देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । छानविन समितिको प्रतिवेदन बुझाए लगतै त्रिविले नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको ०७१ को आदेशलाई देखाएर त्रिविले साउन १२ मा नेशनललाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो । तर, चौतर्फी विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सम्बन्धन स्थगनको निर्णय भयो । लगतै त्रिविले गठन गरेको छानविन समितिले बुधबार विहानै घट्टेकुलोस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अनुगमन गर्‍यो । त्यसक्रमा मापदण्ड नपुगेको देखिएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि ३०० बेडको अस्पताल सञ्चालनमा आउनु पर्ने स्वास्थ्य मन्त्रालयको निर्देशिकामा उल्लेख छ । ‘अस्पतालको स्थलगत निरिक्षणका क्रममा भने अस्पतालमा एक जना पनि विरामी देखिएन । अस्पताल खाली हुनुका साथै अस्पतालको फार्मेसी समेत बन्द अवस्थामा रहेको फेला पारेका भन्दै त्रि।वि कार्यकारी परिषद्द्धारा गठित अनुगमन समितिका सदस्य तथा त्रि.वि प्रशासक परशुराम कोइरालाले बताए।

निरीक्षणका क्रममा अस्पतालमा एकजना मात्र चिकित्सक थिए भने पूरै अस्पताल खाली थियो । एक जना विरामी पनि नरहेको, अस्पतालको फार्मेसी बन्द रहेको भेटिएको प्रतिवेदन समितिले त्रि.वि कार्यकारी परिषद्मा पेश गर्‍यो । लगतै परिषद्ले सम्बन्धन खारेजको निर्णय गरेको छ ।

त्रिवि उपकुलपति तीर्थ खनियाँले अदालतको आदेशको सम्मान गर्दै यो पटकलाई कक्षा चलाउन सम्बन्धन दिएको भन्दै छानविनका क्रममा अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्विकृति पनि नलिएको र शिक्षण अस्पतालका रुपमा चालु पनि नरहेको पाएपछि यो पटक कक्षा चल्ने स्थिति देखिएन र अस्थायी सम्बन्धन दिने साउन १२ को निर्णय खारेज गरेको बताए ।