देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसियन कप छनोटमा नेपाल र ताजिकिस्तान भिड्दै,दुवैलाई जित्नैपर्ने दबाब

देशान्तर

काठमाडौं । दिउसो ३ बजे पछि हुने एसियन कप छनोट खेलमा नेपाल र ताजिकिस्तान भिड्दैछन । नेपालले एसियन कप छनोटमा दुई खेलमात्र जितेको छ । भुटानलाई १७ वर्षअघि हराएको नेपालले अर्को सफलता सन् २००३ मा अफगानिस्तानविरुद्ध हात पारेको थियो । त्यसैले नेपाल आज मंगलवार सातदोबाटोमा ताजिकिस्तानको सामना गर्दा महादेशीय प्रतियोगिताको छनोटमा तेस्रो जित हात पार्ने अभियानमा नेपाल रहेको छ ।

ताजिकस्तान नेपाल भन्दा राम्रो टिम भएपनि नेपाली टिम उसलाई अवसर नै नदिने रणनितिमा रहेको छ । नेपाली टोलीले आक्रमक रणनीति र तीव्रगतिमा खेल्ने रणनिति बताएको छ ।

नेपालले ताजिकिस्तानसँग पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । पूर्वसोभियत संघको सदस्य ताजिकिस्तानको यो दोस्रो नेपाल यात्रा हो । यसअघि उसले सन् २०१२ मा काठमाडौंमा भएको च्यालेन्ज कपको फाइनल चरण खेलेको थियो । तर, दुवै टिमका लागि एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’नयाँ मैदान हुनेछ । यसमा पुरुषका राष्ट्रिय टिमले औपचारिक प्रतियोगितामा पहिालेपल्ट खेल्न लागेको हो ।

वैशाख, २०७२ को महाभूकम्पयता राष्ट्रिय टिमले नियमित प्रशिक्षण एन्फा कम्प्लेक्समै गर्दै आएको छ । त्यसैले यस मैदानसँग घरेलु खेलाडीहरू परिचित पनि छन् । मुख्य प्रशिक्षक ग्योतोकु कोजी सँधै ट्रेनिङ गर्ने मैदान भएकोले एस्ट्रो टर्फमा गाह्रो नहुने बताएका छन् ।

पाहुना टिमका मुख्य प्रशिक्षक फुजयलोभ खाकिमले पनि आर्टि्फिसियल टर्फसँग अभ्यस्त भएको उस्तै जवाफ दिएका छन् । त्यसर्थ रोमाञ्चक खेलको अपेक्षा गर्न सकिन्छ । यसअघि आर्टि्फिसयल टर्फमा ट्रेनिङ गरेपछि घाँसेमैदानमा प्रतिस्पर्धा गर्दै आएको नेपाली टिमलाई भने एन्फा कम्प्लेक्स फाइदा हुनसक्छ ।

गतवर्ष एएफसी सोलिडारिटी कप च्याम्पियन भएको आधारमा नेपालले फेरि एसियन कप छनोटमा अवसर पाएको हो । नेपाली टिम फिफा वरीयताको १ सय ६९ औं स्थानमा छ भने ताजिकिस्तान १ सय ५१ औंमा । रसियन ब्लकको खेल शैलीबाट प्रभावित ताजिकिस्तानलाई पन्छाउँदै यस छनोटमा पहिले जित हात पार्ने योजनामा छ ।

छनोटको समूह ‘एफ’मा नेपाल मनिलामा फिलिपिन्ससँग ४–१ ले हारेको थियो । हल्चोक मैदानमा भएको दोस्रो खेलमा भने यमनसँग गोलरहित खेल्दै नेपालले अंकको खाता खोलेको थियो । त्यसैले घरेलु मैदानमा हुने दोस्रो खेलमा नेपालले जित हात पार्ने लक्ष्य बनाएको छ ।

ताजिकिस्तान समूहको दुवै खेल हारेको टिम पनि हो । उसलाई यमनले दोहामा २–१ र उसैको घरेलु मैदान डुसान्बेमा फिलिपन्सले ४–३ ले हराएको थियो ।

छनोटमा दुई चरणको खेलपछि फिलिपिन्स ६ अंकसहित शीर्षस्थानमा छ भने यमन (४) दोस्रोमा छ । नेपाल १ अंकसाथ तेस्रोमा छ । तयारीमा नेपाली टिमले १० दिने जापान भ्रमण पनि गरेको थियो ।