थ्यो । सुरक्षा ठीक छ भनेमात्र जाने भन्नुहुन्थ्यो । सुरक्षा व्यवस्था ठीक छैन भन्ने लागेमा कहिल्यै कतै जानुभएन ।

उहाँ सुरक्षा व्यवस्थामात्र खोज्नुहुन्नथ्यो, सुरक्षाकर्मीले खाए वा खाएनन् भन्ने पनि निकै ख्याल राख्नुहुन्थ्यो । आफ्नो सुरक्षामा खटिएका सबैले कति पढेका छन् ? परिवारमा कोको छन् ? भन्नेसम्मको जानकारी लिनुहुन्थ्यो । परिवारका सदस्यलाई बोलाएर मसँगै लिएर हिँड पनि भन्नुहुन्थ्यो ।

पछिल्लो समयमा सुरक्षामा खटिएका अरूको तुलनामा म अलि नजिक भएँ । अनि मेरा परिवारका सदस्यलाई उहा“ले बेलाबेलामा बोलाउनुमात्र भएन, एउटै जहाजमा चढाएर विराटनगरसम्म लैजानुभएको छ । म त ड्युटीमा हुन्थेँ, तर परिवारका सदस्यलाई पारिवारीक व्यवहार गर्नु हुन्थ्यो । भन्नुहुन्थ्यो,‘सुरक्षाकर्मी त मरासिनी जस्तो हुनुपर्छ ।’

इमान गुमाउनुहुन्न भन्ने पहिलो सबैभन्दा महत्वपूर्ण पाठ मैले उहाँबाट सिकेको छु । त्यस्तै कुनै पनि मान्छेलाई चिनेपछि मात्र विश्वास गर, विश्वास गरेपछि धोका नदेऊ भन्नुहुन्थ्यो उहाँ । लगनशील हुनुपर्छ भनेर त उहाँ बारम्बार भन्नुहुन्थ्यो । २०३९ सालमा तम्घारमा देखेदेखि अन्तिम अवस्थामा मण्डिखाटारमा देख्दासम्म उहा“ दृढ र लगनशील हुनुहुन्थ्यो । उमेरले रूपरङमा धेरै भिन्नता भयो होला, तर दृढता र निर्देशन दिने क्षमतामा कुनै परिर्वतन आएन ।

पहिलेपहिले त गाडीकोे अगाडि बस्नुपर्दा एसीको सितलमा निदाउँथे । तर उहाँले हरेक कुरा सिकाउनु हुन्थ्यो । तर पछि पछि उहाँले आँ गर्दा अलंकार बुझ्थे । कुरा गर्दा गर्दै त्यो मान्छे क्या, त्यो को रे भनेर अड्किनुहुन्थ्यो । मैले त त्यो त फलानो हो भनिदिन्थेँ । उहाँले हो त्यो भनेर कुरा अघि बढाउनुहुन्थ्यो । पछिल्लो समय गाडीबाट ओर्लंदा त्यो फलानो भनेपछि म नामै बताउन सक्ने भएकोे थिएँ ।

राजाको शासनकालमा भैरहवा जान खोज्दा एयरपोर्टबाट उहाँलाई फर्काइयो । मैले गिरिजाबाबु बाहिर जाने कार्यक्रम छ भनेर सेनालाई पहिल्यै सूचना दिएको थिएँ, एयरपोर्ट पुगेर पनि भनेँ, तर सेनाले जान दिएन ।

त्यसबेला उहाँ मसँग पनि रिसाउनुभयो । ‘तिमी गाडीबाट ओर्लिहाल, गइहाल । ओर्लिहाल, ओर्लिहाल’ भन्नुभयो । उहाँलाई मेरो सञ्चार कमजोरीले यस्तो भयो भन्ने लागेको रहेछ । ‘तिमीले म हिँड्ने कुरा सेनालाई खबर किन गरेनौँ ?’ भनेर पनि सोध्नुभयो । मैले सबै सूचना फलानाफलानालाई दिएको थिएँ भन्ने जानकारी दिएँ ।

तर जानकारी पाएर पनि सेनाले रोकेको होला भनेर उहाँले पत्याउनुभएन । ‘तिमीले सूचना दिएको भए त मलाई छाड्थ्यो नि भन्नुभयो । शेखरदा गाडीमा नै पछाडि हुनुहुन्थ्यो । ‘म गलत छैन,’ मैले दाबी गरेँ ।

