देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिकित्सकसंघको आन्दोलन एकसाता स्थगित

देशान्तर

काठमाडौँ । आन्दोलरत नेपाल चिकित्सक संघ र सरकारबीच ३ बुँदे सहमति भएको छ । सहमति भएसँगै संघले एकसाताका लागि आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

स्वास्थ्य मन्त्रालयसँग भएको वार्तामा दुवै पक्षबीच सहमति भएको हो । आगामी सोमबारसम्म पनि मुलुकी अपराध संहिताको संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए मंगलबारदेखि पुनः आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रने संघले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले संसोधन प्रस्ताव टेवल गर्ने प्रतिबद्धता जनाएपछि आगामी सोमवार सम्मका लागि आन्दोलन कार्यक्रम स्थगित गरिएको चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

सहमति कार्यान्वयन नगरे आगामी मंगलवारदेखि देशव्यापी आकस्मिक वाहेकका स्वास्थ्य सेवा ठप्प रहने पुर्वघोषित कार्यक्रम जारी रहने भएका छन ।

संघका सह–कोषाध्यक्ष डा.प्रकाश बुढाथोकीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव देशबाहिर रहेको र आगामी शुक्रवार मुलुक फर्किने भएकाले प्राविधिक समस्या बुझी सरकारलाई सोमवार सम्मको समय दिएको बताए ।

मुलुकी अपराध संहिताका उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । तीन बुँदे सहमतिमा मुुलुकी अपराध संहिताको दफा २३० को उपदफा २ खारेज गर्ने उल्लेख छ ।

यो उपदफामा अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानव अंगलाई कुनै खास प्रतिकुल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा, चिरफार गरी उपचार गर्नमा बाधा पुग्नेछैन भनी उल्लेख गरिएको छ ।

यस्तै परिच्छेद १९ मा रहेको सम्पूर्ण सजाय तथा दण्ड सम्वन्धित काउन्सिलको छानविन समितिको प्रतिवेदनका आधारमा निर्णय गर्ने र उजुरी दिने हद म्याद ६ महिना कायम गर्ने र डिउटीमा रहेका बेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा गालीगलौज, हातपात, तोडफोड, आगजनी गर्नेलाई विना धरौटी हिरासतमा राख्ने सहमति भएको छ ।