देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने

देशान्तर

चितवन । यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको एक हजार श्ययाको शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ ।

अस्पताल विकास समितिको हालै सम्पन्न बैठकले अस्पतालको गुरुयोजना पारित गरेर स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार १४ बिगाहा १० कठ्ठा जग्गामा छुट्टाछट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास भवन, पार्किङग, फूलबारी लगायतका संरचना निर्माण गरिने छ ।

शुद्ध खानेपानीको सुविधा हुने छ, भने अस्पताल आफैँले अक्सिजन प्लान्ट निर्माण गर्ने छ । फोहोर व्यवस्थापनका लागि विशेष योजना अगाडि सारिएको छ । रु ६ अर्ब ५४ करोडको लागतमा गुरुयोजना अनुरुपको काम सम्पन्न गर्न सकिने अध्यक्ष राजभण्डारीले बताए ।

हाल अस्पतालको दुईवटा भवन निर्माण भइसकेका छन् । यसअघि अस्पतालका पूर्व अध्यक्ष स्व नरबहादुर खाँडले गुरुयोजना निर्माण गरी काम गर्नुपर्ने भन्दै सोहीअनुरुप भवन निर्माणको कार्य अघि बढेको थियो । यद्यपि मन्त्रालयबाट स्वीकृति गराइएको थिएन । सो पश्चात अस्पतालमा निर्माण गरिएका संरचना दीर्घकालीन काम गर्ने खालका रहेका छन् ।

गुरुयोजना सम्बन्धित मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । अस्पतालको भरतपुर आँखा अस्पतालको नजिकको क्षेत्रमा आवास, सोही क्षेत्रमा व्यावसायिक भवन, हाल मुख्य प्रवेशद्वार रहेको पूर्वी क्षेत्रमा शैक्षिक भवन निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

अस्पतालको आफ्नै ३१ बिगाहा जग्गा रहे पनि अन्य सङ्घ संस्थालाई भाडामा र भोगचलनका लागि दिएकाले हाल ११ बिगाहा मात्र बाँकी रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले उपयोग गर्दै आएको तीन बिगाहा १० कठ्ठा जग्गा समेतलाई समेटेर गुरुयोजना निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनिले जानकारी दिए ।