देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिबियामा पाँच लाख भन्दा बढी बालबालिकालाई सहायता आवश्यक:युनिसेफ

देशान्तर

 

अन्तराष्ट्रिय समाचार एजेन्सी । विगत लामो समयदेखि जारी रहेको द्वन्द्व र यसका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण लिबियामा ठूलो सङ्ख्याका बालबालिकालाई मानवीय सहायताको खाँचो परेको छ ।

 

राष्ट्रसंघीय बालकोषले दिएको जानकारीअनुसार लिबियामा कम्तीमा पनि पाँच लाख पचास हजार बालबालिका यस्तो मानवीय सहायताको खाँचोमा रहेका पाइएको समाचारमा जनाइएको छ ।

 

गएको छ वर्षदेखि लिबियामा राजनीतिक सङ्कट सुरु भएको छ । यसबाट पाँच लाखभन्दा बढी बालबालिकालाईआधारभूत आवश्यकताको पनि उपलब्धता छैन– बालकोषले गरेको एक पछिल्लो अनुसन्धानपछि शुक्रबार भनेको छ ।

 

मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघीय बालकोषका निर्देशक ग्रिक क्यापलेराल बताएका छन् – अहिले आएर उनीहरुमा यस्तो मानवीय सहायताको अति ठूलो खाँचो भएको छ, बालबालिकाको कुरा भएकोले सबैले संवेदनशिलता अपनाउनु अत्यावश्यक छ ।

 

लिबियामा चरम हिंसा भड्किएकोले निकै ठूलो सङ्ख्याका नागरिक लामो समयदेखि घर छोडेर भाग्न बाध्य भएका छन् । सोही कारण उनीहरुका बालबालिका पनि भाग्नुपर्ने अवस्थामा रहेका छन् ।

 

यसरी लिबियामा आन्तरिक विस्थापित भएका अभिभावकका छोराछोरीले पोषणको अभावमा बाँच्नु परेको र उनीहरुको अवस्था अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको उक्त राष्ट्रसंघीय निकायले जानकारी दिएको छ ।

 

उक्त निकायका अनुसार यसरी आन्तरिक रुपमा विस्थापित हुनुपरेका नागरिकको सङ्ख्या ८० हजार भन्दा बढीको सङ्ख्यामा रहेको बताइएको छ ।

 

लिबियामा द्वन्द्व चर्किएपछि देखि नै बालबालिकाको अवस्था त्यति बलियो थिएन र बालकोषले सन् २०११ देखि नैउनीहरुको अवस्थामा परिवर्तनका लागि सहायता उपलब्ध गराउदै आएको थियो ।

 

युनिसेफले लिबियामा अन्य विभिन्न संघसंस्थाहरुसँग मिलेर बालबालिकालाई सहायता र स्वास्थ्य अवस्थामा सुधारल्याउने काम गर्दै आएको छ ।

 

उक्त संस्थाले जनाएअनुसार गतवर्षमात्र यहाँका विभिन्न जोखिमपूर्ण अवस्थामा रहेका करिब १३ लाख बालबालिकालाई पोलियो खोप दिइएको थियो ।