देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. केसीलाई आज काठमाडौं ल्याउने सरकारको तयारी, संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी, नेकपाले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउने निर्णय गरेको छ । डा. केसी अनशनरत कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले केसीको उपचार अब आफूहरुले गर्न सक्ने अवस्थामा नरहेको बताए लगत्तै गएराति बसेको नेकपा सचिवालयको आकश्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

जुम्लामा २० दिनदेखि अनशनरत डा. केसीको जीवनरक्षाका लागि तत्कालै उहाँलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने निर्णय गरेको हो । डा. केसीलाई काठमाडौँ ल्याउने र उहाँका माग बारे खुल्ला छलफल गर्ने निर्णय नेकपाले गरेको हो । चिकित्सा शिक्षा विधेयक अध्यायादेश अनुसार नै हुनु पर्नेसहितका माग गरेर डा. केसी अनशनमा हुनुहुन्छ ।

डा. केसीसँग सरकारले वार्ताको प्रयास गरेका छन् तर सहमति जुट्न सकेको छैन । डा. केसी पक्षले कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै हिजो मन्त्रीस्तरमा मात्र वार्ता गर्ने बताएका थिए ।

बालुवाटारमा नेकपाको आकश्मिक बैठक बसेर डा. केसीको स्वास्थ्य अवस्थाबारे छलफल भएको र उहाँलाई काठमाडौँ ल्याउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका नेता सहभागी बैठकले केसी समर्थकसँग त्यसबारे तत्काल समन्वय गर्ने निर्णय गरेका छन् ।
डा. केसीलाई आज बिहान हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी छ ।

यसैबिच सरकारले केसीलाई ल्याउनेबारे औपचारिक जानकारी दिन र उहाँका माग बारे धारणा राख्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज विहान ९ बजे पत्रकार सम्मेलन गर्दैहुनुहुन्छ ।

संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने निर्णय गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने र डा.केसीसँग भएको सहमतिका आधारमा विधेयक आउनु पर्ने कांग्रेसको अडान रहेको छ ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच जारी छलफलमा संसद अवरुद्ध राख्ने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले देशान्तरलाई जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि कांग्रेसले संसद अवरुद्ध गर्ने र अन्य रणनीतिको विषयमा छलफल जारी रहने बताउनुभयो ।

बैठकमा पार्टीको विधान मस्यौदा समितिका विषयमा पनि छलफल भइरहेको छ । मंगलबार मात्रै नेपाली कांग्रेसले सडक आन्दोलनसहितका कार्यक्रम सार्वजनिक गरेको थियो । केसीको समर्थनमा नेपाल विद्यार्थी संघले केही दिन यता प्रदर्शनसमेत गर्दै आएको छ ।

देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प
नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै संघले देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने घोषणा गरेको हो ।

संघले सरकारी वार्ता टोलीले डाक्टर केसीसँग वार्ता गर्न भन्दा पनि डाक्टर केसीलाई काठमाडौं ल्याउने प्रयास भएको आशंका व्यक्त गरेको छ । चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।

सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने संघले चेतावनी दिएको छ ।
प्राध्यापक संघ आन्दोलनमा
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल पनि डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै आजदेखि आन्दोलनमा उत्रीने भएको छ । संघका अध्यक्ष जगत तिमिल्सिनाले देशान्तरसंग कुरा गर्दै सरकारको अधिनायकवाद चरित्र विरुद्ध आजदेखि आन्दोलनको थालनी गरेको बताउनुभयो ।
उहाँले सरकारको अधिनायकवाद रवैयाबाट जनता आजित भएकोले बाध्ये भएर आफुहरु आन्दोलनमा होमीनु परेको बताउनुभयो ।

बन्दको विपक्षमा एशोसिएसन
नीजि मेडिकल र डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल स्वास्थ्य सस्था बन्दको विपक्षमा उभिएको छ ।
एशोसिएसनका महासचिवद्वारा एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा गर्न लागिएको बन्दलाई डटेर अवज्ञा गर्न आह्वान गरिएको छ ।