गाडी रोकेर त्यहाँबाट नै तिम्रो आइजीपीलाई फोन गर भन्नुभयो । त्यहाँबाट आइजीपी, गृहमन्त्री पूर्णबहादुर खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गराउनुभयो । उहाँहरूले पनि रोकिएको हो भनेपछि गिरिजाबाबु मेरो गल्ती होइन भन्नेमा ‘कन्फर्म’ हुनुभयो ।

सुरक्षाकर्मी सधैँ तन्दुरुस्त हुनुपर्दछ । सक्ने भए गर्छु, नसक्ने भए हुन्न भन्नुपर्दछ भनेर पाठ पढाइरहनुहुन्थ्यो ।
आइजीसापहरूले पनि गिरिजाबाबुले भनेका काम कि हुन्छ, कि हुन्न भन्नुपर्दथ्यो । उहाँ स्ट्रेटफरवार्ड हुनुहुन्थ्यो । पुलिस कहिल्यै कमजोर हुनुहुन्न भन्नुहुन्थ्यो । कमजोर पनि पार्नुभएन जस्तो लाग्छ मलाई त ।

असइको रूपमा गिरिजाबाबुको नजिक भएँ, पछिल्लो समय इन्स्पेक्टर भएर पनि त्यही भूमिका पूरा गरेँ । मबिना कुनै पनि दिन उहाँको सवारी चलेन । जतिखेर खोज्दा पनि म उपलब्ध भएँ । म सधैँसँगै रहेँ । मेरो मात्र होइन, सुरक्षाकर्मीको टिमले उहाको सुरक्षा र सवारीलाई चुस्त राखेको थियो ।

गाडीमा हिँड्दा कथा भन्नुहुन्थ्यो उहाँ । आफ्नो संघर्षका कथा पनि सुनाउनुहुन्थ्यो । उहाँसँग यात्रा गर्दा कहिल्यै बोर लाग्दैन थियो । रमाइला र पुराना कुराहरू सुनाइरहनुहुन्थ्यो ।

डडेलधुरामा आमसभा थियो । संबोधन गर्न उहाँ जानु भएको थियो । आमसभामा ठूलो उपस्थीति थियो । त्यहाँ संबोधन गर्ने क्रममा सुनील भण्डारीले यो जिल्लाले गद्दार नेता (शेरबहादुर) जन्मायो भन्नुभयो । त्यसपछि सारा जनता उल्टियो र ढुंगा हान्न थाल्यो । मैले तानेर गिरिजाबाबुलाई हेलिकोप्टर चढाएँ, हामी सुर्खेत आयौँ । बालकृष्ण दाहाल निजी सचिव हुनुहुन्थ्यो, उहाँ पनि डँडेलधुरामै छुट्नुभयो । त्यहाँ हेलिकप्टर नै जल्ने अवस्था थियो । सुर्खेत आएपछि उहाँले किन तिमीले यसरी ल्यायौ भन्नुभयो । ‘मेरो प्रमुख काम तपाईंको सुरक्षा गर्ने हो, मेरो कर्तव्य हो, बचाएर ल्याएँ,’ मैले भनेँ । उहाँ ‘कन्भिन्स’ हुनुभयो ।

१४ वर्षसँगै बस्दा कुनै दुखदायी घटना भएनन् । म त एउटा निम्नस्तरको कर्मचारी थिएँ । उहाँले मलाई जहिले पनि व्यावसायिक बन भन्नुहुन्थ्यो ।

पछि उहाँले मलाई कुनै पनि मुलुक जाँदा छाड्नुभएन । यो भन्दा सुखद् मेरा लागि के हुन्छ ? ठूला मान्छेले धेरै ठूला चिज खान्छन् होला, धेरै राम्रो ठाउँमा सुत्छन् होला भन्ने लागेको थियो । तर १४ वर्ष उहाँ (गिरिजाबाबु) सँग बस्दा त्यस्तो कहिल्यै पाइनँ । मुलुकले नै मान्ने यति ठूलो मान्छे यति साधारण ढंगबाट बस्ने सायद कमै पाइन्छन् होला ।

सिंगापुर जानुअघि गिरिजाबाबु गंगालाल अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई एयर एम्बुलेन्सबाट सिंगापुर लाने कुरा भयो । उताबाट पाँचवटा मात्र सिट भएको एम्बुलेन्स आउने भयो । उताबाट आएका दुई र यताका दुई डाक्टर र गिरिजाबाबु जाने निर्णय भयो । तर, राति ११ बजेतिर मरासिनी जाँदैन भने म जान्नँ भनेर सबैलाई भन्नुभयो । उहाँले अड्डि नै लिनुभयो । ११ बजेपछि सिंगापुर सरकारले सिटबिना पनि एकजना मान्छेलाई बसालेर ल्याउने अनुमति दियो । म सिटबाहेक भुइँमा नै बसेर सिंगापुर गएँ ।

