देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा गैरकांग्रेसी चरित्र प्रवेश गरिरहेको छ

देशान्तर

कांग्रेस बचाउन, कांग्रेस जगाउन र कांग्रेसलाई बलियो बनाउनका लागि म अगाडि बढ्छु । पार्टीको नेतृत्व वा सभापतिजीको कार्यशैलीमा केही न केही मात्र हो सुधार हुने हो । केही सुधार हुनुहुन्छ कि भन्ने आशा यो सभापतिहरूको भेलापछि देखिएको छ । तर नानीदेखि लागेको बानी चटक्कै सुधार हुन्छ भन्ने छैन । अब हामी सबैले मिलेर कांग्रेसलाई कर्मशील कांग्रेस बनाउने हो ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सम्पन्न भयो । यो भेलाको सन्देश के हो ?

भेलाको सबैभन्दा ठूलो उपलब्धि भनेको, नेपाली कांग्रेस किन कमजोर भयो, हार किन बेहोर्नुप¥यो भन्ने विषयमा सभापतिहरूले खुलेर बोल्नुभयो । त्यसैगरी केन्द्रीय सभापतिले पनि केही न केही कमजोरी भएको हो भनेर स्वीकार गर्नुपर्ने अवस्था आयो । अब कांग्रेसलाई एकता गरेर अब विपक्षीहरूसँग प्रतिस्पर्धामा जानुपर्छ भन्ने सन्देश छ । यस्तै एकता होइन सुधारसहितको एकता र परिवर्तनसहितको एकता भन्ने सन्देश सभापति भेलाको सन्देश हो । यो जिल्ला सभापतिहरूको भेलाले अन्योलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरूलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरूले आफ्ना कुराहरू निर्धक्क राख्ने साहस पनि देखाउनु भएको छ । नैतिक साहस पनि सभापतिहरूले देखाउनु भएको छ । सभापतिहरूले पार्टी सुधारका केही विषयहरूलाई उठाउनुभयो । जिल्ला सभापतिहरूको भेलाले एउटा पोजिसन बनाएको छ । जिल्ला सभापतिहरूको भेला नेपाली कांग्रेसमा वैधानिक र कार्यकारी थलो होइन त्यही कारणले सभापतिहरूको भेलामा निर्णयहरू भएका छैनन् । भेलाले केन्द्रीय समितिलाई केही सुझाव दिएको छ ।

उसो भए सभापतिहरूको भेलाबाट कांग्रेसमा सुधार र परिवर्तनसहितको एकता हुन्छ भन्नेमा तपाईं पनि आशावादी हुनुभयो ?

पार्टीको नेतृत्व वा सभापतिजीको कार्यशैलीमा केही न केही मात्र हो सुधार हुने हो । केही सुधार हुनुहुन्छ कि भन्ने आशा यो सभापतिहरूको भेलापछि देखिएको छ । तर नानीदेखि लागेको बानी चटक्कै सुधार हुन्छ भन्ने छैन । अब हामी सबैले मिलेर कांग्रेसलाई कर्मशील कांग्रेस बनाउने हो । मैले सभापतिहरूको भेलाको समापनमा नै भने, कांग्रेस बनाउने मेची महाकाली अभियान लिएर हिँड्छु । पार्टीमा सुधार र परिवर्तनसहितको एकता पनि होस् म त्यो चाहन्छु । एकताको प्रयासमा केही ढिला भयो भने पनि कांग्रेस बचाउन, कांग्रेस जगाउन र कांग्रेसलाई बलियो बनाउनका लागि म अगाडि बढ्छु । अब कांग्रेसलाई अहिलेको अवस्था भनौं वा यस्तै अवस्थामा राख्न हुन्न भन्ने जिल्ला सभापतिहरूको भेलामा कुरा उठेको छ । अब अगाडि बढाउने हो कांग्रेसलाई ।

