देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुशीलको कर्मथलोमा उमाको आगमन

देशान्तर

नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको कर्मथलो नेपालगन्ज अझ सुशील कोइरालाको निर्वाचन क्षेत्र रहेको नेपालगन्ज उपमहानगरपालिकामा दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुँदै गर्दा सबैको चासो थियो । नेपालगन्जमा सुशील कोइरालाको विरासत कसले हात पार्ने भन्ने थियो । अन्य राजनीति पार्टीमा पनि सुशीलको विरासतमा जित हात पार्ने रणनीति थियो । सुशीलको विरासत नेपालगन्जमा धानिन् उमा थापाले । पार्टीमा विरासत जोगाएर बसेकी छन् बाँके कांग्रेसको विरासत धानेकी छन् सभापति किरण कोइरालाले । कांग्रेसको नेपालगन्जमा जनमत जोगाइन् उमाले ।

विद्यार्थी राजनीति हुँदै पत्रकारिता र सामाजिक काममा सक्रिय रहेकी उमा थापामगर पछिल्लो तीन वर्षयता नेपालगन्जको परिवेशमा खुबै चर्चित थिइन् । त्यही चर्चाको कारण नेपालगन्जमा कांग्रेसको हातबाट मेयर गुम्यो तर विरासत जोगाइन् । दोस्रो संविधानसभा निर्वाचनमा उनी जब नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सभासद्को सिफारिसमा परिन् त्यसपछि पार्टीको मूल राजनीतिक यात्रा औपचारिक रूपमा प्रारम्भ भयो ।

संसद्को ठूलो पार्टी नेपाली कांग्रेसजस्तो पार्टीमा एक जना ३७ वर्षेमा सुशील कोइरालाको कर्मथलोको उपमेयरको टिकट पाउनु नै जित थियो । चुनाव आउन १२ दिन बाँकी थियो । कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छान्न सकेको थिए । उमा पनि उपमेयरको दौडमा थिइन् । धेरै अग्रज पनि दौडमा थिए । तर अरू महिला नेतृहरूलाई उछिनिन् । उनले टिकट पाउँदाको प्रसंग उठाउँदै भनिन्– ‘पहिले मैले नै उपमेयरको टिकट पाउँछु भन्नेमा शतप्रतिशत ढुक्क थिइन् । किनभने मभन्दा सिनियर दिदीहरू पनि हुनुहुन्थ्यो । तर अन्तिममा अग्नि परीक्षामा म उत्तीर्ण हुन सफल भएँ ।’

कांग्रेसबाट उपमेयरको टिकट पाउँदै गर्दा नै आधा चुनाव जितेको महसुस गरेकी थिइन् । नेपाली कांग्रेसमा ३७ वर्षे उमाले उपमेयरको टिकट पाउने नै कठिनको कुरा थियो । उम्मेदवारको मनोनयन दर्ताको दुई दिनअघिमात्रै नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरको टिकट पाएकी उमाले राप्रपाकी उम्मेदवार रमारानी वैश्यलाई पराजित गर्दै उपमेयर बन्न सफल भएकी हुन् । मेयरमा राप्रपाका धवलशमशेर राणासँग कांग्रेसका उम्मेदवार सुरेश कनोडिया पराजित हुँदा पनि उमाले भने राप्रपाकै उम्मेदवारलाई हराउन सफल भइन् ।

सम्पूर्ण चुनाव सकिँदा पनि उनलाई चुनाव जित्नभन्दा टिकट पाउने ठूलो महाभारत भोगेको अनुभव छ । तर नेपाली कांग्रेसले गरेको विश्वासलाई उनले टुट्न दिइनन् । टिकट पाउनु अनि आकांक्षी सबैलाई सँगै लिएर चुनावी मैदानमा होमिनु धेरै ठूलो विषय थियो । त्यो महाभारत पार गरेर उमा उपमेयर भएकी छन् । स्नातक अध्ययन गरेकी ३७ वर्षीया उमा नेपालगन्ज–१ धम्बोझीकी स्थायी बासिन्दा हुन् । विद्यार्थीकालदेखि नै बीपी कोइरालाको समाजवादको सिद्धान्तबाट प्रभावित भएकी उनी २०४९ सालमै बीपीकी अनुयायी बनिन् । २०४९ सालदेखि २०५१ सालसम्म धम्बोझी निम्न माध्यमिक विद्यालय नेपालगन्जको नेविसंघ इकाइ सभापति भइन्् । त्यसपछि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सदस्य हुँदै कोषाध्यक्षसम्मको जिम्मेवारी पूरा गरिन् । उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत भइन् । झन्डै डेढ दशकसम्म पत्रकारितामा सक्रिय रहेकी उमा नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय सदस्यसमेत हुन् ।

उपमेयरको उम्मेदवार बन्नुभन्दा अगाडिसम्म उनी क्रियाशील पत्रकार संघको मध्यपश्चिम क्षेत्रीय संयोजक तथा बाँके जिल्ला अध्यक्षको जिम्मेवारमा थिइन् । ‘राजनीति गरे पनि पत्रकारिता गरे पनि समाजकै लागि गर्ने हो,’ उमा भन्छिन् ‘यही सोचले दुवैलाई सँगसँगै अगाडि बढाएँ, उपमेयर बनेपछि अब जनताको सेवक भएर काम गर्नेछु ।’

