देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व श्रवण शक्ति दिवसमा नर्भिकले निःशुल्क उपचार सेवा दिने

देशान्तर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ । यस वर्षको विश्व श्रवण शक्ति दिवस आइतबार (फागुन १९ गते) “आफ्नो श्रवण शक्ति जाँचौ” भन्ने नाराका साथ मनाइदैछ ।

सो दिन नर्भिकको नाक–कान–घाँटी विभागले विहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने भएको छ । सेवा प्राप्त गर्नका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने र सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा. डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, वरिष्ट श्रवण विशेषज्ञ विद्वान भूषाल लगायतको टोली कार्यरत रहने नर्भिकले जनाएको छ ।

सो दिन श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा समेत निःशुल्क प्राप्त हुने जनाइएको छ । निःशुल्क परीक्षण सेवा प्राप्त गर्नेहरूमध्ये यदि कसैलाई श्रवण यन्त्रको आवश्यकता परेमा उक्त यन्त्र २० प्रतिशत छुटसहितको दर÷रेटमा प्राप्त हुने र सेवाग्राहीहरूमध्ये यदि कसैको शल्यक्रियात्मक उपचार आवश्यक परेमा मार्च महिनाभित्रै शल्यक्रिया गराउँदा विरामीले शल्यक्रिया शुल्कमा २५ प्रतिशत छुट प्राप्त गर्ने प्रावधान राखिएको नर्भिकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विकासशील र अल्प विकसित मूलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका विविध प्रदूषणहरुः जस्तै ध्वनि प्रदुषण, वायु प्रदूषण, कोलाहल, विविध संक्रमणहरु, आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आउन थालेको छ । त्यसमा पनि अत्यधिक ध्वनिसहितका कल–कारखाना, विमानस्थल वरपरका वासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयरफोन प्रयोग गर्ने वानी, चर्को आवाजसहितको मनोरञ्जन र कानका त्यस्ता केही संक्रमणहरू जसले मानिसको श्रवण शक्तिमा ह्रास ल्याउने मात्रै नभएर बहिरोपन निम्त्याउने समेत सम्भावना रहन्छ ।

तसर्थ समयमै गरिने श्रवण शक्ति ह्रास सम्बन्धी समस्याको पहिचान, निदान एवम् उपयुक्त उपचार श्रवण शक्ति जोगाउन वा बहिरोपनबाट बचाउन निकै महत्वपूर्ण हुनसक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा “आफ्नो श्रवण शक्ति जाँचौ” राखेको हुनुपर्छ । हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड त बालबालिका मात्रै रहेका छन् ।

नेपालको सन्दर्भमा आधिकारिक तथ्यांक उपलब्ध नभए पनि सो संख्या अत्यधिक भएको अनुमान छ । मानिसको श्रवण शक्ति ह्रास हुनुका प्रमुख कारणहरूमा खोपद्वारा नियन्त्रण गर्न सकिने केही त्यस्ता संक्रमणहरु जस्तैः दादुरा, गलगाँड र रुवेला आदि छन् भने केही प्रकार क्षयरोग र मलेरियाविरुद्धका औषधिहरु, चर्को आवाज निकाल्ने कल–कारखानाहरु, लगातार चर्को स्वरमा सुनिने/गरिने मनोरञ्जनात्मक क्रियाकलापहरू मुख्य रहेका छन् ।

श्रवण शक्ति ह्रास हुँदा मानिसलाई विविध कठिनाईहरु आइपर्ने हुन्छ । जस्तैः व्यक्तिको व्यक्तिगत सञ्चार क्षमतामा ह्रास, पारिवारीक र सामाजिकीकरण, सिक्ने क्षमतामा कमी, काम र जीवनप्रतिको उत्साहमा कमी परिवार/समाजमा एक्लोपनको महसुस हुने आदि रहेका छन् ।

त्यस्तै वयष्क मानिसहरूको श्रवण शक्तिको ह्रासले उनीहरूको व्यवहारिक पक्ष वा संज्ञानात्मक गिरावट निराशापन र मस्तिष्कलाई कमजोर पार्ने जस्ता खतरनाक समस्याहरूको शिकार हुनसक्ने जोखिम बढाइदिने हुन्छ ।

समयमा रोगको पहिचान, निदान एवम् उपचार गर्ने हो भने श्रवण शक्ति ह्रासका धेरै समस्याहरु निवारण गर्न सकिन्छ ।