देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यी जनप्रतिनीधि जसको बाध्यता अमेरिका, सपनाको इन्द्रावती थियो

देशान्तर

धेरैको सपनाको देश हो, अमेरिका । त्यही अमेरिकाको नागरिक भएर बसेको एउटा नेपाली सिन्धुपाल्चोकको सबैभन्दा दुर्गम गाउँमा जनतासँग भोट माग्ने थाल्यो झन्डै अघिल्लो महिना । त्यही भोट माग्ने उम्मेदवार अर्थात् नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोकको दुर्गम गाउँमा रहेका बेलामा विश्वका धेरैको लागि सपनाको देश बनेको अमेरिका छोडेर किन अनकन्टार गाउँमा फर्कनुभयो । यो प्रश्न खस्न नपाउँदै वंशलाल तामाङले भने– ‘अमेरिका मेरो सपनाको सहर थिएन । त्यो मेरो बाध्यताको सहर थियो ।’ उनले आफ्नो सपना त इन्द्रवती नै भएको गर्वका साथ सुनाए ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका । माओवादीको पकड रहेको ठाउँ । जिल्लाको शक्तिशाली पार्टी राप्रपाका जिल्ला अध्यक्ष दइन्द्र ठकुरी, एमालेका जिल्ला अध्यक्ष झम्क नेपालले उम्मेदवारी दिएको गाउँपालिका । कांग्रेसले कहिल्यै चुनाव नजितेको यो ठाउँमा विश्वका नागरिकको सपनाको सहर अमेरिकाको नागरिकता छोडेर आफ्नो थातथलो फर्केका कांग्रेस उम्मेदवार वंशलाल तामाङलाई जनताले चुने । अमेरिका पलायन भइसकेका एक व्यक्ति फर्केर स्थानीय सरकार प्रमुखमा चुनिनु सजिलो पक्कै थिएन । इन्द्रावती गाउँपालिकाका जनताले उनलाई चुने किन त उनले आफ्नो पृष्ठभूमि भन्न थाले ।

वंशलाल माओवादी जनयुद्ध सुरु भएको समयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका चर्चित नेताका सूचीमा पर्दथ्यो । १६ वर्षकै उमेरमा २०३६ सालमा ऐंसेलुखर्क माविमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएका उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट त्यतिबेलाको इलाका नम्बर ६ बाट जिल्ला सदस्यमा निर्वाचित भएका थिए । त्यतिमात्र होइन उनी २०३६ सालबाट सुरु गरेको राजनीतिक यात्राका क्रममा २०५७ सालमा कांग्रेस जिल्ला सचिव बने । २०४२ सालको सत्याग्रह आन्दोलनमा जेल परेका उनले त्यतिखेर जिल्ला प्रशासनको ढिलासुस्ती र घुसखोरीविरुद्ध अभियान छेडेका थिए । राजधानी नजिक भए पनि सिन्धुपाल्चोक विकट पहाडी क्षेत्र भएको र त्यहाँका अधिकांश जनतालाई प्रशासनले दु:ख दिने भएकाले धेरैजसो समस्याका पोका लिएर तामाङकहाँ धाउँथे । तामाङ समुदायको बस्ती बढी भएको इन्दावतीमा त्यो समुदायका आशा केन्द्र बनेका थिए, वंशलाल । त्यतिबेला विकासका विषयभन्दा पनि प्रशासनमा गर्नुपर्ने कामहरू र कर्मचारीको हेपाहा प्रवृत्तिबाट सर्वसाधारण त्रसित थिए । आफूकहाँ पुगेका समस्या सजिलै पन्छाइदिएपछि उनी जनतामाझ लोकप्रिय बन्दै गए ।

