देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दसैँका लागि खसी- बोका बिक्री सुरु

देशान्तर

काठमाडौं । दसैँका लागि खसी, बोका बिक्री सुरु भएको छ । व्यवसायी र सरकारले घटस्थापनाबाट बिक्री सुरु गर्ने निर्णय गरेसँगै व्यवसायीले कलंकीस्थित खसीबजारमा बुधबार दिउँसो नै करिब १ हजार ५ सय खसी, बोका ल्याइसकेको चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले जानकारी दिए । ‘बुधबार साँझबाटै दसैँका लागि ठूलो मात्रामा खसी, बोका आयात सुरु भएको छ,’ उनले भने । सामान्य अवस्थामा हप्तामा १५ ट्रक खसी, बोका आयात गर्ने व्यवसायीले घटस्थापनादेखि दैनिक २५ ट्रक ल्याउने प्रबन्ध मिलाएका छन् । सामान्यतया एउटा ट्रकमा २ सय ५० खसी, बोका हुन्छन् । ‘दसैँमा माग र खपत बढ्ने भएका कारण आयात तीव्र हुन्छ,’ पाठकले भने, ‘मागअनुसार आयात गर्न समस्या पनि छैन ।’ दसैँमा भारतीय खसी ९० प्रतिशत आयात हुने गरेको उनले जानकारी दिए । दसैँमा कुल ५० हजार खसी, बोका र च्यांग्रा आयातको प्रबन्ध मिलाइएको उनको भनाइ छ ।

खाद्य संस्थानले पनि घटस्थापनाबाट च्यांग्रा बिक्री सुरु गरेको छ । मुस्ताङबाट ल्याइएका ५ सय च्यांग्रा बिक्री सुरु गर्न लागेको संस्थान प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । ‘खसी घटस्थापनाकै दिन आइपुग्ने भयो, त्यसैले शुक्रबारबाट बिक्री सुरु हुन्छ, च्यांग्राचाहिँ बिहीबारबाटै बिक्री शुभारम्भ हुँदै छ,’ उनले भने । संस्थानले थप ५ सय थान च्यांग्रा मुस्ताङबाट हिँडाइसकेको जनाएको छ । १५ सय खसी, बोका बिक्रीको तयारी भएको उनले बताए । हेटौँडामा १ हजार र दाङको तुलसीपुरमा ५ सय खसी, बोका खरिद गरिएका छन् । दसैँका लागि बजारमा उपलब्ध खसी, बोकोमध्ये खाद्य संस्थानको सस्तो पर्ने भएको छ । संस्थानले च्यांग्रा ६ सय ७५ प्रतिकिलोमा बिक्री गर्ने निर्णय गरेको छ । खसी प्रतिकिलो ४ सय ५५ र बोका प्रतिकिलो ४ सय ५० रुपैयाँ निर्धारण गरिएको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । व्यवसायीले भने संस्थानको तुलनामा ५० रुपैयाँसम्म प्रतिकिलो बढी मूल्य निर्धारण गर्ने संकेत गरेका छन् ।

बुधबार दिउँसोबाट कलंकीको खसीबजारमा ३ सय च्यांग्रा बिक्रीका लागि राखिएका छन् । त्यहाँबाट प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री गरिने व्यवसायी पप्पुकुमार सुवेदीले जानकारी दिए । मुस्ताङबाट ७ दिन हिँडाएर म्याग्दीको बेनीसम्म ल्याएको र त्यहाँबाट गाडीमा ढुवानी भएको उनले जानकारी दिए । बुधबार कलंकीमा व्यवसायीले खसी, बोका प्रतिकिलो ४ सय ७० रुपैयाँसम्म बिक्री गरेका छन् । र, घटस्थापनापछि बढेर ५ रुपैयाँसम्म पुग्ने उनले संकेत गरेका छन् ।