देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टी होइन पराजुली खोज्दै विराटनगरवासी

देशान्तर

विराटनगर । प्रदेश नम्बर १ को सम्भावित राजधानी, लोकतान्त्रिक आन्दोलन इतिहास बोकेको विराटनगर महानगरमा यतिबेल चुनावी माहोल राम्रैसँग तातेको छ । आज उम्मेदवारी मनोनयनपछि माहोल अझ तात्नेछ । नेपाली कांग्रेसको अनि कोइराला परिवारको सिंगो इतिहास बोकेको विराटनगर महानगरका मेयरका उम्मेदवारको चर्चा चुलिएको छ । मेयरमा कांग्रेसले जसलाई टिकट दियो त्यसपछि आम विराटनगरवासीले आफूले खोजेकै उम्मेदवार प्राप्त गरेको भन्दै खुसी प्रकट गरेका छन् । विराटनगर छोड्दै नछोडेका भीम पराजुली जसलाई विराटनगरमा नेपाली कांग्रेस र कोइराला परिवारको विरासत हाँक्नका लागि कांग्रेसले मेयरको उम्मेदवार बनायो, त्यहीबेला झन्डै ७५ प्रतिशत प्रचारप्रसार भएको नेपाल विद्यार्थी संघ मोरङका पूर्वअध्यक्ष केदार कार्कीले बताए ।

कोइराला परिवारको इतिहास बोकेको विराटनगरलाई कार्यक्षेत्र बनाउने अहिले पनि कांग्रेसका धेरै हस्ती छन् । महेश आचार्य, सुजाता कोइराला, डा.मीनेन्द्र रिजाल, डा.शेखर कोइरालामात्र नभएर गुरुराज घिमिरे, अमृत अर्यालजस्ता हस्तीहरू पनि छन् । अहिले उनीहरू सबै विराटनगरमा भीम पराजुलीको पक्षमा एकत्रित भएर प्रचारमा जुटेका छन् । भीम पराजुलीको प्रचारका लागि विराटनगर पुगेका कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले सबै नगरवासीलाई पराजुलीले नामले नै चिन्ने बताए ।

हुन त कुनै समय विद्यार्थी राजनीतिका क्रममा पार्टी र संगठनको निर्णयका विरुद्ध बागी बनेर मोरङको मात्र नभएर सिंगो पूर्वाञ्चलको सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङमा आफ्नो सिंगो प्यानललाई नै जित हात दिलाएका पराजुली अहिले त्यस्तै इतिहास दोहोर्‍याउन विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् । तर अहिले पराजुलीको साथमा विराटनगर सहरको नामकरण गर्ने र विराटनगर सहर बसाल्ने सिंगो कांग्रेस छ ।

दोस्रो जनआन्दोलन चलिरहेको बेलामा महेन्द्र मोरङ क्याम्पसमा २०६१ सालमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले उम्मेदवार नबनाएपछि नेपाल विद्यार्थी संघ जिल्ला समिति मोरङको सिफारिसमा उम्मेदवार बनेका भीम साँच्चै भीम बनेर उदाए, त्यो पनि वामपन्थी उत्पादनको कुनै समय केन्द्रका रूपमा चिनिएको महेन्द्र मोरङ क्याम्पसको सभापतिमा जित हात पारेर ।  विराटनगर–४, पोखरियामा २०३१ सालमा जन्मेका पराजुली नपुगेको कुनै घर छैन विराटनगर महानगरमा । जहाँ, जसलाई जे पर्छ साँच्चै महाभारतका भीम जस्तै उनी पुगेकै हुन्छन् । दु:ख–सुखमा आम नागरिककहाँ पुग्नु उनको स्वभाव हो ।

देशान्तरले जितका आधार सोध्दा उम्मेदवार पराजुलीले भने– ‘पहिलो, आफू दोस्रोपटक नगर सभापति भएपछि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले जित हात पारेको छ । दोस्रो महानगरभित्रका ५, ६ र ७ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेसको जित हुनुमा नगरको ठूलो योगदान छ । नगरले लिड नगरेको भए कांग्रेसले यी तीनवटै क्षेत्रमा चुनाव जित्दैनथ्यो । उपेन्द्र यादवको प्रभाव क्षेत्र ५ नम्बरमा अमृत अर्यालले १० हजार मतअन्तरले जिते, लोकतान्त्रिक फोरमको प्रभाव क्षेत्र ६ मा पाँच हजार मतान्तरले महेश आचार्य विजयी भए । ७ नम्बर क्षेत्रमा विजयकुमार गच्छदारलाई साढे तीन हजार मतले डा.शेखर कोइरालाले हराए । यी सबै क्षेत्रमा पाँच–पाँच सय हाराहारीमा वडाको भोटले ‘लिड’ गरेको छ । यही चुनावी नतिजा विश्लेषण गर्दा स्थानीय निकायको चुनाव कांग्रेसको पोल्टामा पर्छ भन्नेमा म ढुक्क छु ।’

उनलाई अहिले सबैभन्दा सहज भनेको १२ वर्ष महेन्द्र मोरङ क्याम्पसमा बिताउँदाका सहपाठीहरूले मतदानका क्रममा पार्टी होइन पराजुली हेर्ने बताएका छन् । त्यो एक युगमा महेन्द्र मोरङका विद्यार्थीको १६ वर्षदेखि ४० वर्ष उमेरसमूहका मतदाता रहेको विश्लेषण कांग्रेसको छ ।
अर्को भीम पराजुलीलाई आम विराटनगरवासीले मन पराउने कारण भनेको उनीको शिक्षा क्षेत्रमा ठूलो योगदान हो । कृष्णप्रसाद कोइरालाले स्थापना गरेको आदर्श स्कुललाई बनाउने उनको योगदान ठूलो रहेको छ । त्यस्तै धार्मिक संघसंस्था तथा सहकारीका अभियन्ताका बीचमा पराजुली उत्तिकै लोकप्रिय रहेका छन् ।

एसएलसी पास गरेपछि महेन्द्र मोरङ क्याम्पसमा भर्ना भएका पराजुली त्यहाँ पढ्न पुग्ने विद्यार्थी केहीबाहेक राजनीतिमा नलागेका हुन्थेनन् । उनी क्याम्पस एकाइको सदस्य, सचिव र सभापति भएर काम गरे । २०५५ सालमा स्ववियु सदस्य, २०५७ मा कोषाध्यक्ष २०५९ मा सचिव निर्वाचित सचिव हुँदै २०६१ सालमा उनको विद्रोही प्यानललाई जिताएपछि कुशल संगठनका रूपमा विराटनगरवासीमात्र नभएर कोइराला परिवारको समेत नजरमा परे ।