देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनमा स्वाइनफ्लु र डेंगुका बिरामी बढ्दै, ३ सय ९ मा स्वाइनफ्लु र चार जनामा डेंगु भएको पुष्टी

देशान्तर

चितवन । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३ सय ९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३ सय ९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो ।

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा उपचार भएका कूल ३ सय ८० जना बिरामीको परीक्षण गरिएकामा ३ सय ९ जनामा इन्फ्लुएञ्जा ए एचवान एनवान संक्रमण पुष्टि भएको जानकारी दिए ।

‘जिल्लामा फ्लु ए देखिएपछि ३ सय ८० जनाको नमूना थप परीक्षणका लागि काठमाडौँमा पठाइएको थियो, केसीले उक्त परीक्षणले ३ सय ९ जनामा संक्रमण पुष्टि गरेको बताए । संक्रमण भएकामध्ये २ सय ५३ जना चितवनका बासिन्दा हुन् । बाँकी ५६ जना तनहुँ, धादिङ, नवलपरासीलगायतबाट चितवनमा आई उपचार गरिएका बिरामी छन् ।

स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुने भएकाले चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भरतपुर अस्पतालका डा कालिदास अधिकारी बताउँछन् । उनले फ्लु ए संक्रमण भएका बिरामीको चाप अस्पतालमा अत्यधिक भएको बताए ।

त्यसै गरी भारतको मुम्बईमा बिरामी भएर आएका एक व्यक्तिसहित जिल्लामा डेढ महिनाको अन्तरालमा चारजनामा डेंगु देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार साउन १ देखि भदौ १५ सम्ममा चारजनामा डेंगु देखिएको बताए ।

साउनदेखि भदौ १५ सम्म जिल्लामा ३ सय २४ जनाको परीक्षणका क्रममा चारजनामा डेंगु पुष्टि भएको केसीले जानकारी दिए । एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सार्ने भएकाले लामखुट्टेबाट बच्न सके र घर वरपर भाँडामा पानी जम्न नदिए रोगबाट बच्न सकिने चिकित्सकले जनाएका छन् ।

यसैबीच चितवनमा एक जनामा चिकनगुनिया रोग समेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । नवलपरासी घर भई चितवनमा उपचार गराइएका एक व्यक्तिमा उक्त रोग देखिएको हो ।