देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताका गुनासो हाम्रा लागि चुनौती हुन् : अजय द्विवेदी

देशान्तर

२० वर्षपछि संविधानको नयाँ व्यवस्थाअनुसार बनेका स्थानीय तहको निर्वाचन हुँदैछ । कस्तो छ वीरगन्जमा माहोल ?
वीरगन्जवासी स्थानीय निर्वाचनमा मतदान गर्न तयार भएका छन् । देशले एउटा नयाँ बाटो लिएको छ । चुनावमा आफ्ना मुद्दा, गुनासो राख्ने, आफ्ना प्रतिनिधिलाई आफंैले छान्ने अवसर आएको छ । यसले जनतामा खुसी र उत्साह ल्याएको छ । त्यस्तै, सबै राजनीतिक दलहरू आफ्ना उम्मेदवार घोषणा गर्दै चुनावमा होमिएका छन् । निकै उत्साह छ । जनता पनि चुनावी माहौलमा होमिएका छन् । अब मतदानको प्रतीक्षामा छन् ।

वीरगन्ज महानगर र यो क्षेत्रमा कांग्रेसको पुरानो प्रभाव रहेको क्षेत्र भन्दै दाबी गरिरहेको छ । यो प्रभाव अहिले पनि कायम होला ?
वीरगन्ज महानगरमात्र होइन पर्सा जिल्ला कांग्रेसको इतिहास बोकेको ठाउँ हो । यहाँका धेरै नेताहरूले योगदान गरेका छन् । यो कांग्रेसको आधारभूमिका रूपमा रहँदै आएको छ । कांग्रेसलाई यहाँका जनताले विश्वास गर्छन् । कांग्रेसले गर्न सक्छ भन्ने विश्वास छ ।

विगतमा कांग्रेसले गरेको कामका आधारमा मत माग्ने कि अहिले पनि केही गर्नुहुन्छ ?
विगतमा पनि गरेका छौं । भविष्यमा पनि गर्छाैं । इतिहास विश्वासिलो छ, भविष्यप्रति आस छ । त्यसकारण पनि जनताले विश्वास गर्छन् । मत दिन्छन् । नेपाली कांग्रेसले मात्रै मुलुकमा निकास दिन सक्छ अनि मुलुकको विकास गर्न सक्छ भन्ने हो । यो कुरा जनताले पनि बुझेका छन् । अझ मधेसका जनताले त नेपाली कांग्रेसले मात्र मधेसको मुद्दा मधेसका विविध समस्याको निकास कांग्रेसमात्रै दिन्छ भन्नेछ ।

यस पटकको चुनाव जित्न कांग्रेसले अगाडि सारेका मुद्दाहरू के के हुन् ?
समृद्ध, व्यवस्थित, स्वस्थ्य र सफा सहर हाम्रो मुख्य नारा हो । त्यसको साथै अहिलेको महानगरमा तीन गुणा गाउँ एरिया थपिएको छ । अब, सहर एरियामात्रै सम्झेर हुँदैन । त्यहाँका जनतालाई पनि हामी महानगरबासी भयौं भन्ने अनुभूति गराउनुछ । हाम्रो योजना भनेको जो पछाडि परेका छन्, उनीहरूलाई प्राथमिकतामा राखेका छौं । पुरानो सहरलाई पनि मजबुद बनाउनुछ । त्यसकारण हामीले ‘पुरानोको सुधार नयाँ निर्माण’ नारा दिएका छौं । नयाँ वीरगन्ज बनाउने योजना छ ।

वीरगन्जमा ढल व्यवस्थित देखिँदैन, त्यस्तै नाका जाने सडक पनि बेहाल देखिन्छ । यसबारे जनगुनासो पनि व्यापक छ । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

