देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रकविलाई थप उपचारको लागि भारत लैजान चिकित्सकको सुझाव

देशान्तर

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिए । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन् ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका हुन् । घिमिरेको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताए ।

‘हाम्रो अस्पतालमा भएको सबै प्रविधि प्रयोग गरेर उहाँको उपचार ग¥यौँ, तर पनि अलिअलि रक्तस्राव भइरहेको छ’–उनले भने– ‘साना आन्द्राको कुन भागबाट रक्तस्राव भइरहेको छ । त्यो पत्ता लगाउने उपकरण नभएकाले रक्तस्राव रोक्न हामीलाई समस्या भयो । त्यसैले थप उपचारका लागि भारत लैजान सुझाव दिएका हौँ ।’ उनका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालसँग छैन ।

उनले घिमिरेको पहिलेको भन्दा स्वास्थ्य अवस्था राम्रो भएको बताए । विसं १९७६ असोज ७ गते जन्मिनु भएका घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो । छोरी अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उनलाई भारत लैजाने तयारी गरिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिएका थिए ।