देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाचन प्रणाली सुधार गर्न अपनाउनुहोस् यी १० विधि

देशान्तर

काठमाडौँ । जीवनशैली र खानाको रोजाइले शरीरको खाना पचाउने तरिकामा प्रभाव पार्छ । प्रशस्त पानी पिउने, फाइबरयुक्त खाना खाने तथा नियमित व्यायाम गरेमा आफ्नो पाचन प्रणालीमा सुधार गर्न सकिन्छ ।

तपाईले आफ्नो पाचन स्वास्थ्यलाई बेवास्ता गर्नुभयो भने तपाईको शरीरले उचित पोषण प्राप्त नगर्न सक्छ ।

 धेरै फाइबर हुने खाना खानुहोस्

मार्वलहेड म्यासाचुसेट्सका पोषण कन्सल्ट्यान्ट मारिया एडम्सका अनुसार प्रसस्त फाइबर भएको अन्न, सागसब्जी, फलफूलले तपाईंको पाचन स्वास्थ्यमा सुधार गर्न सक्छ । यसले स्वस्थ तौल कायम गर्नका लागि पनि सहयोग गर्छ ।

 

 घुलनशील र अघुलनशील दुवै खाले फाइबर लिनुहोस्

घुलनशील र अघुलनशील दुवै खालको फाइबर शरीरका लागि आवश्यक छ । यी दुवै खालका फाइबरले छुट्टाछट्टै तरिकाले काम गर्छ । अघुलनशील फाइबर गहुँ, सागसब्जी तथा अन्नहरूबाट प्राप्त गर्न सकिन्छ भने घुलनशील फाइबर ओट्स ब्रान, बदाम, गेडागुडी र फलफूलबाट प्राप्त हुन्छ ।

 

 धेरै चिल्लो हुने खानेकुराहरू थोरै खानुहोस्

सामान्यतया चिल्लो खानाले पाचनप्रणालीलाई ढिलो बनाउँछ र कब्जियत गराउँछ । तर, खानाबाट केही चिल्लो पनि चाहिन्छ, त्यसैले फाइबरको साथमा चिल्लोयुक्त खाना मिसाएर खाँदा त्यसले तपाईको पाचनप्रणालीलाई सजिलो बनाउँछ ।

 

बोसो नभएको मासु मात्रै छान्नुहोस्

स्वस्थ खानाको एक महत्वपूर्ण हिस्सा प्रोटिन हो । तर, मासुमा हुने चिल्लोले पाचन प्रक्रियालाई असजिलो बनाउन सक्छ । मासु खाँदा छाला नभएको कुखुराको मासु वा बोसो नभएको मासु खान सकिन्छ ।

 

आफ्नो खानामा प्रोबायोटिक्स सम्मिलित गराउनुहोस्

प्रोबायोटिक्स त्यस्तो खालको स्वस्थ ब्याक्टेरिया हो जुन तपाईको पाचनप्रणालीमा प्राकृतिक रूपमा विद्यमान हुन्छ । यसले एन्टिबायोटिक्स, तनाव र अस्वस्थ खानासँग लडेर शरिर स्वस्थ राख्छ । यसको साथै प्रोबायोटिक्सले पोषण प्राप्त गर्नसक्ने क्षमतालाई बढाउनुका साथै रोग प्रतिरोधी क्षमता बढाउँछ र आइबिएसको उपचार गर्न सहयोग गर्छ । यसका लागि कम चिल्लो भएको दही उपयुक्त हुन्छ ।

 

खाना खाने नियमित तालिका बनाउनुहोस्

खाना नास्ताहरू नियमित तालिका अनुसार खानुहोस् । त्यसले तपाईको पाचन प्रणालीलाई एउटा आकार दिन्छ । सधैं एकै समयमा ब्रेकफास्ट, लञ्च, डिनर र स्न्याक्स लिने बानी बसाल्नुभयो भने पाचनप्रणालीमा समस्या आउँदैन ।

 

 पानी पर्याप्त पिउनुहोस्

पर्याप्त पानी पिउनु पाचन प्रक्रियाका लागि धेरै नै राम्रो कुरा हो । एडम्सका अनुसार फाइबरले धेरै नरम दिसा उत्पादन गर्नका लागि पानी धेरै खिच्छ र सजिलै पास हुने बनाउँछ ।

 

 नराम्रा बानीहरू त्याग्नुहोस्

मदिरा, कफी पिउने र धूमपान गर्ने बानी छ भने यसले तपाईको पाचन प्रणालीको कार्यसम्पादनलाई असर पुर्‍याउन सक्छ । यसले पेटको अल्सर र मुटु पोल्ने समस्या पनि हुन्छ त्यसैले यस्ता बानीहरू त्याग्नुहोस् ।

 

नियमित व्यायाम गर्नुहोस्

नियमित गरिने व्यायामले खानालाई पाचनप्रणाली मार्फत चलायमान बनाउँछ र तपाईलाई कब्जीयतको समस्या हुन दिँदैन । व्यायामले स्वस्थ तौल कायम गर्न सहयोग गर्छ । तसर्थ नियमित व्यायाम गर्नु आवश्यक छ ।

 

तनाव व्यवस्थापन गर्नुहोस्

धेरै तनाव वा चिन्ताले पाचन प्रणालीमा समस्या ल्याउन सक्छ । तपाईलाई आनन्द दिने खालको तनाव कम गर्ने उपायहरू पत्ता लगाउनुहोस् र यसलाई नियमित रूपमा पालना गर्नुहोस् ।