देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रमेशले पाए समाजसेवाको फल

देशान्तर

जिल्ला झापा, नेकपा एमाले अध्यक्ष उम्मेदवार बनेको ठाउँ । देशैभर एमालेको जितको खबर आइरहँदा झापाको एउटा गाउँपालिका भने अझै चर्चामा रह्यो । यो चर्चामा रहनुको पछि एकजना अल्पसंख्यकले झापाका एमाले अध्यक्षलाई पराजित गर्दै बुद्धशान्ति गाउँपालिकामा कांग्रेसको चारतारे झन्डा फहराए । झापाको बुद्धशान्ति गाविस जहाँ नेपाली कांग्रेसका तर्फबाट पार्टीको आन्तरिक प्रतिस्पर्धा जिल्ला सदस्यमा पराजित रमेश भुजेल थिए । तर सो गाउँपालिकामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक उम्मेदवार थिए । जिल्लामा देशैभर लहर फैलिरहेको एमालेको संगठन हाँकेर बसेका पाठकसँग चुनावी प्रतिस्पर्धामा उत्रने रमेशको हिम्मत सामान्य थिएन् । तर उनले हिम्मत गरे । रमेशको त्यही हिम्मतले वामपन्थी इतिहासको विरासत बोकेको एमालेका जिल्ला अध्यक्षलाई हराउँदै प्रजातन्त्रवादीहरूको आधार क्षेत्र बनाएर बुद्धभूमि गाउँपालिकालाई । उनले भने– ‘म समाजसेवामा लागेका कारणले जित सम्भव भयो । अब नामजस्तै गाउँपालिका बनाउनेछु ।’

निर्वाचन प्रक्रिया सुरु भएदेखि अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म यस गाउँपालिकामा न त अहिले विजयश्रीको माला पहिरिने भुजेलले कहिल्यै जित्न सक्ने सपना देखेका थिए, न त पराजयको पीडामा परेका पाठकले नै यो परिणामको कल्पना गरेका थिए । रमेशले हिम्मत गरेको बुद्धभूमि गाउँपालिकामा एक त झापा जिल्ला, नारामै चर्चित एमालेको लाल किल्ला । त्यसमा पनि बुधबारे र शान्तिनगर गाउँ विकास समितिजस्ता एमालेको पकड रहेका गाउँ मिलाएर बनेको बुद्धशान्ति गाउँपालिका, जहाँ एमालेकै जिल्ला पार्टी सभापति चिन्तन पाठक प्रमुख पदका प्रत्याशी बने पनि परिणाम कस्तो आउने भन्ने कल्पना पनि गर्न कसैले सकेका थिएनन् ।

धेरैले अनुमान पनि गरेका थिएनन् रमेशलाई एमालेले जिल्ला अध्यक्षजस्तो हेभिवेट उम्मेदवार उठाउँदा बुद्धशान्तिमा कांग्रेसको झन्डा फहराउँछ भन्नेमा । स्वयंम रमेशसमेत विश्वस्त थिएनन् । तर उनको भित्री मनमा एउटा दह्रो आधार थियो– उनले गरेको सामाजिक काम । त्यही सामाजिक कामका आधारमा उनलाई वामपन्थी बानीबाट वाक्क भएका मतदाताले पत्याए । भुजेलले जिते, पाठक पछि परे । आदिवासी जनजाति अल्पसंख्यकको छोरा, सामान्य किसान परिवारमा हुर्केर आफ्नै पौरखको आम्दानीको २० प्रतिशत समाजसेवामा लगाउने उनले घोषणा गरे । अहिले बुद्धशान्तिमा शान्तिको प्रतीक भएको सेतो पृष्ठभूमिको चारतारे झन्डा फहराउने आधार त्यही समाजसेवा भयो ।
सवारी दुर्घटनामा परेर आमाको निधन भएपछि बुद्धआदर्श बहुमुखी क्याम्पसको भवन निर्माणका लागि पाँच कठ्ठा जमिन रमेशले उपलब्ध गराए । उनले सो क्याम्पसको नाम आमाको नामबाट राख्ने इच्छा देखाएका थिए । तर क्याम्पस व्यवस्थापन समिति र स्थानीयवासीले सो क्याम्पसको नाम उनकी आमाको नामसँगै उनको पनि नाम पनि जोड्न भने । अहिले सीता–रमेश बहुमुखी क्याम्पस सञ्चालनदेखि गाउँमा बाटोघाटो, पानी, विजुलीलगायतका सामाजिक कार्यमा संलग्न रहँदै आएका भुजेल अबको पाँच वर्ष गाउँपालिकाकै विकास निर्माणमा खट्ने बताए ।
पहिलो त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला भनेपछि त्यहाँ अरू राजनीतिक दल र तिनका नेताहरू ओलीको सामु छायामा परेका छन् । तर पार्टीको आन्तरिक अधिवेशनमा जिल्ला सदस्यमा पराजित बनेको रमेशले तिनै ओलीको इज्जत धान्ने जिल्ला अध्यक्षलाई छायामा पारे । उनीसँग अब हिजोका दिनमा झापाका ठूलाठूला वामपन्थी नेताहरूले नगरेका जनताको काम गरेर देखाउने चुनौती छ ।
दोस्रो उनै ओलीदेखि तत्कालीन एमाले नेता सीपी मैनाली, देवी ओझा र २०६४ को निर्वाचनमा माओवादीकी धर्मशिला चापागाईं र वर्तमान एमाले सांसद प्रेम गिरीले अत्यधिक बहुमत ल्याएर निर्वाचित हुँदै आएको ठाउँ हो बुद्धशान्ति गाउँपालिका । तर त्यही बुद्धशान्तिमा एमालेको चुनाव चिन्ह सूर्यको राप खेप्न छोडेर रूखको शीतल छहारीमुनि गाउँपालिका प्रमुख पदमा निर्वाचित भए रमेश भुजेल ।