जनताका गुनासो हाम्रा लागि चुनौती हुन् । त्यसका लागि नै जनताले जनप्रतिनिधि खोजेका हुन् । हाम्रो दायित्व नै जनताका ती समस्यालाई समाधान गर्ने काम हो । बाइपास रोडको टेन्डर भइसकेको छ । त्यसको काम अब हुन्छ । नगरपालिकाको पनि १ अर्ब ११ करोड रुपैयाँ त्यसमा लगानी हुँदैछ । त्यो पैसा जोगाएर नगरपालिकामा खर्च गर्ने र उक्त सडकमा सरकारले नै लगानी गरोस् भन्ने हाम्रो चाहना छ । त्यसबारे मैले मन्त्रीसँग पनि कुरा गरिसकेको छु । १ अर्ब ११ करोड भनेको एउटा नगरपालिकाका लागि ठूलो पैसा हो । बाइपासको बाटो ६ लेनको बन्दै छ । त्यो बनेपछि मुख्य सहरको ट्राफिक उता जाँदै छ ।

वीरगन्ज सहरमा सडक साँघुरा हुँदा जामको समस्या पनि छ भन्ने गुनासो छ । यस्तो अस्तव्यस्त सडक कसरी व्यवस्थापन गर्ने योजना छ ?
अहिले धेरै रिक्साहरू छन् । मुख्य सडकमै मोटरसाइकलहरू पार्किङ गर्ने, रिक्सा, साइकल, गाडी पर्किङ हुँदा पनि भद्रगोल देखिएको हो । मैले सोचिरहेको छु । जित्नेबित्तिकै मलाई लाग्छ, पहिलो एक महिनाभित्रै ट्राफिक व्यवस्थापन गर्छौं । ट्राफिक पनि आफैंमा एउटा व्यवस्थापन हो । साँघुरा गल्लीमा पनि ट्राफिक सुव्यवस्थित गर्न सकिन्छ । एक महिनाभित्रै गरेर देखाउँछौं ।

अर्को ढल व्यवस्थापनको कुरा छ । यसबारे एसियाली विकास बैंकको सहयोगमा काम पनि भइरहेको छ भनिन्छ । तर, त्यो पनि प्रभावकारी हुन सकेको छैन भन्ने छ । यसलाई कसरी सफल बनाउनुहुन्छ ?
त्यो काम हुँदैछ । तर, अत्यन्त ढिलो भइरहेको छ । नगरवासीको ठूलो गुनासो छ । एउटा सामान्य गाउँमा पनि सडक बनाउँदा डाइभर्सन बनाइराखेको हुन्छ । तर, वीरगन्जमा एक दुई सडकबाहेक कुनै पनि हिँड्न लायक छैन । धन्न वीरगन्जका जनता सहनशील छन् । यस्तो सहेर पनि विकास होस् भनिराखेका छन् । चुनाव जितेपछि मैले विकास निर्माणका विज्ञहरूसँग छलफल गरेर व्यवस्थित ढंगले काम गर्ने सोचमा छु । विज्ञहरूलाई राखेर एडीबीको प्रोजेक्टको सुरुदेखि अध्ययन गर्नेछौं । यसमा सुरुमा के थियो, अहिले के छ र अब कति काम हुन्छ भन्ने बुझेर अगाडि बढ्छौं ।

महानगरपालिकामा पैसा नखुवाई कर्मचारीले काम नै गर्दैनन् भन्ने यहाँका स्थानीय र व्यापारीको गुनासो छ नि ।
यसबारे अहिले कसले लिन्छ कसले लिँदैन भनेर टिप्पणी गर्न मिल्दैन । हामी जहाँ हुन्छौं, त्यहाँ गुड गभर्नेन्स आवश्यक छ । त्यो स्थानीय, प्रादेशिक तथा केन्द्रीय सरकारसँग खोज्नेछौं । मैले सोचिरहेको छु, कसरी पारदर्शी, व्यवस्थित, प्रभावकारी, छिटो र भरपर्दो सेवा दिन सकिन्छ । त्यसरी भद्रगोल अवस्थामा रहेको कार्यालयलाई हामी आइसकेपछि आमूल परिवर्तन गर्छांै । त्यसको काम गर्ने तरिकालाई नै परिवर्तन गर्छौ । वडा स्तरबाट हुने कामलाई पनि सहज बनाउने र केही कुरा इन्टरनेटबाट घरबाटै पनि गर्न मिल्ने बनाउँछौं ।