भेलामा सभापतिहरूले नयाँ विधानको मस्यौदाका सम्बन्धमा पनि सुझाव दिनुभएको छ । विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरूलाई पनि समावेश गराउने प्रस्ताव गर्नुभएको छ । अब विधान मस्यौदा समिति मात्र होइन अन्य विभागहरू, अनुशासन समिति, निर्वाचन समिति पनि तत्काल बनाउनु पर्नेछ । यी सबै काम अब विधि र विधानअनुसार सहमतिका आधारमा हुनुपर्छ । हाम्रो विधानमा प्रदेश समिति बनाउने भन्ने छ । प्रदेश समिति बनाउनका लागि सम्बन्धित प्रदेशका महाधिवेशन प्रतिनिधिहरूको सम्मेलनले बाँकी कार्यकालका लागि प्रदेश समिति बनाउने गरी काम अब अगाडि बढाउनुपर्छ । अब छिट्टै प्रदेश अधिवेशनहरू हुनेछन् ।

पार्टी एकताबद्ध भएको सन्देशसहित कांग्रेस जगाउने र कांग्रेस बचाउने तपाईंको अभियानमा सभापति पनि सँगै हुनुहुन्छ कि हुन्न ?

सबैभन्दा पहिलो कुरा भनेको राजनीतिमा कम्प्लिट एकता हुँदैन । राजनीति यस्तै चिज हो । राजनीतिमा भिन्न मत, भिन्न विचार रहिरहन्छ । अझ नेपाली कांग्रेसमा अहिलेको अवस्था छ, त्यसले केही समस्या पार्छ नै । अहिले कांग्रेसमा गैरकांग्रेसी चरित्र प्रवेश गरिरहेको छ । अहिले यो चरित्रलाई हामीले जरैबाट उखेलेर फाल्न पनि सकिरहेका छैनौं । तर यो जस्तोसुकै होस्, मेलमिलाप अगाडि बढ्दै जान्छ । तर अब कांग्रेस बचाउने र जगाउने अभियान थाल्न आवश्यक छ, अब ढिला हुन लाग्यो भनेर मैले जिल्ला सभापतिहरूको सम्मेलनमा घोषणा गरेको हुँ । यसको ठूलो अर्थ छ । म त्यो अभियानमा सवै साथीहरूलाई साथमा लिएर जनताको बीचमा जाने हो । जनताको बीचमा एउटा सन्देश लिएर जाँदा ठूलो अर्थ हुन्छ । अझै पनि कांग्रेससंग आकर्षण छ । म आफैं कर्णाली प्रदेशको सिञ्जामा पुग्दा त्यति ठूलो आमसभा भयोे । त्यसले अझै पनि कांग्रेसप्रति आकर्षण जनतामा छ भन्ने देखाउँछ । त्यही भएर मैले कांग्रेस जगाउने र कांग्रेस बचाउने अभियान लिएर हिमाल, तराई, पहाड सबैतिर जाने घोषणा गरेको हुँ ।

कांग्रेसमा गैरकांग्रेसी चरित्र हावी भएको छ भन्नुभयो, यो कतापट्टि इंगित गर्नुभएको हो ?

कांग्रेसमा गैरकांग्रेसी तत्ब हावी भएको छ । नेतृत्वको वरपर गैरकांग्रेसी चरित्र हावी भएको छ । यो कसैप्रति इंगित होइन । हामी कांग्रेसीहरू प्रजातान्त्रिक समाजवादी हौं । हाम्रो चरित्र समाजवादी भयो कि भएन ? हामी जनतामा विश्वास गर्ने, आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौं । आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टीका नेता, कार्यकर्ता जनताको स्वार्थसँग कति जानकार छौं ? गैरकांग्रेसी चरित्र भनेको यही हो । हामीसँग समाजवादी चरित्र पनि भएन, जनताको स्वार्थसँग कांग्रेसको स्वार्थ जोड्ने चरित्र पनि भएन । आर्दश सिद्धान्त र कांग्रेसको इतिहासलाई सम्झनेभन्दा सत्ता र शक्तिलाई दुरुपयोग गर्ने चरित्र बढी देखिएको छ । यो भनेको गैरकांग्रेसी चरित्र हो । यसबाट कांग्रेसलाई मुक्त गर्नुछ । जुनसुकै सत्ताको वरिपरि पनि यस्तो सत्ता र शक्तिलाई दुरुपयोग गर्ने तत्वहरू हुन्छन् । निहित स्वार्थ भएका मान्छेहरू सत्ता र शक्तिको वरपर झुम्ने गर्दछन् । अहिले भनेको कांग्रेसलाई यस्तै निहित स्वार्थीहरूको भीडबाट मुक्त गर्नुछ । यो सत्ताको दोष हो ।

तपाईंले कांग्रेस बचाउने र कांग्रेस जगाउने अभियान लिएर देशभर जाने घोषणा गर्नुभन्दा अहिले संसद्मा कांग्रेस बलियो बनाउनुपर्ने होइन र ?