ऐंसेलुखर्क माविमा नेपाल विद्यार्थी संघको अध्यक्ष बन्नुभन्दा पहिलादेखि नै उनको परिवारले कांग्रेससँग नाता जोडिसकेको थियो । वंशलालका पिता हबलसिंह तामाङ २०१५ सालको आमचुनावमा कांग्रेसको प्रचारक बनेका थिए । अझ सिंगो इन्दावती गाउँपालिका नभए पनि साबिकको नवलपुर गाविस भने कांग्रेसको उर्वरभूमि नै थियो । यही कारणले २०५६ सालको मध्यावधि निर्वाचनमा धेरैले क्षेत्र नम्बर २ मा कांग्रेसबाट उनैलाई टिकट दिनुपर्ने माग गरे । तर, पार्टीले पत्याएन । तर वंशलालको लोकप्रियता भने बढ्दो नै थियो । राजनीतिसँगै समाजसेवामा अगाडि देखिएपछि सो क्षेत्रमा आफ्नो प्रभाव जमाउनका लागि माओवादीका लागि बाधक वंशलाल बनेका थिए । उनलाई माओवादीले अपहरणको प्रयास गरे । अपहरण असफल भएपछि तामाङलाई माओवादीले ज्यान मार्ने धम्की दियो । उनले त्यो बेलाको घटना स्मरण गरे– ‘मलाई २०५९ पुस २६ गते राति माओवादीले ज्यान मार्ने धम्की दिए, त्यही दिनबाट गाउँमा बस्न सकिनँ, जिल्ला छाड्नुपर्‍यो । ज्यान जोगाउन काठमाडौंमा भूमिगत भए । काठमाडौंमा पनि माओवादीको निगरानी बढ्यो ।’

उनी मुटुमाथि ढुंगा राखेर प्यारो जन्मभूमि छोडी अमेरिका पलायन भए । उनले देश छाडेको केही वर्षमै युद्धविराम भयो । र, उनको थातथलोमा दुई पटक संविधानसभाको चुनाव भयो । दुवै पटक माओवादीका अग्नि सापकोटाले जिते । त्यही क्षेत्रमा पर्ने इन्द्रावती गाउँपालिकामा माओवादीको विरासत तोड्दै, एमाले जिल्ला अध्यक्ष झम्कनाथ नेपाललाई हराउँदै झन्डै १२ वर्ष अमेरिका बसेर फर्केका तामाङलाई इन्द्रावतीका जनताले आफ्नो प्रतिनिधि छानेका छन् ।
एक दशकसम्म छोडेको गाउँको राजनीति अनि फेरि कांग्रेसले कहिल्यै चुनाव नजित्ने ठाउँमा उम्मेदवारी दिने आँट कसरी आयो भन्दा उनले भने– ‘म बाध्यताले अमेरिका पुगेको थिएँ । तर मेरो मन गाउँमा नै थियो । म गाउँका जनता र पार्टीको सम्पर्कभन्दा कहिल्यै टाढा भएको थिइनँ ।’ उनले विगतमा जनताका लागि प्रशासनसँग गरेको पौठाजोरी जनताले बिर्सेका थिएनन् । अमेरिका हुँदा पनि उनलाई विभिन्न माध्यममार्फत गाउँलेहरूले फर्किन अनुरोध गरिरहेका थिए । निर्वाचन घोषणा गर्नासाथ अमेरिकाबाट फर्केर गए । हरेक गाउँ पुग्दा सबैले मलाई नेतृत्वमा देख्न जनताको चाहना रहेको उनले पाए । एक किमिमले भन्दा जनताको माग र माया देखेर नै उम्मेदवारी दिने आँट गरे । जनताको बल पाएपछि उनी अमेरिका पुगे र स्थानीय तह निर्वाचन ऐनअनुसार विदेशी मुलुकको ग्रिनकार्ड भए उम्मेदवारी दिन नपाइने भएकाले ग्रिनकार्ड त्यागे । अनि निर्वाचनमा लागे ।

