देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोबाइलको गुणस्तर मापदण्ड पूरा गर्न सबै टेलिकम असफल

देशान्तर

काठमाडौं । मोबाइल सेवाको गुणस्तर मापदण्ड पूरा गर्न सबै टेलिकम कम्पनी असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको गुणस्तरका सम्बन्धमा गरेको परीक्षणमा कलतर्फ सबै कम्पनी असफल भएका हुन् ।

प्राधिकरणले भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्ग क्षेत्रमा गुणस्तर परीक्षण गरेको थियो । चार स्थानमा भएको गुणस्तर परीक्षणमा कलतर्फ सबै कम्पनी प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्न असफल भएको छन् । प्राधिकरणका अनुसार माघ पहिलो र दोस्रो साता नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको ड्राइभ टेस्ट गरिएको थियो ।

ड्राइभ टेस्ट अर्थात् प्राधिकरणले चलायमान सवारीसाधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य–मुख्य सेवा मानकको तथ्यांक संकलन गरिएको हो ।

यसमा कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकको गुणस्तरमापन एकै साथ गरिन्छ । हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी, थ्रीजी र टूजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुने गरी उपकरणमा व्यवस्था गरिन्छ ।

उक्त ड्राइभ टेस्टअनुसार सबैभन्दा खराब मोबाइल फोन सेवा स्मार्ट टेलिकमको देखिएको छ । स्मार्ट टेलिकमसहित अन्य दुई टेलिकमको मोबाइल सेवा परीक्षण तीन फरक स्थानमा गरिएको थियो जसमा सबैभन्दा खराब सेवा स्मार्ट टेलिकमको देखिएको प्रतिवेदनले देखाएको छ ।

भक्तपुर, पोखरामा र बागलुङमा गरिएको ड्राइभ टेस्टको प्रतिवेदनअनुसार बागलुङमा कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा तीनवटै कम्पनी प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समयको मापदण्डमा असफल भएका छन् ।

प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय र सफलताको दर ९९ प्रतिशत वा त्योभन्दा बढी रहेकामा स्मार्टको ६५.७१ प्रतशत, एनसेलको ९४.३३ प्रतिशत र नेपाल टेलिकमको ९६.१५ प्रतिशत रहेको छ । तर आफैँ फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा भने एनसेल सफल भएको छ ।

बागलुङमा भएको परीक्षणमा आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा एनसेलको सबैभन्दा थोरै २ प्रतिशत छ । त्यसमा सबैभन्दा धेरै स्मार्ट टेलिकमको छ । स्मार्टको फोनकल बिच्छेद हुने दर ६.५२ प्रतिशत र नेपाल टेलिकमको ४ प्रतिशत छ । यसका लागि प्राधिकरणले २ प्रतिशतको मापदण्ड तोकेको थियो ।

भक्तपुरमा भएको परीक्षणमा कल सफलताको दर ९९ प्रतिशत वा सोभन्दा माथि हुनुपर्नेमा स्मार्टको केबल ६९.५२ प्रतिशत छ । एनसेलको ९५.१४ प्रतिशत र नेपाल टेलिकमको ९३.४८ प्रतिशत छ । भक्तपुरमा पनि तीनवटै कम्पनी परीक्षणमा असफल भएका छन् । पोखरामा भने आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दरको मापदण्डमा भने तीनवटै कम्पनी उत्तीर्ण भएका छन ।

तर, कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा सबै कम्पनी फेल भएको प्रतिवेदनमा उल्लेख छ । पोखरामा आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा तीनै कम्पनीको शून्य प्रतिशत भएको प्रतिवेदनमा छ ।

कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा भने स्मार्टको ९२.८६ प्रतिशत, एनसेलको ९५.७१ प्रतिशत र नेपाल टेलिकमको ९८.७१ प्रतिशत छ । पोखरामा सबैभन्दा उत्कृष्ट नेपाल टेलिकम देखिएको छ ।

प्राधिकरणले पृथ्वी राजमार्गमा भने नेपाल टेलिकम र एनसेलको मात्रै मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो । जहाँ फोन कलको मापदण्डमा दुवै कमजोर देखिएका छन् । पृथ्वी राजमार्गमा कल स्थापना हुन लाग्ने समय र सफलताको दर एनसेलको ७४.०५ प्रतिशत छ भने नेपाल टेलिकमको ८३.४७ प्रतिशत छ ।

यस्तै आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दर एनसेलको ८.२५ प्रतिशत छ भने नेपाल टेलिकमको ६.९३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यो दर परीक्षणका लागि हरेक कलको अवधि दुई मिनेटराखिएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा टेलिकम अपरेटरहरूको इन्टरनेट सेवाको पनि परीक्षण गरिएको छ। इन्टरनेट सेवाको परीक्षणमा भनेसेवा प्रदायकको परिणाम सकारात्मक देखिएको छ । प्राधिकरणले इन्टरनेटमा वेबपेजबाट फाइल डाउनलोड हुने सफलताको दर, पिंग गर्न लाग्ने समय, डाउनलोड डाटको बहाव, अपलोड डाटाको बहावका आधारमा परीक्षण गरेको थियो ।

त्यसमध्ये पिंग गर्न लाग्ने समयमात्रै प्राधिकरणले मापदण्ड तोकेको देखिन्छ । अन्यमा मापदण्ड उपलब्ध नभएको प्रतिवेदनमा उल्लेख छ । पृथ्वी राजमार्गमा गरिएको नेपाल टेलिकम र एनसेलको परीक्षणमा नेपाल टेलिकम मापदण्डअनुसार नै वेबसाइट पिंग गर्न लाग्ने समय र सफलताको दरमा उत्तीर्ण भएको छ । प्राधिकरणले पिंग गर्न लाग्ने समय २५० मिलिसेकेन्डको मापदण्ड तोकेको छ ।

त्यसमा नेपाल टेलिकमको पिंग गर्न लाग्ने समय मिलिसेकेण्ड २४८ छ भने एनसेलको ३१७ मिलिसेकेन्ड छ । यस्तै बागलुङमा नेपाल टेलिकम र एनसेल दुवै मोबाइल इन्टरनेट सेवामा असफल भएका छन् । बागलुङमा टेलिकमको पिंग गर्न लाग्ने समय ३८६ मिलिसेकेन्ड छ भने एनसेलको ७६३ मिलिसेकेन्ड छ ।

पृथ्वी राजमार्ग र बागलुङ स्मार्टको सेवा उपलब्ध नभएको उक्त क्षेत्रमा भएको परीक्षणमा स्मार्टको तथ्यांक उपलब्ध नभएको प्राधिकरणले जनाएको छ ।