नभएको कुरा खोजेर पाइँदैन । संसद्मा पार्टी बलियो होला भन्ने धेरै आशा छैन । हाम्रो अवस्था कमजोर भएर खुस्केको छ । पहिलो म दलको नेता भएको अवस्थामा संसद्बाट ठूलो धक्का दिएका हांै । अब जनतालाई साथ लिएर कांग्रेसलाई अगाडि ल्याउने हो । संसद्मा संख्या पनि कम छ, नेतृत्व पनि कमजोर भएको छ । संख्यामात्रै ठूलो कुरा होइन । सरकारका हरेक गल्तीमा विपक्षी बेञ्चबाट खबरदारी गर्ने नेतृत्व हुनुपर्छ । सरकारका गलत कदमलाई रोक्न सक्नुपर्छ । म दलको नेता हुँदा माओवादी नेतृत्वको सरकारले नेपाली सेनाको सेनापति चलाउँदा संसद्बाट प्रतिवाद गरेका थियौं । संख्या त त्यो बेला पनि कमजोर थियो । संख्या मात्र होइन क्वालिटी पनि हुनुप¥यो । साथीहरू बोल्ने पनि छन् तर नेतृत्व कमजोर भयो । मैले सोचेअनुसारको भूमिका संसद्मा भइरहेको छैन । नेतृत्वले नै भूमिका देखाउनु प¥यो ।

तपाईंले भनेको गुटबन्दी अन्त्य र ऊर्जावान कांग्रेस बनाउन जिल्ला सभापतिको भेलाले सहयोग ग¥यो त ?

उकुसमुकुसको अवस्था थियो । नेताहरूको अगाडि वास्तविक कुरा भन्न हिच्किचाउने अवस्था थियो । यो भेलाले एउटा सहज वातावरण निर्माण गरेको छ । आफूलाई लागेको कुरा निर्धक्कसँग भन्ने सहज अवस्था बनायो । पार्टीको तल्लो तहमा भएका कुरालाई सभापतिजीहरूले गम्भीरतापूर्वक र निर्धक्क भएर भन्नुभएको छ । यथास्थितिमा हामी अघि बढ्न सक्दैनौं । नयाँ नीति, नयाँ सोच कायम नगरी यही शैली र यही नेतृत्वले अगाडि जान सक्ने अवस्था छैन । केन्द्रीय अधिवेशन आउन अझै दुई वर्ष बाँकी छ । यो अवधिमा बाहिर बसेर छलफल गरेर मात्र हुँदैन, सामाजिक सञ्जालमार्फत धारणा राखेर हुँदैन, पार्टीभित्र पनि छलफल गर्न आवश्यक छ भनेर भेला आयोजना गरिएको हो । पार्टी नेतृत्वलाई गल्ती कहाँ भयो, कहाँ चुक्यौं भन्ने महसुस भएको छ । कांग्रेस बलियो नभई हाम्रो भविष्य छैन र कांग्रेसलाई यथास्थितिमा छाड्न पनि सक्दैनौं । अब कांग्रेस नयाँ ढंगबाट अघि बढ्छ ।

हेटौंडा भेलामार्फत नेतृत्वलाई २१ बुँदे महत्वपूर्ण सुझाव दिइएको छ । ती सुझाव कार्यान्वयन हुनेमा आशावादी हुनुहुन्छ ? किनकि यसअघि तपाईंहरूले यस्ता सुझाव सुनेको नसुन्यै गर्नुभएको थियो ?

नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक होला, जिल्ला सभापतिहरूले यति धेरै खुलेर धारणा राखेको । साथीहरूले अब पनि नबोले हुँदैन भन्ने भाव देखाउनुभएको थियो । बिरालाको घाँटीमा कस्ले घण्टी बाँध्नेभन्दा सभापतिहरू अघि सरे । कार्यक्रम राम्रो भएको छ, प्रभावकारी भएको छ । सभापतिहरूले दिएको सुझावलाई गम्भीरतापूर्वक लिनुपर्छ । पार्टीलाई निकास दिन एकताबद्ध बनाउन गुटबन्दीको अन्त्य गर्न धेरै सुझाव दिनुभएको छ । सभापतिहरूको भेलाका सुझावलाई पार्टी नेतृत्वले मनन् गरे पार्टीमा एकताको आधार बन्छ ।

वर्तमान सरकारप्रति तपाईं अलि बढी नै आक्रामक हुनुभएको छ, किन ?
मैले सधैं भनेको छु, साम्यवाद भन्ने गरेको छु, उहाँहरूले, कम्युनिजम भन्नुभएको छ । मैले भनेको छु, कम्युनिजम ल्याएर हेर्नुस्, साम्यवाद ल्याएर हेर्नुस्, के हो कालमाक्र्सले देखेको सपना, के हो कार्लमाक्र्सले देखेको समाज कस्तो हो ? अहिले नेपालका कम्युनिस्टहरू माक्र्सले देखेको समाज, माक्र्सले देखेको साम्यवाद के हो ? हामी पनि हेरांै भनेको छु । माक्र्सवाद वा कम्युनिजम भनेको वर्गविहीन समाज हो तर नेपालका कम्युनिजम शासनमा वर्गविहीन समाज बनाउँछन् कि पक्षपाती समाज जन्माउँछन् भन्ने मलाई हेर्न मन छ । आज कम्युनिजम ल्याउँछु भन्ने कम्युनिस्टहरू वर्गविहीन समाज होइन, पक्षपाती समाज बन्दैछ । प्रशासनलाई पार्टीप्रति कमिटमेन्ट गराउन लागेका छन् । यिनीहरूको माक्र्सवादका विकृतिहरू बोकेर हिँडेका छन् । नेपालका कम्युनिस्टहरू शुद्ध माक्र्सवादी पनि होइन । त्यही कारणले माक्र्सवाद साम्यवाद वा कम्युनिजम होइन यहाँ एउटा पक्षपाती शासन व्यवस्था लाज्दैछन् । कम्युनिस्टहरूले पक्षपातको शासन सुरु गर्दैछन् । यहाँ माक्र्सवाद, साम्यवाद जनवाद केही होइन पक्षपातको शासन सुरु हुँदैछ । गाउँगाउँमा कम्युनिस्टहरू पक्षपातको शासन सुरु गरेका छन् । गाउँगाउँमा शिक्षकहरू माथि पक्षपात सुरु भएको छ । बजेट विनियोजनमा पक्षपात सुरु भएको छ । नेपालमा कम्युनिस्ट शासन होइन पक्षपाती शासनको सुरुवात भएको यो पक्षपातको राजको विरुद्धमा कांग्रेसले जेहाद छेड्नुपर्छ । साम्यवादतर्फ अगाडि बढे त राम्रो हुन्थ्यो । साम्यवाद ल्याउन सक्दैनन् । नेपालका कम्युनिस्टहरूको चरित्र नै त्यस्तो छैन । नेपालका कम्युनिस्ट प्रतिक्रियामा जन्मेका तत्व हुन् । नेपालका कम्युनिस्टमा माक्र्सवादी, समाजवादी चरित्र कहाँ छ ? नेपालका कम्युनिस्टहरूको जन्म कांग्रेसको विरुद्धमा वा कुनै राष्ट्रका विरुद्धमा वा कुनै राष्ट्रको समर्थनमा भएको हो । खासमा नेपालका कम्युनिस्टहरू प्रतिक्रियावादी हुन् ।

तपाईंले भविष्यमा देख्दै गरेको त्यो पक्षपाती शासन कस्तो हुन्छ ?