मरासिनी, बिरामी परँ भने मलाई लौरोसौरो टेक्न नदिनू है भन्नुहुन्थ्यो । कमजोर भएर हिँड्नुहुन्न भन्ने उहाँको धारणा थियो । अन्तिमतिर वि लिन पास्कोसँग भेट्दा मात्रै अक्सिजन लगाएर विदेशीहरूलाई भेट्नुभएको, नत्र कहिल्यै अक्सिजनामा भेट्नुभएन ।

उहाँ लगाउनमा पनि निकै सौखिन हुनुहुन्थ्यो । कपडाहरू छोएर पनि थाहा पाउनुहुन्थ्यो । शेरबहादुर देउवालगायतका नेताहरू विदेश जाँदा कपडा ल्याइदिनुहुन्थ्यो । परफ्युममा उहाँको असाध्यै रुचि थियो । परिवारका सदस्यहरूसँग असाध्यै रमाउनुहुन्थ्यो ।

माधव नेपालको नेतृत्वमा सरकार गठन भएपछि गिरिजाबाबुलाई भेट्न आउनेहरूको क्रम घटेर गयो । मान्छेहरू आएनन् । मान्छेहरू किन आउन छाडे भन्ने खुल्दुली उहाँमा भएको थियो । उहाँलाई लागेको थियो, कमजोर स्वास्थ्यका कारण यस्तो भएको हो, दुईपटक मात्र देशदौडाहा गर्न पाए यस्तो हुँदैन थियो भन्नुहुन्थ्यो ।

२०६६ साल चैत ६ गते शुक्रबार बिहान नै उहाँलाई म बाँच्दिनँ भन्ने लागेको थियो । उहाँले बिहानदेखि नै कतै नजाऊ है भन्नुभएको थियो । साँझ ६ बजे प्रधानमन्त्री नेपालसँग उहाको कुराकानी भयो, तर उहाँले बोलेको कुरा कसैले पनि बुझेन । बोली स्पष्ट नबुझेपछि प्रधानमन्त्री पनि अलमल्ल पर्नुभयो ।

मैले कान थापेर सुनेँ, गिरिजाबाबुले भन्नुभयो, ‘असाध्यै राम्रोसंग चलाउनुहोला, समस्या आउन नदिनुहोला, स्ट्रङ डिसिजन गर्नुहोस् ।’

त्यसपछि सुजाता दिदी र कृष्णप्रसाद सिटौलासँग कुरा गर्नुभयो । सिटौला दाइ तिर फर्केर भन्नभुयो, ‘मिलेर गर्नु, मिलेर जानु आवश्यक छ ।’

राति १२ बजे मरासिनी, मरासिनी, भनेर बोलाउनुभएको थियो । त्यो नै उहाँले मलाई बोलाउनुभएको अन्तिमपटक हो । त्यसपछि उहाँ बोल्नुभएन ।

२०६६ साल चैत ७ गते शनिबार बिहान पाँच बजे मैले गिरिजाबाबु, तपाईंलाई ‘ट्वाइलेट’ लागेको छ ? भनेँ, उहाँले आँखा खोल्नुभयो, ‘रेसपोन्स’ गर्नु भएन ।

पछि डाक्टरहरू जम्मा हुनुभयो । डा. मानबहादुर केसीले अबको एक घण्टापछि गिरिजाबाबुको निधन हुँदै छ भनेर मलाई र शेखरजी (शेखर थापा) लाई भन्नुभएको थियो । डाक्टरहरूले अक्सिजन, सेचुरेसन, हार्टबीट लिइरहनुभएको थियो । केसी डाक्टरसाबले भन्नुभयो, ‘अब तपाईंहरू कतै नजानुहोला ।’

डाक्टरले भनेपछि उहाँको सबै लुगा फेरिदिएका थियौँ । गिरिजाबाबुले अचेत अवस्थामै सास त फेरिरहनुभएको थियो तर हेर्दाहेर्दै उहाँका सबै गतिविधि शून्य भए । डाक्टरले उहाँको निधन भएको घोषणा गरे । हुन त मेरो बुबा २०६० सालमा नै बित्नुभएको हो । तर, म अहिले टुहुरो भएको छु ।

प्रस्तुति : खिला कार्की