देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फुटसलले नेपाललाई अन्तरर्राष्ट्रिय क्षेत्रमा चिनाउनुपर्छ: मन्त्री केसी

देशान्तर

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले फुटसल खेलले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने बताएका छन् । नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ एकाई समितिले बुधबार आयोजना गरेको प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री केसीले पछिल्लो समय फुटसलप्रति युवाको आकर्षण बढ्दै गएको बताए ।

फुटसल खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री केसीले बताए । उनले सबैका लागि खेल, राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भएकाले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए । मन्त्री केसीले नेपालको प्रजातन्त्र प्राप्ति र मुलुकको विकासको आन्दोलनमा स्व गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै उनको स्मृतिमा उक्त प्रतियोगिता राखेर राम्रो काम गरेको बताए ।

उनले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । बुधबार देखि शुरु भएको उक्त प्रतियोगिता यही भदौ ३१ गतेसम्म चल्ने नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए । उनले युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको बताए ।

खेलको प्रथम विजेतालाई रु एक लाख नगदसहित प्रमाणपत्र, द्वितीयलाई रु ५० हजारसहित प्रमाणपत्र, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलरक्षकलाई पञ्जा पुरस्कार दिने तरुण दल वडा नं २६ ले जनाएको छ । उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका १२ समूहको सहभागिता रहेको छ ।