नेपालगन्जका समस्यालाई आफूले गहिरो रूपले अध्ययन गरेको बताउँदै उनले काम गर्दा सबैको साथ र हौसला पाउने विश्वास गरेकी छन् । पाँच वर्षभित्र उपमहानगरपालिकालाई नमुना उपमहानगर बनाउन आफू सक्रिय हुने उनको इच्छा छ । नेपालगन्जको समृद्धिका लागि म चुनाव लडेको हुँ, त्यो काम पूरा गर्न हरदम तयार रहनेछु यही प्रण हो । चुनावमा पनि मैले धेरै यो र त्यो गर्छु भनेकी छैन । सबैसँग हिजो पनि सँगै थिए आज पनि सँगै छु ।

उपमेयरको टिकट लिएर नेपालगन्ज उपमहानगरपालिकाको चुनावी माहोलमा होमिँदा उमाले मतदातासँग भनेकी थिइन् ‘जसले सपना देख्छ, उसैले पूरा गर्छ । म सपना देख्नेमात्रै होइन त्यो सपना पूरा गर्ने उम्मेदवार पनि हुँ ।’ उनले आफू सपनामात्रै देख्ने नभई सपना पूरा गर्ने उम्मेदवार भएकाले कांग्रेसलाई जिताउन जनतालाई आग्रह गरिन् । उनको जितको सबैभन्दा ठूलो आधार भनेको सबैका घरघरमा पुगिन् । मधेसी र मुस्लिम बाहुल्य रहेको क्षेत्रमा मगरकी छोरी उपमेयर भइन् ।

मतदाताका घरदैलोमा पुगिन् र समृद्ध नेपालगञ्ज बनाउने वाचा गर्दै भोट मागिन् । नेपालगन्जमै हुर्किएकी जनजाति उमा पत्रकार पनि भएकाले धेरै मतदाता परिचित नै थिए । अब उमाको परिचय उपमेयर उमा भएको छ । हक्की र खरो स्वभावकी उमाले मुसलमान, मधेसी, आदिवासी जनजाति, बाहुन, क्षेत्री सबैको मत तान्न सफल भइन् उमा । पत्रकारिता क्षेत्रमा होस् वा राजनीतिक क्रियाकलापमा व्यस्त रहँदा भए पनि उमा नेपालगन्जमा आइपर्ने सबै समस्यासँग जुध्दै आएकी नेपालगञ्जकी छोरी हुन् । सामाजिक काममा समेत उत्तिकै सक्रिय उमाको समृद्ध नेपालगन्ज बनाउने सपना छ । त्यो उनको सपना पूरा गर्ने बाटो नेपालगन्जवासीले देखाइदिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका– १, धम्बोझीकी स्थायी बासिन्दा उमाले निर्वाचनका दौरानमा फेसबुकमा लेखेको एउटा स्टाट्स निकै चर्चामा आएको थियो । उनको त्यो शब्दले धेरैको मन छोयो । उमाको त्यो भनाइ भावुकसँगै उत्तिकै अर्थपूर्ण पनि थियो । ‘मौन छु तर थाकेका छैनन् आँखाहरू समृद्ध नेपालगन्जका हजार सपना देखेर,’ उमाको फेसबुकमा थियो । हो अब त्यही समृद्ध नेपालगन्जको सपना देखेका आँखालाई नेपालगन्जवासीले ठम्याएका छन् ।

नेपालगन्जलाई नमुना सहर बनाउने उमाका ती हजार सपनामध्येको एउटा सपना हो । सानैदेखि नेपालगन्जमै हुर्किंदै हरेक जनताका दु:ख कष्टलाई नजिकबाट नियालेकी छिन् उमाले । त्यसैले पनि आफू नेपालगन्जलाई एउटा नमुना सहर बनाउन सफल हुने उमा दाबी गर्छिन् । उनीसँग समृद्ध नेपालगन्ज सँगै नेपालगन्जवासीले कांग्रेसले चुनाव हार्दा पनि जनताले उनीमाथि विश्वास गरेका छन् । उनको दायित्व भनेको त्यो विश्वासलाई जीवन्त बनाइराख्नु हो । त्यस्तै दायित्व काम नै गरेर नेपाली कांग्रेसका स्वर्गीय सभापति सुशील कोइरालाको विरासत जोगाउने दायित्व पनि उमाको काँधमा छ .।

उनका समृद्ध नेपालगन्जसँगै महिलाहरूका लागि प्रत्येक वडामा प्रसूति केन्द्र निर्माण गर्ने, प्राविधिक शिक्षा, खाल्डामुक्त नगर बनाउने आफूले प्रतिबद्धता पूरा गरेरै छोड्ने बताउँछिन् । उमा युवा पुस्ताकी लोकप्रिय नेतृ हुन् । यसलाई नेपालगन्जवासीले पनि सावित गरिदिएका छन् ।नेपालगन्जमा रहेर झन्डै डेढ दशक पत्रकारितामा व्यथित गरिन् । साँच्चै नेपालगन्ज चिन्ने मौका पत्रकारिताबाट पाइन् । नेपालगन्जको अभाव पनि पत्रकारिताबाट सँगालेकी छन् । साँच्चै पत्रकारिता गर्दै गर्दा नेपालगन्ज बनाउने धेरै कलम चलाइन् तर अब कलम होइन नीति बनाउने ठाउँमा उमा पुगेकी छन् ।