झापा जिल्ला एमाले पार्टी अध्यक्ष चिन्तन पाठकलाई ६ सय ४३ मत अन्तरले पराजित गर्दै कांग्रेसका भुजेल निर्वाचित भएपछि निर्वाचन परिणाम जित्ने र हार्ने दुवैलाई अहिले पत्याउन गाह्रो परेको छ । समाजसेवाका लागि रमेशले नेपाल बैंकको जागिर छोडे । १९ वर्षदेखि कांग्रेसको साधारण सदस्य र समाजसेवी त्यो क्षेत्रमा परिचय बनाए । उनलाई समाजसेवामा नै रमाउने इच्छा हुँदाहुँदै पनि बाध्यतामा परेर चुनावी मैदानमा होमिए । वास्तवमा चुनाव लड्ने कुनै इच्छा वा तयारी थिएन । उनले देशान्तरसंग भने– ‘चुनावमा उठ्ने पहिले इच्छा थिएन । पार्टीका सबै साथीभाइ मात्र नभएर धेरै शुभचिन्तकले समाजसेवा भनेको पनि राजनीति नै भन्ने कुरा सम्झाए । सबैको आग्रह टार्न सकिनँ ।’ सबैको आग्रहपछि उनले समाजसेवालाई नयाँ गति र उचाइमा पुर्‍याउने उम्मेदवार बन्ने निश्चित गरेर अनि एउटा सिंगो वामपन्थीहरू विजयी इतिहासलाई ब्रेक गर्दै नयाँ उचाइ कायम गरे ।

राजनीतिक प्रभावका हिसाबले पनि यो क्षेत्र दशकौंदेखि कम्युनिस्टहरूका लालकिल्लाको रूपमा चर्चित हुँदै आएको क्षेत्र थियो । त्यसमाथि झापाजस्तो वाम बाहुल्य भएको जिल्लाका एमाले जस्तो पार्टीको जिल्ला अध्यक्ष आफैंमा भुजेल भन्दा राजनीतिक रूपमा बढी स्थापित व्यक्ति थिए । तर जनताको मन जित्न स्थापित होइन जनतासँग सधैं स्थानीय भएर भिज्नुपर्ने सन्देश पनि रमेशको जितले दिएको छ । रमेशले भने– ‘एमालेको लालकिल्लामा झापा जिल्लाकै पार्टी अध्यक्ष उठ्दा कांग्रेसको भोटले मात्रै बुद्धशान्तिमा जित्ने कुनै परिकल्पना गर्नु मूर्खता थियो । तर मैले विगत १९ वर्षदेखि निरन्तर समाजसेवामा गरेको योगदानका कारण यस गाउँपालिकामा कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत सबैले भोट दिए । अब पनि एउटा राजनीति आस्था र विचार होइन एउटा समाजसेवी नै भएर राजनीतिलाई अगाडि बढाउँछु ।’

एमालेका प्रत्याशीले आफ्नो पकड क्षेत्रमा हार्ने कल्पना नै गर्न सकेनन् । तर रमेशले जित्नका लागि कसरी जनतामाझ पुग्ने भन्नेबाहेक केही पनि सोचेनन् । उनी र कांग्रेस स्थानीयदेखि केन्द्रीय तहसम्मका नेताहरूको सामूहिक प्रयासमा जित हासिल गरेको रमेशको भनाइ छ ।  रमेशले भने– ‘यसका लागि त्यस क्षेत्रकी समानुपातिक कांग्रेस सांसद सरिता प्रसाईंको निरन्तर प्रचारप्रसारमा खटाई, विश्वप्रकाश शर्मादेखि टिकटका आकांक्षीहरू सबैको इमानदार सहयोगले मात्र सफल भएको हुा । मेरो समाजसेवी छवि सहयोगी भयो होला ।’

सिंगो गाउँपालिकाको प्रमुख पदको जिम्मेवारी आएपछि अब यस गाउँपालिकाभित्रका कुनै पनि मतदातालाई उसको राजनीतिक आस्थाको आधारमा नभई आम नागरिक र यस ठाउँको स्वाभिमानी मतदाताको रूपमा समान व्यवहार गर्दै आफूले सकेको सेवा गर्ने र पार्टी संगठनको आधार निर्माण गर्ने अबको उनको सोच छ । चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा जाँदा अझै पनि गाउँपालिकाभित्र सुकुमवासीको अवस्था गम्भीर रहेको, खानेपानी, स्वास्थ्यको समस्या कायमै रहेको र कतिपय स्थानमा बालबालिकाले स्कुल नदेखेको अवस्था रहेको जानकारी पाएका भुजेल यी समस्या समाधानका लागि लागि पर्ने प्रतिबद्धता व्यक्त गर्ने योजना बुनेका छन् ।

गाउँपालिकामा बाटो, पानी, बिजुली, स्वास्थलगायतका विषयमा केन्द्रित रहेर बुद्धशान्ति गाउँपालिकालाई साँच्चैको नामजस्तै बुद्धशान्ति गाउँ बनाउने मनमनै कल्पना गरिसकेको बताए । उनले मनमनै गरेको कल्पना देशान्तरलाई सुनाए– ‘म जिम्मेवारीमा रहेर आफू कुनै काममा घूस पनि खादिनँ र अरूलाई पनि खान दिन्न । यति गर्न सकेँ भने कसरी नबन्ला र नामअनुसारको बुद्धशान्ति गाउँ ?’