देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वाइन फ्लूका कारण मृत्यु हुनेको संख्या १० पुग्यो, स्वास्थ्यमन्त्री भन्छन् डराउनुपर्ने अवस्था छैन

देशान्तर

सरकारले स्वाइन फ्लू नियन्त्रण बाहिर नगएको दाबी गरेको छ । सिजनल फ्लूले स्याङ्जाको वालिङमा प्रकोपको रुप लिएको छ, जहाँ हरेक दिन २५-३० जना रुघाखोकीका बिरामी जचाउन स्वास्थ्य संस्था जाने गरेका छन् ।

यसबारे सदनलाई जानकारी दिँदै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले वालिङमा २० जनाको र्याल परीक्षण गर्दा ५ जनामा सिजनल इन्फ्लूइन्जाको भाइरस भेटिएको बताए ।

सरकारी तथ्यांक अनुसार अहिलेसम्म स्वाइन फ्लूका कारण १० जनाको मृत्यु भएको छ भने ३६१ जनामा एचवान एनवान पीडीएमा को संक्रमण देखिएको छ । स्वाइनफ्लुका कारण पोखराका तीन र झापाका दुई तथा स्याङ्जा, पाल्पा, रुपन्देही, काठमाण्डौ र ललितपुरका एक-एक जनाको मृत्यु भएको हो ।

मृत्यु भएका मध्ये २ जना ६५ वर्ष माथिका र ३ जना दिर्घरोगी भएको पाइएको छ । स्वास्थ्यमन्त्री पोखरेलका अनुसार उपचारमा संलग्न एक चिकित्सकलाई समेत स्वाइन फ्लूको संक्रमण भएको थियो । तर, उनी उपचार गरेर निको भइसकेका छन् ।

स्वाइन फ्लू संक्रमितलाई दिइने औषधि ‘ट्यामी फ्लू’ सरकारले निःशुल्क उपलब्ध गराउँछ । यो रोगको संक्रमणबाट बच्न खोक्दा, हाछ्यूँ गर्दा सफा कपडाले सफा कपडाले मुख छोप्ने, ज्वरो आए नजिकको स्वास्थ्य संस्थामा जाने, भिडभाड हुने ठाउँमा सकेसम्म नजाने लगायतका उपाय अपनाउनुपर्छ ।

हात मिलाउनुको सट्टा नमस्कार गर्न सल्लाह दिँदै स्वास्थ्यमन्त्री पोखरेलले भने, ‘कठोर अनुशासनमा नबसे महामारीको रुप लिए नियन्त्रण गर्न गाह्रो पर्छ ।’ तर, प्रचारमा आएजस्तो डराउनुपर्ने र रोग नियन्त्रण बाहिर नगएको मन्त्री पोखरेलले सदनलाई जानकारी गराए ।