देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हजुरबाको ‘दन्त्यकथा’ले डोहोर्‍यायो राजनीतिमा

देशान्तर

काठमाडौं । बालापनमा अभिभावकको माया स्वाभाविक हो । उनले पनि आफ्नो अभिभावकको रूपमा हजुरबा पाइन् । बाजे कुललाल श्रेष्ठको काखमा लुटुपुटु गर्दै क्रान्तिको कथा सुनिन् । उनलाई सो क्रान्तिको कथा दन्त्यकथाजस्तै लाग्थ्यो, चाख दिएर सुन्थिन् । तर उनका हजुरबाले सुनाउने क्रान्तिका कथा दन्त्यकथा थिएनन् । उनका हजुरबाले टोलछिमेकका मान्छेलाई सुनाउने गरेको भन्ने गरेका पात्र नेपाली प्रजातान्त्रिक आन्दोलनका कमाण्डर लौहपुरुष गणेशमान सिंहको इतिहास थियो । हजुरबाको काखमा नै क्रान्तिको कथा सुनेकी हरिप्रभा खड्गी श्रेष्ठ अहिले मुलुकको राजधानीको रूपमा विश्वपरिचित सहर काठमाडौ महानगरपालिकाको उपप्रमुख बनेकी छन् ।

हुन पनि गणेशमानको इतिहास दन्त्यकथाको पात्रको जस्तै थियो । जेल तोडेर भागेको गणेशमान र मंगलादेवीलाई सँगै प्रहरीले प्रक्राउ गरेको । उनी आफ्नो बालमस्तिष्कमा कल्पना गर्थिन्– ला अब उनीहरुका छोराछोरी कोसँग बस्लान् ?  पछि उनले पनि गणेशमानको जस्तै इतिहास भोगिन् । वि.सं.२०६२/६३ को जनआन्दोलन चलिरहेको थियो । घण्टाघरको त्रिचन्द्र क्यापस अघि नेपाल प्राध्यापक संघले पनि विरोध प्रदर्शन गर्ने तय भएको थियो । श्रीमान् प्रकाश खड्गी पनि प्राध्यापक संघमा आबद्ध थिए । उनी पनि महिला संघको राजनीतिमा दुवै पक्राउ परे । सशस्त्र प्रहरी बल हल्चोकमा थुन्न लगियो । अब उनलाई आपत् पर्‍यो एक छोरा र एक छोरीका बाबुआमा प्रहरीको नियन्त्रणमा आफैं पकाएर छोराछारी खाना खान सक्ने भएका थिएनन् । काँग्रेस नेतृ शैलजा आचार्यले प्रहरीलाई भनेर श्रीमान्लाई छुटाउन प्रयासमा लागिन् हरिप्रभा । शैलजाले भनेपछि प्रहरीले सबै प्राध्यापकलाई छोड्न तयार भए । तर राति भयो । श्रीमान् घर पुग्दा बच्चाहरु अलपत्र भएर भोकै सुतेका थिए । जीवनको सबैभन्दा दुखको क्षण नै त्यही भएको हरिप्रभाले सुनाइन् । गणेशमान र मंगलादेवी दुवै पक्राउ पर्दा उनीहरुका बच्चाले के गर्लान् भन्ने कल्पना गर्ने हरिप्रभा आफैंले भोगिन् श्रीमान्श्रीमती दुवै जेल जादाको पीडा ।

महानगरपालिकामा पदभार ग्रहण गरेको भोलिपल्ट नै उनले देशान्तरसँग भनिन्– ‘शायद हजुरबाको काखमा गणेशमान सिंहको कथा सुनेकी थिइनँ भने तपाईंहाम्रो अहिले यसरी भेट हुँदैनथ्यो ।’ देशान्तरसँगको कुराकानीमा उनले गाउँटोलका मान्छेलाई हजुरबाले सुनाएको त्यो बेला गणेशमानको कथा उनलाई एकदमै चाख लाग्ने गरेको सुनाइन् । उनले भनिन्– ‘शायद मेरो भाग्यमा राजनीति गरेर यहाँसम्म आइपुग्न लेखेको रहेछ । त्यही बेलादेखि गणेशमान सिंहको क्रान्तिको कथा चाख लाग्दथ्यो ।’

भक्तपुरको नेवार समुदायमा जन्मेकी हरिप्रभालाई राजनीतिमा होमिन सहज थिएन । परिवार अति नै रुढिवादी थियो । घरबाहिर निस्कन पनि अति कडाइ थियो राजनीतिमा रुमल्लिनु त परको विषय । तर माइतमा भन्दा घरमा आएपछि उनलाई राजनीतिमा रमाउन श्रीमान्को घर सहयोगी बन्यो । उनले भनिन्– ‘श्रीमान्ले मलाई आफ्नै नामबाट चिनिन हौसला दिनुभयो ।’

उनलाई नेपाल विद्यार्थी (नेवि)संघको संगतमा पुग्दासम्म पनि राजनीति के हो भन्ने कुनै जानकारी थिएन । अग्रजहरुको संगतले नेविसंघको अगुवा बन्नका लागि तयार हुँदै थिइन् उनी । त्यो पनि चिकित्सक पेशामा रहेका पिताजीको रहरका कारण वकिल बन्न कम्मर कसेर लागेकी हरिप्रभा यतिबेला राजनीतिमा लागेर काठमाडौं महानगरको उपप्रमुखको रूपमा न्यायकै लागि काम गर्ने भएकी छिन् । उनी अब काठमाडौं महानगरको न्यायप्रमुख भएर महानगरको इजलासमा बस्नेछिन् । वकिल बनाउने पिताजीको सपना थियो । उनले महानगरको इजलासमा बसेर ‘न्यायाधीश’कै भूमिका निर्वाह गर्ने भइन् ।