सबै आफ्ना मान्छेका लागि कानुन, न्याय सबै प्रयोग गर्ने शासन हो । रातो झन्डा ओढेपछि सबै खत माफ गर्ने शासन हो, पक्षपाती शासन भनेको । रातो झन्डा ओढेकाले जस्तोजस्तो अपराध गरे पनि छुट, विकास पनि आफ्नालाई मात्रै दिने हो । न्यायपालिकालाई धम्क्याइएको छ । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीशलाई कसरी अवकाश दिइयो ? अहिले कसरी न्यायपालिकालाई धम्की दिइँदैछ । अख्तियारलगायत संवैधानिक अंगहरूलाई दुई तिहाइको दुहाइ दिएर धम्क्याएर राखिएको छ । सबै संवैधानिक निकायका पदाधिकारीलाई तेजोबोध गर्न लागिएको छ । स्वतन्त्र निकायलाई पंगु बनाउन लागिएको छ । हुँदाहुँदा संसद्को प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई कम्युनिस्टहरूले सहयोगी दल, कांग्रेस भन्ने पार्टी नै छैनन् भन्न थालेका छन् ।

तपाईंले प्रतिवाद गर्दै आउनुभयो । अहिले सत्तामा रहेका नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गर्दा किन विरोध, अनि हिजो संविधान जारी गर्ने क्रममा नै उहाँ (जो अहिले सरकारमा हुनुहुन्छ) यसैको पक्षमा हुनुहुन्थ्यो ?

यो सबैभन्दा फट्याइँ हो । यो सत्ताको दलाली मात्रै हो । उनीहरूले यही भएर सिद्धान्तवादी होइनन् । हत्त न पत्त शासक बन्ने महत्वाकांक्षा जागेको छ । कम्युनिस्टहरूका लागि लोकतन्त्रप्रति पनि विश्वास छ । उनीहरूलाई यो लोकतन्त्रप्रति प्रतिबद्ध संविधानप्रति डाह भएको छ । त्यसैले उनीहरू संविधानप्रति प्रश्न उठाउन थालेका छन् । यो संविधानमाथि प्रश्न उठाएर मुलुकलाई फेरि अस्थिर बनाउने अभियानमा अहिलेका कम्युनिस्ट नेताहरू छन् । अहिले रातो झन्डाको ओढेर सबै खत माफ गराउने अभियान पनि सुरु भएको छ । यस्तै सबै अपराध रातो झन्डा ओढेर माफ गराउनका लागि मरिहत्ते गरेर दुई तिहाइ जुटाउन लागेका हुन् । अहिले दुई तिहाइ पु¥याएर साम्यवाद होइन सामाजिक फाँसीवादतर्फ मुलुकलाई लैजान प्रयास भएको छ । साम्यवाद ल्याउने त अहिलेका कम्युनिस्टहरूसँग नैतिकता र हिम्मत पनि छैन ।

संविधानमा मात्र होइन अहिले हिजो शान्ति सम्झौतामा टुंगो लागेको विषय फेरि उठाउँदैछन् कम्युनिस्टहरूले, सशस्त्र द्वन्द्वकालमा कब्जा गरिएको जग्गालाई अहिले कम्युनिस्ट सरकारले वैधानिकता दिने प्रयास थालेको छ । यतातर्फ हाम्रो ध्यान दिनुपर्छ । हिजो माओवादीको द्वन्द्वमा कब्जा गरिएका जग्गालाई अहिले जो जो ले कब्जा गरे उसैका नाममा वैधानिक रूपमा रजिस्ट्रेसन दिने काम हुने भएको छ । माओवादीले द्वन्द्वकालमा जबरजस्ती गरेका लिखतलाई अहिले मालपोतबाट वैधानिकता दिने प्रयासलाई कांग्रेसले रोक्नु पर्छ । वैयक्तिक स्वतन्त्रताको रक्षा कांग्रेसले गर्न सक्नुपर्छ । ३० बिघा जमिनका मालिकले तीन बिघा जग्गा कब्जा गरेको छ । रुकुम, रोल्पालगायतका ठाउँहरूमा कति जग्गा कब्जा भएको थियो । हिजो विस्तृत शान्तिसम्झौतालगायतका शान्ति प्रक्रियाका काम हुँदा तत्कालीन एमाले पार्टी यो मुद्दामा हामीसँग थियो । अहिले एमाले कहाँ हुन्छ हामीले हेर्नुछ ।