जनताको माया र माग वंशलाल भन्ने अमेरिका बस्दा नै पारेका रहेछन् उनले । अमेरिका बस्दा पनि विभिन्न माध्यमबाट गाउँका विकास निर्माणमा उनी जोडिएका थिए । न्युयोर्कमा सन् २०१० मा सिन्धु वेलफेयर सोसाइटी स्थापना गरे अनि त्यही संस्थामार्फत गाउँका अनाथ, द्वन्द्वपीडितलाई नेपालीकै सहयोगमा आवासीय सुविधासहित पढाउने व्यवस्था गरे । हाल १३ जना यस्ता बालबालिका काठमाडौंको कपनस्थित माउन्ट कैलाश स्कुलमा विभिन्न कक्षामा उनले पढाइरहेका छन् । यस क्षेत्रका विद्यालयहरूमा उनले विकासका लागि सामाजिक सेवाका विभिन्न कार्यक्रम ल्याए । स्थानीय स्रोतलाई व्यवस्थापन गर्दै खानेपानीको व्यवस्थाका लागि पनि परियोजना ल्याए । भूकम्पको समयमा अमेरिकामा रहेर राहतका लागि सक्रिय रहे । आफ्नो गाउँ र निर्वाचन क्षेत्रमात्र होइन सिन्धुपाल्चोककै क्षेत्र नम्बर १ मा पनि सक्रिय रहे । जुरे पहिरोले ध्वस्त भएको वनसाँघु माविको आधुनिक भवन उनकै नेतृत्वमा निर्माण भयो । त्यही क्षेत्रका अरु विद्यालयहरूमा पनि उनले सहयोग गरे । कुनै लाभको पदमा नहुँदासमेत गाउँको विकासमा लागेका उनबाट जनताले धेरै आशा गरेका छन् । यस गाउँलाई नमुना गाउँपालिका बनाउने र विश्वका विभिन्न नगरहरूसँग मितेरी सम्बन्ध गाँसेर प्रविधिमैत्री बनाउने उनको योजना छ ।

गाउँपालिकाको प्रमुख बनेपछि वंशलाल विजय जुलुस निकल्नतर्फ लागेका छैनन् । उनले भने– ‘विजयी भएको दिन साथीहरूले जुलुस निकाले तर म विजयी जुलुस निकाल्ने पक्षमा थिइनँ । त्यही भएर साथीहरूलाई विजय जुलुस हैन घरदैलोमा पुगेर अझै जनताको लागि के के गर्न सकिन्छ भन्ने सुझाव माग्दैछु ।’
दस वर्षअगाडि छोडेको गाउँमा केही भौतिक संरचना बन्नेभन्दा अरू केही हुन नसकेको उनको बुझाइ छ । तर जनताका राजनीति चेतना धेरै विकसित भएको उनले पाए । सञ्चारको विकासका कारण जनताका आशा र अपेक्षा बदलिएको वंशलालको बुझाइ छ । तर सामाजिक र आर्थिक विकास जस्ताको त्यस्तै देखेका छन् । अझ गोरखा भूकम्पका कारण क्षत्विक्षत भएको इन्द्रावतीका बासिन्दाको बास बनाउने चुनौती उनले देखे । स्वच्छ खानेपानीका लागि घरघरमा धारण पुर्‍याउने योजना बुन्दैछन्् । मलाई दस वर्षसम्म पनि पर्खेर जनप्रतिनिधि बनाउने जनताको गुन तिर्नुपर्छ भन्ने उनको एउटामात्रै ध्याउन्न बनाएका वंशलालले बढ्दै गएको बेरोजगारीलाई समाधान गर्ने विद्यालय सुधार गर्ने लक्ष्य लिएका छन् । उनले चुनाव जितेपछि वाचा गरेका छन्– ‘मलाई जनप्रतिनिधिका रूपका हेर्न जनताले १० वर्षे कुरे म जनताको यो गुन फिर्ता गर्न पाँच वर्ष कुर्न नपर्ने बनाउछु ।’