२०४२ देखि नै राजनीतिमा सक्रिय खड्गी नेपाल ल क्याम्पस पढ्दा नेविसंघको एकाइ समितिमा बसेपछि सबैले गणेशमानलाई भेट्न जाने प्रस्ताव राखे । उनी नेविसंघको एकाइमा पनि भक्तपुरबाट सँगै आउने ‘सिनियर’हरुसँग बसेकी थिइन् । तर जब गणेशमान सिंहसग भेट्ने प्रस्ताव आयो उनलाई आफू ठीक ठाउँमा भएको महशुस भयो । उनले हजुरबाले भनेको कथाको पात्रलाई मनमा कल्पन थालिन् ।
बागबजारकी स्थायीवासी खड्गीलाई २०४६ को आन्दोलनले झनै राजनीतिमा लाग्न उत्प्रेरित गर्‍यो । आन्दोलन भइरहने बागबजार क्षेत्रमा घर भएकी खड्गीले आफू आन्दोलनमा जानेमात्र होइन– कुनै न कुनै रूपमा आन्दोलनकारीलाई सहयोग पनि गर्दै आइन् । त्यो बेलाको स्मरण गर्दै भनिन्– ‘कहिले आन्दोलनकारीलाई खाना खुवाएँ त कहिले अश्रुग्यासबाट पीडित आन्दोलनकारीलाई घरको छतबाट पानी फ्याल्ने काम गरें । अश्रुग्यासको असर कम गर्न प्याज काटेर दिनेलगायतका काम पनि गरें ।’

वि.सं.२०४५/४६ मा उनी र उनको घर आन्दोलनकारीलाई सहयोग गरेकैले अर्को पक्षको निशानामा पर्‍यो । कफ्र्यूको समयमा बागबजारमा रहेको उनको घरमा ढुंगा प्रहार भयो । ढुंगा लागेर सिसा फुटेर लाग्दा घाइते भएर उनी एक दिन अस्पताल बसिन् । दुवै संविधानसभाको निर्वाचनमा दलका तर्फबाट समानुपातिक सूचीमा उनको नाम परेको थियो । तर सभासद् हुन सकिनन् । सभासद् नहुँदासमेत खासै गुनासो थिएन उनको । संविधान बनाउने हैन महानगर बनाउने जिम्मेवारी उनको काँधमा आयो ।

लामो समय नेपाल महिला संघमा रहेर काम गरिन् । भक्तपुरमा जन्मेर काठमाडौंको मुटु बागबजारमा घरजम गरेकी हरिप्रभा संगठन विस्तारका लागि गाउँगाउँसम्म पुगिन् । २०५७ मा काँग्रेसको भगिनी संस्था नेपाल महिला संघको काठमाडौं जिल्ला सदस्य भएकी थिइन् । उनी संघको ०६४ र ०६९ सालमा दुई कार्यकाल केन्द्रीय सदस्यसमेत बनिन् । आफ्नो कर्तव्य निभाउने क्रममा ६२ जिल्लाका महिलालाई प्रशिक्षण गराइन् । महानगरवासीले अपेक्षा गरेका धेरै काम हुँदाहुँदै पनि पहिलो जिम्मेवारी भनेको आफ्नो नगर सफा राख्नु भएको उनको भनाइ छ । त्यसैले उपप्रमुखको शपथ खाएको भोलिपल्ट कुचो बोकेर महानगरलाई क्लिन सिटी बनाउने अभियानको सुरुवात गरिन् । उनको अर्को सोच भनेको काठमाडौं महानगरवासीलाई उद्यमी बनाउने पनि हो ।

संयोग कस्तो भयो भने क्याम्पस पढ्न जाँदा उनले हजुरबाले कथेका तिनै ऐतिहासिक पात्रसँग भेट्ने मौका पाइन् । पेशाले डाक्टर उनका बुबा हरिश्चन्द्रदास श्रेष्ठ र आमा लक्ष्मीप्रभा खड्गीले छोरीलाई वकिल बनाउन ल क्याम्पस पठाउन थालेका थिए । उनी भक्तपुर, १७ भारवाचोकबाट ल क्याम्पस धाउने क्रममै नेपाली काँग्रेस निकट नेविसंघका नेता–कार्यकतासँग भेट भयो । पहिलो भेटमा उनले कल्पना गरेको गणेशमान त भौतिक रूपमा पाइनन् । तर उनको विचार अडान र निर्देशन भने उनले कल्पना गरेको गणेशमानजस्तै पाइन् । गणेशमानलाई भेट्नका लागि उनी साथीको घरमै बसिन् । घरबाट गाली खाइन् तर उनले गणेशमानलाई भेटेको कुरा नेवारी लवजमा हजुरबालाई भनिन्– ‘बाजे तपाईले कुरा गरेको गणेशमानलाई भेटें नि ।’ तर उनले आफू राजनीतिमा लागेको धेरै पछिमात्र परिवारले जानकारी पाए । परिवारले राजनीतिमा लागेको जानकारी पाउँदै गर्दा उनको घरजम भइसकेको थियो । त्यो बेलासम्म उनले उनकै नामबाट चिनाउन सहयोग गर्ने श्रीमान् भेटिसकेकी थिइन् । त्यहींबाट सुरु भयो राजनीतिमा उकालो लाग्ने उनको अभियान ।