ठूला पार्टीहरूले मधेसका मुद्दा सम्बोधन गरेनन् भन्ने व्यापक गुनासो छ । किन ठूला पार्टी मधेसप्रति जवाफदेही नभएका ?
पहिले गुनासो थियो । आजको दिनमा सबैले महसुस गरेका छन् कि मधेसको मुद्दालाई सम्बोधन गर्न सबैभन्दा अगाडि कांग्रेस नै छ । संसद्मा दर्ता र बहस कांग्रेसले गरायो । अग्रपंक्तिमा कांग्रेस रहेर त्यसलाई दुई तिहाइ पुर्‍याउने अन्तिम प्रयास पनि गर्‍र्यो । त्यसकारण मधेसको मुद्दालाई कांग्रेसले छोडेको छैन । यसलाई ओझेलमा पारेको छैन । कांग्रेसका हामी कार्यकर्ता छौं । मधेसका मुद्दामा हामी सहमत छौं । हरेक मुद्दामा अग्रस्थानमा कांग्रेस उभिन तयार छ ।

केही मधेसका मुद्दालाई लिएर आन्दोलन गरिरहेका दल पनि छन् । उहाँहरूले चुनावलाई पनि एउटा आन्दोलनकै रूपमा अगाडि बढाउँछौं भन्नुभएको छ । यसलाई कसरी लिनुहुन्छ ?
सबैको आ–आफ्नो राजनीतिक एजेन्डा हुन्छ । उहाँको राजनीतिक विषय नै त्यही हो । त्यसकारण उहाँहरू त्यसलाई राजनीतिक मुद्दा बनाउनुभएको छ । हामी इतिहासका कुरा गर्छौं । विकासका कुरा गर्छाैं, भविष्यका कुरा गर्छाैं । कांग्रेससँग इतिहास, वर्तमान र भविष्य छ । त्यसैले कांग्रेसले केही गर्न सक्छ भन्ने विश्वास छ ।

वीरगन्जमै रहेको भन्सारमा पनि बदमासी गर्ने छुट्ने र सामान्य मान्छे समातिने गर्छन् । यसलाई व्यवस्थित गर्ने तपाईंको योजना के छ ?
यो अलि समस्या छ । यसलाई महानगरले मात्रै चाहेर हुने कुरा छैन । यसमा नेपाल सरकार, सुरक्षा निकाय पनि छ । त्यस्तै प्रशासनका पनि मान्छेहरू छन् । सामान्य मान्छेले आफ्नो लागि चाहिने सामान ल्याउँछन्, त्यसमा समस्या छैन । हो, तस्करी यहाँको समस्याका रूपमा रहेको छ । खुल्ला बोर्डर छ, यो समस्याका रूपमा छ । यो नेपाल सरकारका सबै निकाय मिलेर काम गर्नुपर्ने हुन्छ ।

वीरगन्ज महानगर क्षेत्र नं १ र २ मिलेर बनेको महानगर छ । १ नम्बरमा कांग्रेसले जितेको भए पनि २ नं क्षेत्रमा तपाईं नै एमालेसँग पराजित हुनुभएको हो । यस्तो अवस्थामा कसरी चुनाव जित्छु भन्ने छ ?
हाम्रो क्षेत्र नं १ र २ मै राम्रो संगठन छ । क्षेत्र नं १ मा नेपाली कांग्रेसकै राजेन्द्रबहादुर अमात्यले जित्नुभएको हो । दुईमा पनि हाम्री राम्रो अवस्थामा छौं । ग्रामीण क्षेत्रमा पनि हाम्रो राम्रो प्रभाव रहेको छ । कांग्रेस जिल्ला सभापति भएको नाताले म त्यो भन्न सक्छु । त्यस कारणले हामी जित्छौं ।

प्रतिस्पर्धा कुन–कुन पार्टीसँग हुन्छ ?
मुख्य गरेर यहाँ कांग्रेस, एमाले, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमबीच प्रतिस्पर्धा हुन्छ । माओवादी पनि छ । तर, चुनाव कांग्रेसले जित्छ ।