देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तरप्रदेश परिषद्को बैठकमा प्रस्तुत हुने कार्यसूचीबारे आज छलफल हुँदै

देशान्तर

काठमाडौं । मंसिर २३ गते बस्ने अन्तरप्रदेश परिषद्को बैठकमा प्रस्तुत हुने कार्यसूचीबारे आज छलफल हुने भएको छ । बैठकमा प्रस्तुत हुने कार्यसूचीबारे आज दिउँसो छलफल हुने प्रधानमन्त्री कार्यालयका संघीयता हेर्ने सचिव लक्ष्मणप्रसाद मैनालीले बताउनुभयो ।

अन्तरप्रदेश परिषद्को बैठक मङ्सिर २३ गते बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परिषद्को बैठक बस्ने तयारी पूरा भएको जनाइएको छ । संविधानको धारा २३४ अनुसार संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधानका लागि अन्तरप्रदेश परिषद् गठन गरिएको छ । परिषद्को यो पहिलो बैठक हो ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने परिषद्मा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य रहनुभएको छ । प्रदेश सरकारले संघीय सरकारप्रति गरिरहेको गुनासालाई समाधान गर्न बैठक बोलाइएको हो । प्रदेशमा ऐन कानुन बनाउनुदेखि कर्मचारी तथा अधिकार बाँडफाँटको विषयलाई लिएर प्रदेश सरकारले संघीय सरकारसमक्ष गुनासो गर्दै आइरहेका छन् ।

परिषद्को बैठकमा सदस्यबाहेक संघका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्रीको कार्यालयका सचिव समेत उपस्थिति रहने सचिव मैनालीले जानकारी दिनुभयो ।